सञ्चालक समिति नहुँदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा समस्या

दमौली : तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक समितिविहीन बनेको छ । केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ हुँदै आएको छ ।
समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्रको आन्तरिक व्यवस्थापन तथा थप उपचार सेवा सञ्चालनमा समस्या आउने गरेको केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले बताए ।
केन्द्रमा सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको उनले बताए । उनका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छ ।
केन्द्रमा दैनिक ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला समेत सञ्चालन ल्याएको छ । निरीक्षक चापागाईँले भने, ‘न्यून शुल्कमा प्रयोगशाला, फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएपछि बिरामीको चाप बढ्दै गएको छ ।’
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उनको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला, फिजियोथेरापी र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।
‘हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्’, उनले भने, ‘समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ । मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ ।’










