भगत सिंहलाई बा–आमाको अद्भुत प्रेरणा

सुरेशकुमार पाण्डे

भनिन्छ, कुनै पनि काम सफल हुनुमा आमाको ठूलो हात हुन्छ। त्यस्तै प्रकारले, २८ सेप्टेम्बर सन् १९०७ मा भारतको पञ्जाब राज्यको लायलपुर (हाल पाकिस्तानमा) एक जाट सिख परिवारमा माता विद्यावती कौर र पिता सरदार किशन सिंहका छोराको रूपमा भगत सिंह जन्मिएका थिए। भगत सिंह अमर शहीद बनेका छन् र आज प्रत्येक भारतीयको हृदयमा स्थान बनाउन सफल भएका छन्। जुनसुकै देशका सपुत भए पनि उनीहरू क्रान्तिका वीर हुन्छन्।
बलिदान देश र जनताका लागि दिनेहरूको चालचलन भिन्न हुन्छ। बलिदान र क्रान्तिको परिभाषा नबुझेका स्वार्थीहरू अरूलाई मारेर आफू सत्तामा पुग्न खोज्छन्। अहिले पनि त्यस्तै प्रकारका सत्ता–लोभीहरू देखिन्छन्, जसले अरूको हत्या गरेर सदनमा पुग्छन्। तर कुनै समय यस्ता व्यक्तिहरू पनि थिए, जो निस्वार्थ रूपमा आफ्नो प्राण देशका लागि अर्पण गर्न आतुर हुन्थे। तिनैमध्ये भारतका अमर शहीदहरू भगत सिंह, राजगुरु र सुखदेव जस्ता क्रान्तिकारी हुन्, जसले करिब ९७ वर्षअघि देशलाई अंग्रेजी हुकुमतबाट आजाद गराउन र जनतालाई सचेत बनाउन ब्रिटिश सरकारको असेम्बलीमा बम फालेका थिए।
भारतमा करिब एक शताब्दीसम्म बलिदानीपूर्ण आन्दोलन चलेको थियो। कयौं देशभक्त र क्रान्तिकारीहरूले ज्यान गुमाएका छन्। चन्द्रशेखर आजाद, सुभाष चन्द्र बोस लगायतका धेरै क्रान्तिकारीहरूको संघर्षमय कथा इतिहासका पानाहरूमा अंकित छन्। लामो समयसम्म अंग्रेजहरूले भारतलाई आफ्नो गुलाम बनाएर शासन गरे। उनीहरूले विभिन्न ठाउँका राजा–रजौटाहरूलाई आपसमा लडाएर शासन चलाएका थिए।
मंगल पाण्डेदेखि रानी लक्ष्मीबाई सम्मले विद्रोह गरेका थिए । कसैले उनीहरूको अत्याचारविरुद्ध, कसैले जनताबाट उठाइएको कर -लगान) विरुद्ध संघर्ष गरेका थिए। त्यति मात्र होइन, भारतीय स्वतन्त्रता आन्दोलनमा हजारौं नेपालीहरूले पनि भाग लिएका र ज्यान गुमाएको इतिहास छ। समय–समयमा संयुक्त संघर्ष हुँदै आएका छन्, जसको लामो इतिहास छ।अहिलेको यो लेख मार्च २३ को स्मरणमा लेखिएको हो। त्यसै सन्दर्भमा उक्त बलिदानबारे छोटकरीमा प्रकाश पारिन्छ।
भारतमा विभिन्न कोणबाट विभिन्न व्यक्तिहरूको नेतृत्वमा स्वाभिमानी आन्दोलन चलिरहेको थियो। त्यही क्रममा २३ अक्टोबर सन् १९२८ मा लाला लाजपत राय सँगको एउटा जुलुसमा भगत सिंह र अन्य युवाहरू पनि सहभागी भएका थिए। पुलिस सुपरिन्टेन्डेन्ट स्कटले डीएसपी सान्डर्सलाई प्रदर्शनकारीहरूलाई रोक्न आदेश दिए। तर सान्डर्सले निहत्था प्रदर्शनकारीमाथि अन्धाधुन्ध लाठीचार्ज गराए। उक्त लाठीचार्जका क्रममा जुलुसको नेतृत्व गरिरहेका लाला लाजपत राय गम्भीर घाइते भए र त्यसै चोटका कारण १७ नोभेम्बर १९२८ मा उनको मृत्यु भयो।
त्यसपछि क्रान्तिकारीहरूले “खूनको बदला खून” भन्ने नारा दिए। भगत सिंह, राजगुरु, सुखदेव र चन्द्रशेखर आजाद ले स्कटको हत्या गर्ने योजना बनाए। उनीहरूले स्कटलाई लक्षित गरी गोली चलाए, तर सान्डर्स अगाडि आउँदा उसैलाई गोली लाग्यो। चारै जना त्यहाँबाट भाग्न सफल भए। देशभर भगत सिंह र उनका साथीहरूको साहसिक कार्यको प्रशंसा भयो। त्यसपछि उनीहरू भूमिगत भएर आफ्नो अभियानमा जुटे ।
सन् १९२९ को अप्रिलमा अंग्रेजहरूले आफ्नो असेम्बलीमा दमनकारी विधेयक पारित गर्न खोजिरहेका थिए। भगत सिंहले बटुकेश्वर दत्तसँग मिलेर असेम्बलीमा बम प्रहार गरे। उनीहरूको उद्देश्य अंग्रेज सरकारलाई चेतावनी दिनु थियो। बम विस्फोटपछि उनीहरूले पूर्व तयारीअनुसार आफैं गिरफ्तारी दिए। उनीहरूमाथि मुद्दा चलाइयो र सुखदेव, राजगुरु लगायतलाई पनि अभियुक्त बनाइयो।
२३ मार्च सन् १९३१ को साँझ ७ बजेर ३३ मिनेटमा भगत सिंह, राजगुरु र सुखदेवलाई लाहोर सेन्ट्रल जेलमा फाँसी दिइयो। फाँसी अघि चत्तर सिंह नामक व्यक्तिले गुरुबाणी पाठ गर्न सुझाव दिएका थिए, तर भगत सिंहले अन्तिम समयमा आफू कायर ठानिने डरले त्यसलाई अस्वीकार गरेका थिए।
इतिहास साक्षी छ– यी तीन क्रान्तिकारीहरू फाँसीको मञ्चसम्म पुग्दा पनि हत्कडी लगाइएको थिएन। उनीहरू एकअर्काको हात समात्दै ‘इन्कलाब जिन्दावाद’को नारा लगाउँदै फाँसीको तख्तासम्म पुगेका थिए र आफैंले फन्दा घाँटीमा हालेका थिए।
मृत्युदण्डअघि केही समय पहिला भगत सिंहका बा–आमा उनलाई भेट्न आएका थिए। उनकी आमाले भनेकी थिइन्– “छोरा, आफ्नो अडान कहिल्यै नछोड्नु। एक दिन सबैले मर्नु नै छ, तर तिमी यस्तो मृत्यु मर्नु, जसलाई संसारले सधैं सम्झियोस् र गर्व गरोस्। मेरो यही इच्छा छ– मेरो छोरा फाँसीको तख्तामा उभिएर ‘इन्कलाब जिन्दावाद’ को नारा लगाओस् ।”
यस्तो अद्भुत प्रेरणा सायद अरू कुनै आमामा विरलै पाइन्छ। यही प्रेरणाले भगत सिंहलाई असाधारण साहस दिएको थियो। उनी खुलेआम फाँसीको तख्तामा पुगे, ‘इन्कलाब जिन्दावाद’ को नारा लगाए र आफैंले फन्दा घाँटीमा हालेर संसारलाई विदा गरे। यद्यपि उनीहरू शारीरिक रूपमा आज छैनन्, तर अमर शहीदका रूपमा सधैं जीवित रहनेछन्। त्यसको करिब १६ वर्षपछि, सन् १९४७ मा अंग्रेजहरूले भारत छाड्न बाध्य भए। स्वतन्त्रताको यस संघर्षबाट हामीले धेरै प्रेरणा लिन सक्छौं ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker