उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला

डुम्रे : रैथाने खेतीलाई प्रोत्साहन गर्दै स्वस्थकर खाद्य उत्पादनमा यहाँका महिला जुटेका छन् । महिला उद्यमशीलताको विकाससँगै स्वस्थ्यकर खाद्यवस्तु बजारमा उपलब्ध गराउने उद्देश्यले यहाँका महिलाले ‘शुक्लागण्डकी सातु उद्योग’ सञ्चालन गरेका हुन् ।

तालिमलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले गत कात्तिक २८ देखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा स्वस्थकर खाद्यवस्तु उत्पादनका लागि उद्योग सञ्चालनमा ल्याएका हुन् ।

महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी एकाइमा आबद्ध १३ महिला स्थानीय उपजबाट सातु उत्पादनमा जुटेका शुक्लागण्डकी सातु उद्योगकी संयोजक सरस्वती गौतमले जानकारी दिइन् । उनले भनिन्, “गाउँघरमा उत्पादित खाद्यान्न खाएर बाँकी रहेका रैथाने बाली खरिद गरी सातु उत्पादनमा जुटेका छौँ । बजारमा स्वस्थकर खाद्य पु¥याउनुका साथै महिला उद्यमशीलता बढाउँदै आत्मनिर्भर बन्ने हाम्रो लक्ष्य हो ।”

एकाइका १३ जना महिलाले व्यक्तिगत रूपमा रु तीन लाख ५० हजार रकम संकलन गरी सोही लागतमा उद्योग स्थापना गरी रैथाने उत्पादन तथा प्रवद्र्धनमा जुटेको गौतमले बताइन् । उनले भनिन्, “उद्योगमा आवश्यक कच्चापदार्थ स्थानीय कृषकबाट खरिद गरिन्छ । उद्योग स्थापनासँगै ग्रामीण क्षेत्रमा पुगेर स्वस्थकर कृषिउपज उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।”

कृषकले उद्योगमा बिक्रीका लागि ल्याएका उपजमा विषादीको प्रयोग भए÷नभएको परीक्षण गरेर खरिद गर्ने गरिएको गौतमले जानकारी दिइन् । गरपालिकाले दिएको आधारभूत र ‘एडभान्स’ (विस्तृत) तालिमलाई औद्योगिकीरणमा लैजान सहज भएको उद्यमी महिला संघका पदाधिकारीको भनाइ छ । उद्योग सञ्चालन गर्न आधारभूत तालिमले सम्भव नभएपछि एडभान्स तालिमपश्चात् उद्योग सञ्चालन गरिएको बताइएको छ ।

उद्योगका उपाध्यक्ष कमला सिग्देलले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित स्वस्थकर खानाको प्रवद्र्धनमा यहाँका महिला जुटेका बताइन । उनले स्थानीय उत्पादनलाई उद्योगमार्फत प्रयोगमा ल्याउनुका साथै यसले महिलाको आर्थिकस्तर सुधार गर्ने धारणा राखिन् ।

“नगरपालिकाले दिएको तालिमलाई व्यवहारमा उतारेर आर्थिक रूपमा महिलालाई समृद्ध बनाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो”, सिग्देलले भनिन् । चुल्होचौकोमा सीमित महिलालाई आयसँग जोड्ने लक्ष्य लिइएको भन्दै उहाँले स्थानीय उत्पादन मार्फत आर्थिकस्तर सबल बनाउने विश्वास व्यक्त गरिन् ।

सातु उद्योग स्थापनासँगै यहाँका रैथाने उत्पादनलाई यही खपत गर्न सकिने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका खाद्यवस्तुको उपयोग भएको भन्दै उद्योगका सचिव सपना पराजुलीले स्थानीयस्तरमा उत्पादित मकै, भटमास, फापर, कोदोलगायत खाद्यवस्तुबाट सातु बनाइने जानकारी दिनुभयो । उनले भनिन्, “ग्रामीण भेगमा फलेका स्थानीय तथा रैथाने बालीको उपयोगलाई प्राथमिकता दिइएको छ ।”

शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्लेले वडाकै गहनाका रूपमा उद्योग स्थापना भएको बताए। उनले भने, “नगरपालिका वा वडाले दिएको तालिम यसअघि तालिममा मात्रै सीमित हुने गरेका थियो। अहिले महिलाले तालिमलाई अवसरका रूपमा उपयोग गर्नुभएको छ ।” यस उद्योगमार्फत स्वस्थकर खाना, खाजा पाउनुका साथै आर्थिक रूपमा महिलालाई समृद्ध हुने उनको भनाइ छ ।

शुक्लागण्डकी–४ दुलेगौँडा बजारका विष्णुबहादुर महतले जैविक र अग्र्यानिक विधिबाट उत्पादित स्वस्थकर खाद्यवस्तुका रूपमा सातु पाइएको बताए । उनले भने, “यहाँको उत्पादन उपयोग गर्न थालेपछि बजारमा आएका पाउडर मिसिएका खाद्यवस्तु चिन्न सकिएको छ । उद्योगमा पुगेर सातु ल्याउने गरेको छु । आगामी दिनमा आफन्तका लागि पनि उपहारका रूपमा सातु लैजाने तयारी गरिरहेको छु ।”

उनले भने, “प्याकेजिङ अंग्रेजीमा पनि बनाउन सकिएमा विदेश सप्लाई गर्न सजिलो हुन्छ । विदेशमा आफन्तलाई अग्र्यानिक उत्पादन पठाउन पाउने व्यवस्था उद्योगले गर्नुपर्छ ।” कुनै पनि बाह्य पदार्थको मिश्रण नभएका खाद्य सातु खाएपछि बाहिरबाट लिन मन नलागेको महतले बताउनुभयो। यहाँको सातु स्वादिलो र स्वस्थकर रहेको उनको भनाइ छ ।

उद्योग भर्खर मात्रै सञ्चालनमा ल्याइएकाले प्रभावकारी बजारीकरण हुन नसकेको उद्योगका सदस्यको भनाइ छ । उत्पादन सुरुआतको चरणमा रहेकाले शीघ्र स्थानीय पसलमार्फत सातु बिक्रीको व्यवस्थापन गर्ने तयारी भइरहेको उद्योगले जनाएको छ । यहाँ मकै, भट्टमास, चना, फापर, कोदो लगायतका अन्नबाट बनेका सातु, पिठो तथा चिउरालगायत स्थानीय खाद्य परिकार उत्पादन हुन्छन् ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले हानिकारक ‘फास्ट फुड’ले रोग बढाइरहेको अवस्थामा स्वस्थकर उत्पादनका लागि स्थापित उद्योगले छिट्टै बजारमा स्थान बनाउने विश्वास व्यक्त गरे । उनले भने, “प्रविधिको युगमा अस्वस्थ खाद्यले मानिस निराश भएका छन् । यस उद्योगमार्फत जैविक उत्पादनको उपयोगले स्वास्थ्यलाई राम्रो सहयोग पुग्नेछ । सातुलाई खाजाका रूपमा प्रयोग गर्न प्रोत्साहित गर्ने योजनामा छौं ।”

नगरप्रमुख पण्डितले भने, “विशेषगरी स्थानीयस्तरमा उत्पादित खाद्यको मात्रा मिलाएर सातु बनाइएको छ । बालबालिकालाई खुवाउने सर्वोत्तम पिठो प्रयोग गर्नुभन्दा सातुको उपयोग गर्न सकिन्छ। यहाँका विद्यालयमा दिइने खाजामा पनि सातु प्रयोग गर्न सुझाउनेछौँ । यो बालबालिकाका लागि स्वस्थकर खाना, खाजा हुनेछ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker