नेपालमा झोलुङ्गे पुलको इतिहास

के.बि. मसाल

१८औं शताब्दिसम्म विश्वमा कतैपनि पुल थिएन । इतिहाँस अनुसार भारतको खोजीमा हिडेका क्रिष्टोफर कोलम्वसले अमेरिका पत्ता लगाएका हुन । कोलम्वस सन् १४९२ अमेरिका महाद्विपमा पुगेका थिए । कोलम्वस भन्दा पहिले अमेरिकी महाद्विपमा कोही पुगेको थिएन । उनको समुन्द्रको यात्रा काठको मुडाबाट भएको थियो । १८औं शताब्दिमा पश्चिमी मुलुकहरुमा भएको औद्योगिक क्रान्तिले विश्वलाई यान्त्रिक युगको बिकास ल्याउन थाल्यो । त्यसपछि मात्र विश्वमा झोलङ्गे पुल निर्माणको सुरुवात हुन थालेको हो ।
इतिहास पल्टाउने हो भने बाइसे चौबिसे राजाहरुको पालासम्म नेपालमा झोलुङ्गे पुल थिएन । मानिसहरु नदी र ठूला खोला तर्नका लागि काठका लाप्सो, बासको फडके, डुङ्गा र पश्चिम नेपाल तिर लौकाको चिन्नाबाट पनि नदीहरु तर्थे । नदी तर्दा जोखिम थियो । कयौ मानिसहरु दुर्घटनामा परी मृत्यु हुने गथ्र्यो। हालसम्म देशभर दश हजार भन्दा बढि झोलुङ्गे पुल निर्माण भइसकेका छन । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो, अहिले नदी तरितराउका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिले पनि निर्माणको माग हुँदै आएका छन र निर्माण पनि हुँदै गएका छन् । आजभोली पुल निर्माणका लागि सरकारले सबै प्रकारको सहयोग गरेको र अहिले लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माण गर्न थप सहज भएको छ । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल संघीय सरकारले र सोभन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश सरकार र स्थानीय तहले बनाउँदै आएका छन । तीनवटै तहले पुल निर्माण गरेकाले धेरै संख्यामा पुल निर्माण भएको छ ।
नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले वि.सं. १९६० मा नै गरेका थिए भने देवशम्शेरको शासनकालदेखि झोलुङ्गे पुलको निर्माण गर्न थालिएको थियो । उपत्यकामा मात्र नभइ दुर्गम गाउँहरुमा पनि करिब एक सय वर्ष अघिनै झोलुङ्गे पुलको निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुलको लागि आबश्यक फलामे सामग्रीहरुका लागि भने स्कटल्याण्डको उत्तरी शहर एबरडीनसंग नाता गाँसिएको थियो । शुरुका दश वर्ष जति लुइस हार्पर कम्पनीले नेपालमा झोलुङ्गे पुलहरु बनाएका थिए भने पछि जोन एम हेन्डरसन कम्पनीले झोलुङ्गे पुलहरु बनाएका थिए। बि.सं. १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रुपमा सुनकोशी नदीमा पुल बनाएको थियो । पछिल्लो समय ५० वर्ष अगाडिसम्म ५० वटा फलामे पुलहरुमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडको नाम राखिएको छ । चोभारको पुल, मस्र्याङदीको तार्कुघाटको पुल, धाडिङको आँखुखोलाको पुल आदिमा उक्त कम्पनीको नाम लेखिएको देखिन्छ ।
आजभन्दा ९६ बर्ष पहिले श्री ३ चन्द्र शमसेरको पालामा वि.स. १९८५ मा रुकुमको चौरजहारी र जाजरकोटको मटेला जोडने भेरी नदीमा पहिलो झोलङ्गे पुल निर्माण भएको हो । भेरी नदीको पुल बृटिसहरुको सहयोगमा स्कटल्याण्डको इञ्जिनीयरद्वारा निर्माण भएको हो । सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलङ्गे पुल निर्माणको थालनी भएपछि क्रमशः नेपालमा झोलङ्गे पुलहरु निर्माण हुँदै आएको छ । तर मटेलाको पुल बन्नु भन्दा पहिले वि.सं. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलङ्गे पुल निर्माण भएको थियो । आजभन्दा करिब १३६ वर्ष अघि स्थानीय मजदुरले फलाम पिटेर लठ्ठा बनाइ स्थानीय तवरले निर्माण भएको बेनीको मंगलाघाट र हाँडेभिर जोडने म्याग्दी खोलाको झोलङ्गे पुल नेपालको पहिलो पुल मानिन्छ । अहिले यो पुलमा पर्यटकहरु पुग्ने अवलोकन गर्ने, फोटो खिच्ने गर्दछन् । यो ऐतिहासिक पुल बाग्लुङ गलकोटका स्व. लालप्रसाद शेरचनले म्याग्दीको रुम गाउँका मजदुर प्रयोग गरी काँचो फलामलाई पिटेर ला र पाता बनाई म्याग्दी नदी वारपार गर्न मिल्ने झोलुंगे बनाएका थिए ।
तनहुँको भिमाद र म्याग्दे गाउँपालिका जोडने एक सय वर्षअघि निर्मित ऐतिहासिक पुल पनि छ । झोलुङ्गे पुल शुक्लागण्डकी नगरपालिका वडा नं. १० मा रहेको ढोरको फलाम प्रयोग गरी स्थानीय कालिगढबाट बनाइएको थियो । तत्कालीन राजा सुरेन्द्रविर विक्रम शाहको र प्रधानमन्त्री जंगबहादुर राणाका पालामा यो पुल बनाइएको थियो । तनहुँको सदरमुकाम बन्दीपुर हुँदा भिमादको शान पनि छुट्टै थियो। त्यही पुल हुँदै व्यापारीहरु बटौली पुग्थे । बन्दीपुर हानिन्थे अनि पोखरा र बागलुङ सामान त्यही पुलहुँदै लगिन्थ्यो । पुलमा राखिएको शिलापत्र अनुसार भिमादको पुल बनाउने काँचो फलाम तनहुँकै ढोरफिर्दीको मिनामखानीबाट निकालिएको थियो । मिनामखानीबाट अहिले फलाम निकालिँदैन। काँचो फलामलाई काटेर बलियो साङ्ला स्थानीय कलिगढहरुबाटै भएको थियो । पुलको लठ्ठा पनि फलामकै, साङ्ला पनि फलामै भएको यो पुलमा ठोक्ने काँटी पनि हातबाटै बनेका थिए । फलामबाटै यो साङ्लैसाङलाको झोलुङे पुल बनेको थियो पुलको दुबै साइडका लाहरु साङ्ला आकार छन् । पुलको साङ्ला जोडेर जमिनमा गाडेर बलियो बनाइएको छ भने ती । साङ्ला पनि आर्कषक छन् । पुलमा बिच्छ्याइएको काठको फलेक भने अहिले कुहिएका छन् । त्यो पुलबाट मान्छे आवतजावत गर्न छाडेको पनि धेरै नै भयो।
अहिलेसम्म नेपालकै सबैभन्दा लामो झोलङ्गे पुल सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोडने गरी निर्माण भएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल हो । जुन पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ । दोस्रो मानिएकोे कञ्चनपुरको महाकाली नदीको मल्टिस्पान झोलङ्गे पुल हो । चाँदनी र दोधार गाउँ जाने यो पुल हेर्न पर्यटकको भीड लाग्ने गर्दछ । कञ्चनपुरको पिपरिया र दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यो पुल अवलोकन गर्न कञ्चनपुर पुग्ने पर्यटकहरु जाने गर्दछन् । पछिल्लो समय पर्वतको पाङ र बागलुङ जोडने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माणपछि बाग्लुङ घुमफिर गर्न जाने ग्रामीण पर्यटकहरु पर्वतको पाङ लगाएत ग्रामीण क्षेत्रमा पुग्ने गरेका छन् । पाङमा ऐतिहासिक गाउँ मात्र होइन जोतिषको गाउँ पनि हो । पाङ गाउँ पाच हजार बर्ष पुरानो भएको पुरातात्विक बिभागबाट प्रमाणित भएको छ । पुरातात्विक अध्ययन गर्ने पर्यटकहरु पाङ गाउँ पुग्ने गर्दछन ।
कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा  पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ । तर खुला प्रकृतिको निर्माण भएको बाग्लुङ–पाङ जोडने पहिलो पुल हो । बाग्लुङ–पाङमा बनेको पुल खुला आकाशमा बनेकाले यसको महत्व भिन्न रहेको छ । अहिले पर्वत र बाग्लुङ जिल्लाको सिमाको कालीगण्डकी नदीमा निर्माण भएको झोलुङे पुल हेर्न र रमाउन पर्यटकहरु पुग्ने गर्दछन् । पर्वतमा पाङ, कुश्मा–ज्ञादी, बडागाँउ–कैंया, देविस्थान–कुर्घा र बडागाँउ–मुडीकुवा जोडने अग्ला र लामा पुलहरु निर्माण भएका छन । यी मध्ये पर्वतको कुश्मा बडागाँउदेखि बाग्लुङको बलेवा कैया जोडने कालीगण्डकी माथी बनेको पुल १६६ मिटर अग्लो र ३४७ मिटर लामो छ । कुश्मामा निर्माण भएका अग्ला र लामा पुलहरु हेर्न अहिले ग्रामीण पर्यटक, शैक्षिक भ्रमणका विद्यार्थी एवं बाह्य पर्यटकको घुईचो नै लाग्ने गर्दछ। अग्ला र लामा पुलहरुले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ । पछिल्लो समय कुश्मामा पर्यटकहरुलाई नै लक्षित गरी बन्जीजम्प पुल समेत निर्माण भएको छ । कुश्मा–बलेवा जोडने गरी कालीगण्डकी नदीमा ५३५ मिटर लम्बाई र २२५ मिटर उचाईको बन्जी जम्प पुलले पर्यटकहरुको आकर्षण बढेको छ । बन्जी जम्प पुल विश्वकै दोस्रो अग्लो पुल मानिन्छ । कुस्मामा पर्यटकहरुलाई आकर्षित गर्ने अर्को हो यान्त्रिक पुल । यो पुल बनेपछि पर्वतको कुस्माबाट पर्यटकहरु वाग्लुङ जिल्लाको भुगोलमा पर्ने वलेवा, नारायणस्थान, अमलचौर, मुलाबारी लगायतका ग्रामीण बस्तीमा पनि पुग्ने गरेका छन ।
नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो । इँट्टामा चुना सुर्कीको जोडाइबाट बागमती नदीको बीचबीचमा पिलर उठाएर बनाइएको काठे पुललाई चन्द्रशमशेरले ११६ वर्षपछि विस्थापित गराई काठको ठाउँमा स्टीलका बिमहरु राखेर पुल बनाएका थिए। स्कटल्याण्डको एबरडीनबाट स्टीलका सामग्रीहरु ल्याएर स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा नै बनाउन लगाएका थिए । एबरडीनबाट सामग्रीहरु ल्याएर झोलुङ्गे पुलहरु निर्माण गरिँदै आएकोमा यहाँ भने खोलाको गहिराई कम भएको तथा पुल निकै लामो बनाउनुपर्ने तथा पहिले नै भीमसेन थापाको पालामा बनाइएका पिलरहरु नदीमा रहेको हुँदा झोलुङ्गे पुलको सट्टा पक्की फलामे पुल निर्माण गरिएको थियो। १९८४ सालमा निर्माण गरिएको यस पुललाई चन्द्र ब्रिज भन्ने गरियो । साथै रातो रङ लगाइएको हुँदा रातो पुल पनि भन्ने गरिन्थ्यो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आबश्यक ठाउँमा पक्की आधुनिक झोलङ्गे पुलहरु निर्माण गर्न थालेका थिए। राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलङ्गे पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकायसम्म पहुँच हुनुपथ्र्यो । अन्यथा दुर्गम स्थानहरुमा पुलको आबश्यकता रहेको थाहा नै हुदैनथ्यो। राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९५४ देखि नेपालमा झोलङ्गे पुल राख्ने अभियान नै चलाएका थिए। झोलङ्गे पुलको लागि आबश्यक फलामे सामानहरुको लागि नजिकैको भारत होइन । यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी शहर एबरडीनसंग नाता गाँसिएको थियो। भौगोलिक रुपले भनौ भने ७ हजार कि.मि. भन्दा टाढा थियो । तर त्यहाँदेखि आजभन्दा ११९ वर्ष अगाडि फलामे सामग्रीहरु ल्याएर नेपालमा झोलङ्गे पुलहरु बनाइएका थिए । चन्द्रशम्शेरको समयमा नेपालमा पहिलो झोलङ्गे पुल बि.सं. १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाएका थिए । त्यसबेला झोलङ्गे पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो। यस कम्पनीले बि.सं. १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा ७ वटा आधुनिक झोलुङ्गे पुलको निर्माण भएको थियो । बिभिन्न कारणवश लुइस हार्पर एण्ड कम्पनीले बि.सं. १९६७ पछि झोलङ्गे पुलको निर्माण सामग्री बनाउन बन्द भयो ।
तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुगें पुल निर्माणको जिम्मा दिएको थियो । यस कम्पनीले भने नेपालमा सय भन्दा बढी झोलङ्गे पुल बनाएका थिए । जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आबश्यक फलामका लट्ठा तथा केबलहरु तैयार बनाउने कम्पनी थियो । जोन एम हेन्डरसनले नेपालमा पहिलो झोलुङ्गे पुल सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदी माथि खुर्कोटमा वि.सं. १९६४ बनाएका थिए । यसरी झोलुङ्गे पुल बनाउने जिम्मा पाएको जोन एम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदी माथि झोलङ्गे पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमार नरसिंह राणालाई जिम्मा दिइए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरु नै आएका थिए । झोलङ्गे पुलका लागि आबश्यक सामग्रीहरु स्कटल्याण्ड देखि कलकत्ता सम्म पानी जहाजमा ल्याइएको थियो ।
पुलको इतिहास खोज्दै जादा ठूला नदीमा डुंगा र साना खोलाहरुमा फडकेको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरु भएको हो । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलङ्गे भनियो । दूरी लामो हुँदा हल्लिने बाँस अडयाउनका लागि बाइसे–चौबिसे राजाका पालामा गलकोटे राजा भरत बम मल्लले बाबियोको डोरी बनाएर वारपार टाँग्न लगाएका थिए। त्यही डोरीले बाँस धान्यो र स्थानीयलाई आवतजावतमा सहज भयो । त्यही प्रविधि कालान्तरमा झोलुङ्गे पुलमा रुपान्तरित भएको मानिन्छ। भरतबम अघिका राजाले खोलामा पुल बनाएको कहीँकतै भेटिँदैन् । दरमखोलामा बाबियोको डोरी र बाँसका घाराबाट सुरु भएको झोलङ्गे पुलले अहिले आधुनिक प्रबिधिमा जोडिएको छ । अहिले सबै भन्दा बढी झोलुङ्गे पुल बाग्लुङ जिल्लामा बनेको छ । जुन कारणले बाग्लुङलाई झोलुङ्गेको जिल्ला पनि भनिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker