प्रणय दिवस : नेपथ्यको कन्सर्टले ततायो बन्दीपुर

बन्दीपुर : प्रणय दिवसको अवसरमा शनिबार साँझ पर्यटकीय नगरीतनहुँको बन्दीपुरमा नेपथ्यले कन्सर्ट ग¥यो । सांगीतिक माहोलले तनहुँको पर्यटकीय नगरी बन्दीपुर प्रमीले माहोलमा तात्न पुग्यो ।
साँझ ढल्दै जाँदा बन्दीपुर–४ स्थित टुँडिखेल पुगेको आन्तरिक तथा वाह्य पर्यटक एवं कन्सर्टका दर्शकहरूको भीड बाक्लिँदै गएको थियो। कोही साथीहरूसँग, कोही परिवारसँग त कोही विशेष दिनलाई सम्झनलायक बनाउन आएका जोडीहरू- सबैको गन्तव्य एउटै थियो, चर्चित ब्याण्ड नेपथ्य को प्रत्यक्ष प्रस्तुति ।
बन्दीपुरको टुँडिखेलमा आयोजित कन्सर्ट सुरु हुनुअघि नै मैदान दर्शकले भरिभराउ बनेको थियो । स्टेज आसपास युवायुवतीहरूको भीड, हातमा मोबाइलको फ्ल्यास र ‘नेपथ्य’ लेखिएका टिसर्टले माहोललाई उत्सवमय बनाइरहेको देखिन्थ्यो ।
स्टेजमा अमृत गुरुङ देखिनेबित्तिकै दर्शकदीर्घाबाट गडगडाहटपूर्ण ताली र हुटिङ गुञ्जियो। “रेशम”, “तालको पानी”, “छेक्यो छेक्यो” जस्ता लोकप्रिय गीतहरू प्रस्तुत हुँदा दर्शकहरू सामूहिक रूपमा स्वर मिलाउँदै झुमेका थिए। कतिपय जोडीहरूले हातमा हात समातेर गीतसँगै भावनात्मक क्षण साटिरहेका थिए भने युवाहरू गीतको तालमा नाचिरहेका दृश्यले टुँडिखेल जीवन्त बनेको थियो ।
प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको कन्सर्टले बन्दीपुरको पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको स्थानीय व्यवसायीहरूको भनाइ छ । कन्सर्ट हेर्न पोखरा, चितवन, काठमाडौँ लगायत विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकका कारण होटल तथा लजहरू भरिभराउ भएका छन् । केही होटलहरूले कार्यक्रमअघि नै सबै कोठा बुक भएको जानकारी दिएका थिए ।
स्थानीय पर्यटन व्यवसायी वैस गुरुङका अनुसार यस्ता सांगीतिक कार्यक्रमले बन्दीपुरमा पर्यटकको बसाइ अवधि लम्ब्याउने मात्र होइन, स्थानीय उत्पादन र सेवाको खपत बढाउने काम समेत गर्ने बताए । उनका अनुसार यहाँका रेस्टुरेन्ट, क्याफे र साना व्यापारिक पसलहरूमा पनि उल्लेख्य भीड देखिएको थियो ।
स्थानीय संयोजक रवि श्रेष्ठले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउँदै सुरक्षादेखि व्यवस्थापनसम्म सबै पक्ष प्रभावकारी रहेको बताए। “प्रणय दिवसलाई सांगीतिक उत्सवका रूपमा मनाउने प्रयास सफल भएको छ”, उनले भने।
आयोजक तथा स्थानीय तहका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले बन्दीपुरलाई सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा थप स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। ऐतिहासिकता र प्राकृतिक सौन्दर्यका लागि परिचित बन्दीपुर अब ठूला सांगीतिक कार्यक्रमको गन्तव्यका रूपमा समेत पहिचान बनाउँदै गएको देखिएको छ।
प्रणय दिवसको साँझ नेपथ्यको सांगीतिक यात्रासँगै बन्दीपुरले उत्साह, उमंग र पर्यटन प्रवर्द्धनको नयाँ ऊर्जा एकसाथ अनुभूति गरेको स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker