यसरी हट्न सक्छ छाउप्रथा

अमृता अनमोल

अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् ।

महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् ।

छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख १९ गते सरकारका नाममा आदेश नै जारी गरेको थियो । त्यसमा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश दिइएको थियो । तर, छाउ गोठबारे सम्बन्धित निकायले चासो नदिएपछि किशोरीहरु महिनावारीमा छाउ गोठमा बस्ने र ज्यान गुमाउने भइरह्यो । यस्तो क्रम बढेपछि २०७६ सालमा गृह मन्त्रालयले छाउ गोठ भत्काउन र छाउको पक्षमा उभिनेलाई कारबाही गर्न नै निर्देशन दिएको थियो । कतिपय स्थानीय तहले छाउ गोठमा बसाल्नु कानुन विपरीत ठहराउँदै त्यस्तालाई राज्यबाट दिने सुविधाबाट पनि वञ्चित गरेका छन् । तर, मानिसका मनमा बसेको छाउ अर्थात् महिनावारीप्रतिको धारणा धेरै फेरिएको छैन ।

महिनावारी जैविक प्रक्रिया हो । जुन महिलाको प्रजनन क्षमतासँग सम्बन्धित छ । किशोरी उमेर सुरु भएपछि महिलाको प्रजनन् क्षमता रहँदासम्म महिनावारी कायम रहन्छ । महिनावारी महिलाको प्रजनन् प्रणालीको नियमित चक्र हो । महिनावारीको बेला प्रजनन्योग्य अण्डा फुटेर पाठेघरको भित्तामा भएको रगत र तन्तुहरू शरीरबाट बाहिर निस्कने हो । यही प्रक्रियामा निस्कने रगतलाई अशुद्ध मानेर महिनावारीमा छोइछिटो बार्ने चलन सुरु भएको हो । महिनावारी बार्ने चलन हिन्दू धर्मसँग सम्बन्धित छ । त्यो पनि धार्मिक रुपमा शक्तिशाली मानिने हिन्दू धर्मका देवीका बारेमा चर्चा गर्दा उनीहरु महिनावारी भएको चर्चा कतै छैन । लक्ष्मी, सरस्वती, दुर्गालगायतका शक्तिशाली देवी महिनावारी भएको वा त्यस्तो बेला कुनै सभा रोकिएको कतै उल्लेख छैन । मनुस्मृतिमा आएर मात्रै महिनावारीको चर्चा छ । जसमा महिनावारीको समयमा पाँच दिन अलग बस्नुपर्ने र कसैसँगै सुत्न नहुने भनिएको छ । महिनावारीको पाँच दिनसम्म स्नान, जप, हवन वा धार्मिक काम गर्नु हुँदैन भनिएको छ । धर्मशूत्रमा पनि महिनावारीलाई अपवित्र मान्ने, धार्मिक काममा निशेध गर्ने, छोइछिटो गर्ने र अलग्गै बस्नुपर्ने नियम उल्लेख छ ।

ऋषिपञ्चमी कथामा महिनावारी नबार्दा महिला आफूले पाउने समस्या मात्र होइन, आफ्ना पति र सन्तानले व्यहोर्नु पर्ने पापबारे उल्लेख गरिएको छ । यसले महिलालाई महिनावारीको समयमा अछुत ठान्दै धार्मिक, सामाजिक र पारिवारिक जीवनबाट अलग बस्नुपर्ने नियममा बाँधेको छ । अशिक्षित मात्र होइन, कतिपय शिक्षित महिलाहरु पनि धर्म नाश हुने डरले छुइप्रथा अपनाइरहेका भेटिन्छन् । गाउँ मात्र होइन, शहरका महिला पनि महिनावारीमा छोइछिटो बारेका हुन्छन् ।

पछिल्लो समय प्रश्न उठेको छ, महिलाहरु आफैँलाई पीडा दिदै र समस्या भोग्दै महिनावारी तथा छाउ किन बार्छन् ? यसको सोझो उत्तर हो, अधिकांश महिलाले धर्मलाई आफू र आफ्नो परिवारको रक्षा कवजका रुपमा लिन्छन् । धर्म कथालाई मार्गदर्शन मान्छन् । त्यसको पालना नगरे पाप लाग्छ भन्ने ठान्छन् । धेरैजसो धार्मिक नियम महिलामा केन्द्रीत छन् । तिनका नियम मिचे आफूभन्दा त्यसको पापबाट पति वा सन्तानलाई अशुभ हुने लेखिएको हुन्छ । अधिकांश महिला आफूभन्दा आफ्नो परिवार, पति र सन्तानलाई धेरै माया गर्छन् । आफ्ना कारण आफ्ना प्रियजनलाई केही हुने पो हो कि भन्ने डरले महिलाहरु आफूलाई समस्या भए पनि धार्मिक नियममा बाँधिइरहेका हुन् । यही प्रभाव महिनावारीमा पनि देखिएको हो । महिनावारीमा छाउ नबसे वा अछुत व्यवहार नगरे धर्म नासिने र परिवार एवं सन्तानलाई आपत आइलाग्ने डर देखाइएको छ । यही डरले महिलाहरु समस्या भोगेरै भए पनि महिनावारी बारी रहेका छन् ।

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मक रुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेर भन्दा भगवान र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

सामान्यतया धर्म भनेको धारण गर्ने कुरा हो । अदृश्य रुपमा धारण गरिएको कुरा धारणा हो । यसले जीवन जीउने कला सिकाउँछ । पुरानो धारणा फेर्न नयाँ धारणा चाहिन्छ । छाउ अर्थात् महिनावारीको सन्दर्भमा कानुन बन्यो तर, धारणा फेर्ने काम गरिएन । यसैले कागजमा कानुन बन्यो दृश्यमा छाउ गोठ भत्किए तर मनका छाउ भत्किएनन् । छाउप्रतिको धारणा फेर्न मानिसमा सामाजिक जागरण चाहिन्छ, उत्प्रेरणा चाहिन्छ । छाउ नबार्दा अनिष्ट हुन्छ भनेर बसेको गहिरो भावना फेर्न केही हुन्न भन्ने बलियो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास धार्मिक, सामाजिक र राजनीतिक रुपमा अगाडि बढेका व्यक्तिले देखाउनुपर्छ । समयअनुसार धार्मिक व्याख्या गरिनुपर्छ । समयअनुसार सामाजिक चेतना प्रवाह र आत्म जागरणका कार्यक्रम गरिनुपर्छ । त्यसमा राजनीतिक सामाजिक र धार्मिक अगुवा चुकेका छन् ।

प्रथा वा परम्परा कुनै व्यक्ति, क्षेत्र वा समुदायका संस्कार हुन् । तर, जुन प्रथा वा परम्पराले समाजमा विकृति ल्याउँछ । अधिकांशको अहित हुन्छ । सामाजिक भेद्भाव ल्याउँछ । त्यस्तो प्रथा वा परम्परा कुप्रथा हो । यसलाई बचाउने होइन त्याग्नुपर्छ । राज्य अभिभावक हो । सरकार नागरिकको सारथी हो । यसैले छाउप्रथा कुप्रथा हटाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ । कानुनी, धार्मिक र सामाजिक जागरणका काममा सरकार अगाडि लाग्नुपर्छ । त्यसमा तीन तहकै सरकार चुकेका छन् ।

भौतिक पूर्वाधार बलियो बनाउन खटेका सरकार अब कुरीति फेर्न नागरिकको मन बलियो बनाउने अभियानमा जुट्नुपर्छ । लामो समयदेखि मनमा बसेको छाउप्रतिको डर हटाउन नागरिक अभियान चलाउनुपर्छ । निडर अभियन्ता खोज्नुपर्छ । अभियानमा छाउप्रथा नमान्ने सामाजिक, धार्मिक र राजनीतिक खटाउनुपर्छ । ताकि तिनलाई हेरेर र देखेर सर्वसाधारण महिलाले मनको छाउगोठ भत्काउन सकून्, महिनावारीमा छोइछिटो त्याग्न सकून् । महिनावारी नबार्दा अनिष्ट हुने डरले समस्या भोगेकाले केही हुन्न भन्ने आत्मविश्वास भर्न सकून् । यो काम जहिलेबाट सुरु हुन्छ छाउगोठ र महिनावारीमा छुइप्रथा व्यवहारमै हराउने छ । छाउप्रथा वा महिनावारी कुप्रथाको मारमा परेका महिलाले उन्मुक्ति पाउनेछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker