सम्पादकीय : दुई शिखर पुरुष विपी र पुष्पलाल

मुलुकको लोकतान्त्रिक आन्दोलनको इतिहासलाई स्मरण गर्दा वा फर्केर हेर्दा मुलुकका दुई शिखर पुरुष विपी कोइराला र पुष्पलाललाई सम्झनै पर्ने हुन्छ । यी दुई शिखर पुरुषहरुलाई अलग्याएर मुलुकको लोकतान्त्रिक आन्दोलनलाई अलग्याएर हेर्न र बुझ्न सकिदैन । संयोग विपी (१९७१–२०३९ श्रावण ६) पुष्पलाल (१९८१–२०३५ श्रावण ७) यी दुई शिखर पुरुषहरुले नेपालको निरंकुश राणातन्त्रको विरुद्ध संघर्षको संखभुषण मात्र गरेनन्, विपीले नेपाली कांग्रेस (२००३)मा स्थापना गरेर जीवन पर्यन्त नेपाली कांग्रेसको नेतृत्व र वैचारिक अगुवाई गर्दै आएका हुन। त्यसैगरि पुष्पलाल पनि नेपाली जनताको एक मात्र मुक्तिको संवाहक नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना गरेर विचार र संगठनको नेतृत्व जीवनभर गरेका हुन् ।
त्यस्तै विपीले आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई २००७ सालको क्रान्तिको नेतृत्व गर्दै २०१५ सालको संसदीय आमनिर्वाचनमा पार्टीलाई दुई तिहाईको अग्रता दिलाउदै पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्री हुने अवसर उनलाई मिलेको थियो । दुर्भाग्य २००७ सालको क्रान्तिले प्राप्त गरेको उपलब्धिलाई सरकारमा रहेर भोग, रोग र असुविधाले पीडित नेपाली जनतालाई मुक्ति दिलाउने अवरोधको रुपमा राजतन्त्रले राजा महेन्द्रको नेतृत्वमा सैनिक दलको आधारमा २०१७ साल पुष १ गते संसद मात्र विघटन भएन, दल माथि नै प्रतिबन्ध लगाएर मुलुकमा राजनीतिको कालो बादल माडारिन सुरु भयो । त्यसपछि मुलुकका सबै राजनीतिक दलहरु प्रतिबन्धित भए । नेताहरु भुमिगत र भारत निर्वासनमा बस्नुपर्ने बाध्यता सिर्जना भयो । यस्तो राजनीतिक दलहरुमा प्रतिबन्ध लागेको र राजाको हुकुम शासनको विगविगीले मुलुक तहसनहस अवस्थामा पुग्यो ।
भारत प्रवास र भुमिगत अवस्थामा रहेका राजनीतिक दलका नेताहरुले संगठनलाई पुनःजिवीत पार्दै निरन्तर लोकतन्त्र पुनःस्थापनाको क्रममा अगाडी बढ्दै जाँदा नेकपाका संस्थापक महासचिव पुष्पलालको भारत प्रवासमा अचानक विरामी परि भारतको दिल्लीमा उपचारकै क्रममा २०३५ साल श्रावण ७ गते निधन भयो । यता मुलुकमा प्रतिबन्धित अवस्थामा रहेका कम्युनिष्ट पार्टीका कथित विचारको माहोल खडा गरेर नेतै पिच्छे अलगअलग विचार प्रवाह गर्दै पार्टी चिराचिरा र बुटबुटमा खडा हुने श्रृंखला पुष्पलाल जिवित छर्दै सुरु भएको थियो । पुष्पलालको निधन पछि पनि त्यो क्रम रोकिएन ।
यता नेपाली कांग्रेसका नेता विपीले २०३३ सालमा देश खतरामा रहेको भन्दै प्रतिबन्धित अवस्थामा पनि स्वदेश फर्केर देशभित्र नयाँ तरंग सिर्जना गराउने काम भयो । राष्ट्रिय मेलमिलापको नाममा राजासंग नजिक हुन खोजे पनि राजा र राजाका वरिपरि रहेका भाइभारदार र निर्दलवादी पञ्चहरुले विपी र राजालाई नजिक हुन दिएनन् । यसरी राष्ट्रिय राजनीतिमा पञ्चायत विरुद्धको जनअसन्तुष्टि बाहिर प्रकट हुन बाटो खोजीरहेका बेला विपीको स्वदेश फिर्ती र उनीमाथि लगाइएका फासीको सजायसम्म हुने अदालतको मुद्दाले राष्ट्रिय राजनीति भित्रभित्रै तापिदै गएको थियो । नेकपाका संस्थापक नेता पुष्पलालको प्रवासमा भएको निधन पछि उनको अन्त्येष्टीको लागि स्वदेश ल्याउने कुरा त परै रहोस् खरानीसम्म ल्याउन रोक लगाउने काम भयो । गुप्त रुपमा काठमाडौं ल्याएर पशुपति आर्यघाटमा खरानी बिसर्जन गर्दा पुष्पलालको समर्थनमा उर्लिएको जनसमर्थनले राजा र पञ्चायत प्रतिको जनअसन्तुष्टि सहज रुपमा बुझ्न सकिन्थ्यो । यसै क्रममा काठमाडौमा २०३५÷०३६ सालमा उठेको विद्यार्थीको विरोध जुलुस, त्यसपछिको जनसमर्थनले पञ्चायतलाई घुडा टेकाउँदै जनमत संग्रहको घोषणा भएको हो । जनमत संग्रहलाई राष्ट्रिय ढुकुटी दुरुपयोग गरी निर्दलले जितेको घोषणा गरे पनि अन्तत एक दशक पनि टिक्न सकेन ।
२०४६ सालमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको प्रयासमा बामपंथिहरुसंगको संयुक्त संघर्षले २०४६ साल वैशाख २६ गतेबाट पञ्चायत समाप्त भयो । बहुदलीय व्यवस्था प्रारम्भ भए यता बिचको राजा ज्ञानेन्द्रको शाही शासनलाई सारेर कांग्रेसका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सुशील कोइराला, नेपाल कम्युनिष्ट पार्टीका मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली समेत गर्दा १० जना जनताका छोरा निर्वाचित प्रधानमन्त्रि भए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र अन्तरगत समावेशी र समानुपातिक चरित्र बोकेको जनताका प्रतिनिधि संविधानद्वारा नयाँ संविधान जारी भएको पनि ११ वर्ष बित्दै छ । ५५३ वटा अधिकार सम्पन्न स्थानीय सरकार र ७ वटा प्रदेशमा प्रादेशिक सरकार केन्द्रमा संघीय सरकार समेत गरी ५६१ वटा जननिर्वाचित सरकार कार्यरत छन । सर्वसाधारण जनताको जीवनस्तर कति सुधार भयो र छोराछोरी पाल्न र एकसरो आङ् ढाक्न लाखौलाख बेरोजगार युवायुवती विदेशमा पसिना बगाउन पर्ने नियती अहिले पनि कायम नै छ । २०४६ साल यता यो ३५ वर्षको अवधिमा उनै विपी र पुष्पलालले स्थापना गरेका कांग्रेस र कम्युनिष्ट पार्टी आलोपालो सरकार रहदै आएका छन् । अझ यीनै पार्टीहरु आफैभित्रको घर झगडामा फसेर नेपालीको प्रजातान्त्रिक समाजमा र नेकपाको समाजवाद उन्मुख बाटो दस्तावेजमा सिमित हुँदै गएको छ । साथसाथै यस वर्षको विपी स्मृति र पुष्पलाल स्मृति मनाइरहदा हामीले विगततिर फर्केर अगाडी बढ्ने बाटो तय गर्न सकिएला ? प्रश्न अनोत्तरित छ ।










