बन्दीपुरको कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता : नवीन गुरुङको गोरु प्रथम

बन्दीपुर : तनहुँको बन्दिपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गरिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा आयोजित प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ । स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम पुरस्कार जित्न सफल भएको हो ।
प्रतियोगितामा स्थानीय कृषका सन्तोष गुरुङको गोरु उपबिजेता बनेको छ । नौ वटा गोरुले प्रतियोगितामा भाग लिएकामा प्रथमलाई १५ हजार, द्वितीयालाई ७ हजार रुपैयाँ नगद पुरस्कार गोरु पालक कृषकलाई प्रदान गरिएको आयोजक नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले बताए ।
उक्त क्लबले बिगतका वर्षहरुमा जस्तै “स्वास्थका लागि खेलकुद र युवाका लागि खेलकुद” भन्ने मुल नाराको साथ पाँच बर्षदेखि गोरु जुधाई, गाउँस्तरीय पुरुष तथा महिला भलिबल लगायतका प्रतियोगिता गर्दै आएको छ ।
त्यस्तै, पुरुष तथा महिला भलिबल प्रतियोगितामा गोरखकाली युवा क्लब प्रथम भएको छ । हिमालय युवा क्लब ठिन उपबिजेता र जुनतारा युवा क्लब हलथुम्का तृतीय भएको छ ।
प्रतियोगितामा प्रथमलाई रु. ४० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार रुपैयाँ नगद र प्रमाण पत्र, मेडल प्रदान गरिएको क्लबका संरक्षक एवं खेल संयोजक श्रीप्रसाद पौडेलले जानकारी दिए ।
पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क पाँच सय रुपैयाँ राखिएको थियो ।
महिला भलिबल प्रतियोगितातर्फ कालिका मावि प्रथम भएको छ । प्रथम भएसंगै यस विद्यालयले सात हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
महिला डोरी तान्ने प्रतियोगितामा डुम्रिगैरा आमा समुह प्रथम भएको छ भने जनजागृति आमा समुह द्वितीय भएको छ । उनीहरुले क्रमशः तीन हजार र एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
घैटो फुटाई प्रतियोगितामा बन्दीपुर हलथुम्काका जेठा गुरुङ बिजयी भएका छन् । उनले एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको क्लबका सचिव सूर्य अधिकारीले बताए ।
बिजयी प्रतियोगीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा मन्त्री बस्यालले खेलको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि थप सहयोग पुग्नेमा बताउँदै उनले खेलका माध्यमबाट बन्दीपुरको पर्यटन प्रबर्द्धनार्थ विभिन्न खेल सम्बन्धी प्रतियोगिताको आयोजना गर्न जोड दिए ।
प्रतियोगिता सफल बनाउनका लागि बन्दीपुर गाउँपालिकाबाट ६० हजार र बन्दीपुर भ्रमण बर्ष २०२५ बाट १५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको क्लबकी कोषाध्यक्ष मिरामाया गुरुङले बताइन् ।
प्रतियोगिताको लागि स्थानीय, सामाजिक व्यक्तित्व लगायतबाट स्वच्छिक रुपमा अर्थ संकलन गरिएको खेल संयोजक पौडेलले बताए ।
बन्दीपुर भ्रमण बर्ष २०२५ को दोस्रो कार्यक्रम अन्तर्गत स्थानीय साँस्कृतिक कार्यक्रम, स्थानीय अर्गानिक खाना खाजाका स्टलहरु, स्थानीय उत्पादन खाद्यन्न मास, पिडालु, सिमल–तरुल, चामल, तरुल, भटमास, मस्याम, स्थानीय कुखुरा लगायतका वस्तुहरुको बिक्री स्टलहरु कार्यक्रम स्थलमा राखिएका थिए ।