आदिकवि भानुभक्त क्याम्पसमा पाठेघरको मुख क्यान्सरसम्बन्धी सचेतना

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सोमबार पाठेघरको मुखको क्यान्सर विषयक एक दिन जनस्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । क्याम्पसको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा करिब ५० जना छात्रा विद्यार्थीको सहभागिता रहेको थियो ।
नेपालभर, विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूमा पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमण दर उच्च र चिन्ताजनक अवस्थामा रहेको सहभागिहरुलाई जानकारी गराइएको थियो । महिलामा देखिने क्यान्सरमध्ये यस किसिमको संक्रमण एक प्रमुख चुनौतीका रूपमा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पूजा कुँवरले जानकारी गराइन्।
कार्यक्रममा उनले पाठेघरको मुखको क्यान्सर कसरी सुरु हुन्छ, यसको रोकथामका उपाय, यौन–प्रजनन् अङ्गको सरसफाइमा अपनाउनुपर्ने दैनिक सावधानी तथा सुरक्षित व्यवहारका विषयमा सहजिकरण गरेकी थिइन् । सहभागी छात्रा–विद्यार्थीले राखेका जिज्ञासाको पनि सहजकर्ताले प्रष्ट उत्तर दिएकी थिइन् ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, प्रदेश जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकाल, उपप्राध्यापक दीपा थापा, सहायक प्राध्यापक सिर्जना शर्मा लगायतको उपस्थिति रहेको थियो। क्याम्पस प्रमुख हड्खलेले यस किसिमका स्वास्थ्य सचेतना कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।










