कुरा क्रान्तिकारी कमरेडका, तर आत्मीयता छैन

सुरेशकुमार पाण्डे

सुरु–सुरुमा कसैले कामरेड भनिदिँदा गौरव लाग्थ्यो। कामरेड बन्नु सामान्य कुरा थिएन। त्यसका लागि धेरै तपस्या, त्याग र संघर्ष आवश्यक पथ्र्यो। चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिकारी आन्दोलनमा सक्रिय योगदान र बलिदानपछि मात्र सदस्यता दिने गरेको कुरा हामीलाई बारम्बार सुनाइन्थ्यो। हामीले पनि त्यही बुझ्यौँ।

त्यो सुन्दा र पढ्दा हामीलाई पनि लाग्थ्यो– कामरेड बन्न पाए हुन्थ्यो। बहुविवाह, जातीय छुवाछुत, लैङ्गिक विभेदको विरोध गर्नेहरू कम्युनिष्ट नै हुन्थे। वर्गीय संघर्षबाटै श्रमजीवी वर्गको मुक्ति सम्भव हुन्छ भन्ने जस्ता गम्भीर विचार कम्युनिष्टहरूले गर्थे, र व्यवहारमै गरेर देखाउँथे। हामीलाई त्यस्तै बन्ने रहर लाग्थ्यो। कसैले हामीलाई कामरेड भन्यो भने छाती फुल्थ्यो ।

म आफैँ पनि कामरेड बन्न थुप्रै त्याग र संघर्षबाट गुज्रिएको व्यक्ति हुँ। पञ्चायती तानाशाही व्यवस्था, पाठ्यपुस्तकमा शासक वर्गकै रटान, सामन्ती संरचनामा विदेशी दयामै बाँच्न बाध्य देश– यी सबैका विरुद्ध हामी आमूल परिवर्तन चाहन्थ्यौँ।

सानैदेखि गरिब, असहाय र उत्पीडित बाल मजदुरका रूपमा घर छाड्न बाध्य भएको आफ्नै स्मृति छ। हामीलाई लाग्थ्यो— कम्युनिष्ट पार्टी मात्र यस्तो शक्ति हो, जसको माध्यमबाट श्रमजीवी वर्गका हक–अधिकार सुनिश्चित गर्न सकिन्छ। परदेशमा नेपाली श्रमिकहरूको दयनीय अवस्थाले हामीलाई झनै सक्रिय बनायो। बाल्यकालदेखि नै विद्रोहको बारुद मन–मस्तिष्कमा भरिन थाल्यो ।

त्यसबेला कम्युनिष्ट पार्टीको सदस्यता सजिलै पाइँदैनथ्यो । लामो समय जनवर्गीय संगठनमा इमानदारीपूर्वक काम गरेपछि मात्र समर्थक समूह हुँदै उम्मेदवार बनाइन्थ्यो, अनि वर्षौँको परीक्षणपछि सिफारिस हुन्थ्यो। कामरेड भन्नु नै सम्मान र विश्वासको प्रतीक थियो ।

यसले कामरेडहरूबीच अटुट सम्बन्ध र गहिरो आत्मीयता जन्माउँथ्यो। जर्मन भाषामा कामरेड भन्नाले साथी, पासा मित्र भन्ने बुझिन्छ । नातागत प्रेमभन्दा पनि वर्गीय माया अझ गाढा र बलियो हुने विश्वास गरिन्थ्यो। त्यसैले क्रान्तिकारीहरूबीच सम्बन्ध परिवारभन्दा पनि घनिष्ठ हुन्थ्यो ।

चिनियाँ क्रान्तिका कथा, उपन्यास र ओपेराहरूमा हामीले पढेका छौँ– छुट्टाछुट्टै परिवारका व्यक्ति एउटै परिवारझैँ बसेर भूमिगत रूपमा क्रान्ति लड्थे, जसलाई कसैले छुट्याउन सक्दैनथ्यो। हामीलाई लाग्थ्यो— व्यक्तिगत समस्या पार्टीको तुलनामा गौण हुन्छ ।

माओ भन्छन्– क्रान्तिको भविष्य श्रमजीवी वर्गको एकतामा निर्भर हुन्छ। चीनमा नौलो जनवादी क्रान्ति सफल हुनुको मूल कारण यही एकता र आत्मीयता थियो। लेनिन भन्छन्न्– कम्युनिष्ट विचार कि नछोप्ने, छोपेपछि दरिलोसँग छोप्ने। विचारमा स्वतन्त्रता र कार्यमा एकता कम्युनिष्टको मूल मन्त्र हो ।

आत्मालोचना र आलोचनालाई कम्युनिष्टहरूले डाक्टर र रोगीको संज्ञा दिएका छन्। अन्य पार्टीमा यो विषय गौण भए पनि कम्युनिष्टमा अनुशासनको मेरुदण्ड हो। यसले नेता र कार्यकर्तामा देखिने रोग निको पार्छ। तर आज प्रश्न उठ्छ– बाहिर एकता देखिए पनि भित्र आत्मीयता कहाँ छ? आलोचना पचाउने क्षमता कहाँ छ ?

आज आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरू एक–अर्कालाई सहन सक्दैनन्। आफूलाई क्रान्तिकारी भन्नेहरूमा त ‘तँभन्दा म जान्ने’ प्रतिस्पर्धा छ। पद, प्रतिष्ठा, सुविधा र व्यक्तिगत स्वार्थकै वरिपरि राजनीति घुमेको छ। बहुविवाहलाई अपराध ठान्नेहरूले कान्छी ल्याउँदा माओको नाम जोडेर आफ्नै गल्तीलाईरु ठहर्याउँछन्। भ्रष्टाचार गरे पार्टीलाई चन्दा दिए पुग्छ ।

नेताहरू मालिकजस्तै आदेश दिन्छन्, कार्यकर्ता ‘जी हजुर’ मात्रै। नेता वरिपरि चाकडी, गुणगान र व्यक्तिगत महिमामण्डन। यो सामन्ती शैली र राणा शासनमा के फरक भयो ?

माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका जीवनी पढ्दा उनीहरूबीचको आत्मीयता, निष्ठा र त्याग स्पष्ट देखिन्छ । माक्र्सका अधुरा काम एंगेल्सले पूरा गरे, लेनिनपछि स्टालिनले जोखिम मोले। उनीहरू साँचो अर्थमा कामरेड थिए ।

तर आज नेताहरू आफ्ना गल्ती स्वीकार्दैनन्, आत्मालोचना गर्दैनन्। बरु गल्तीलाई ढाक्न थप गल्ती गर्छन्। असहमत आवाजलाई अनुशासनको नाममा दबाइन्छ। परिणामस्वरूप इमानदार कार्यकर्ता या त पलायन हुन्छन्, या अलग पार्टी खोल्न बाध्य हुन्छन् ।

यिनै कमजोरीका कारण नेपालको कम्युनिष्ट आन्दोलन बदनाम मात्र होइन, पतनको संघारमा पुगेको छ। पार्टीलाई निजी सम्पत्ति ठान्ने, मालिकझैँ व्यवहार गर्ने प्रवृत्तिले आन्दोलनलाई खोक्रो बनाएको छ। १९४९ मा नेपालमा कम्युनिष्ट पार्टी गठन भयो, त्यही वर्ष चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भयो। चीनले २८ वर्ष संघर्ष गरेर सामन्तवाद र साम्राज्यवादलाई परास्त ग¥यो– आत्मीयता र एकताकै बलमा। तर नेपालमा दोब्बर समय फुट, गुट र खिचातानीमै बित्यो ।

विचारमा सूक्ष्मता खोजिन्छ, व्यवहारमा सिन्को भाँचिँदैन। सर्वहाराको आवरणभित्र निम्न पुँजीवादी व्यवहार मौलाएको छ। जनताबाट धन संकलन, आफूले सुविधा उपभोग– यही क्रम चलिरहेकै छ ।

अन्ततः प्रश्न यही हो– कुरा क्रान्तिकारी कमरेडका छन्, तर आत्मीयता कहाँ हरायो?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker