प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छः महामन्त्री थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि अनिवार्य आवश्यकता बनिसकेको बताउनुभएको छ ।

स्थानीय नेतृत्व विकास मञ्चद्वारा यहाँ आज आयोजित ‘नेपालमा सङ्घीयताको एक दशकः एक समीक्षा र भावि कार्यदिशा’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सङ्घीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताउनुभयो । साथै नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सङ्घीयता कार्यान्वयनको एक दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै संविधान निर्माणका क्रममा राखिएका केही अव्यवहारिक प्रावधानले जटिलता थपेको बताउनुभयो । देशमा भएका राम्रा काम ओझेलमा परेका र भ्रष्टाचार तथा कुशासनका मुद्दाले नकारात्मक भाष्य निर्माण भएको उहाँको भनाइ थियो ।

“काम नभएका होइनन्, धेरै भएका छन् । तर भ्रष्टाचार र कुशासनका कुराले हामीलाई बदनाम गरायो, जसले गर्दा लोकतन्त्र र संविधान नै बदनाम हुने खतरा बढेको छ,” प्रमुख सचेतक घिमिरेले भन्नुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइरहेको भए पनि बजेट विनियोजनमा स्पष्टताको अभाव रहेको बताउनुभयो । स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म यो समस्या विद्यमान रहेको उल्लेख गर्दै उहाँले स्पष्ट कानुनी व्यवस्थाबिना सुशासनको प्रत्याभूति दिन नसकिने बताउनुभयो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सङ्घीयताको सबलीकरण र यसको प्रभावकारी कार्यान्वयन नै वर्तमान सत्ता गठबन्धन सरकारको प्रमुख आधार रहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउन संविधान संशोधन आवश्यक रहेको र सरकार यही ध्येयका साथ अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले विगत १० वर्षमा राजनीतिक सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय सङ्घीयतालाई बलियो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

संविधान संशोधन राजनीतिक स्थायित्वका लागि आवश्यक भए पनि संसदभित्रको शक्ति सन्तुलनका कारण यो प्रक्रिया जटिल रहेको मुख्य सचेतक बर्तौलाले बताउनुभयो । “संविधान संशोधनको एउटा स्कोप हामीले बनाएका छौँ, तर पार नलाग्ने विषयलाई बहसमा ल्याएर मुलुकमा अनावश्यक ध्रुविकरण सिर्जना गर्नुहुँदैन,” उहाँले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य गोपीबहादुर शार्की अछामीले वित्तीय र प्रशासनिक कोणमा सङ्घीयता कमजोर देखिएको बताउनुभयो । सांसद कृष्णबहादुर रोकायले सङ्घीयतासँग जोडिएका थुप्रै कानुन बन्न बाँकी भएको भन्दै संविधानमा भएका समस्या खोज्नुपर्ने बताउनुभयो । सांसद मदनकुमारी शाह गरिमाले जुन गतिका साथ कानुन निर्माण सङ्घीयता कार्यान्वयनमा जानुपथ्र्यो त्यो हुन नसकेको उल्लेख गर्दै कमजोरी पत्ता लगाएर समाधान खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मञ्चका अध्यक्ष वंशलाल तामाङले वर्तमान सरकारको प्रमुख एजेण्डामध्ये संविधान संशोधन पनि एक रहेको उल्लेख गर्दै स्थानीय तहका अनुभवका आधारमा संशोधनमा विषयवस्तु तय हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको मुख्य उद्देश्य सङ्घीयताको दशक लामो अभ्यासको समीक्षा गरी संविधान संशोधनकालागि ठोस सुझाव सङ्कलन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा ज्ञान व्यवस्थापन विज्ञ डा कृष्णप्रसाद पौडेल र सङ्घीयताका जानकार कृष्णप्रसाद सापकोटाले सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता तथा समाधानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सांसद सीता मिजार, लीलादेवी वोखिम लिम्बुलगायत विभिन्न नगर तथा स्थानीय तहका अध्यक्ष तथा सरकोकारवालाको उपस्थिति थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker