मनाइयो वास्तु दिवस

आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिर राखी विधिपूर्वक पूजाआराधना गरी दिवस मनाइएको हो ।
विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध नदी किनारमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न आँैजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रबीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा लिइन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको बताइन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । स्थापत्यलाई अथर्व वेदको उपवेद मानिन्छ ।
‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।
वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।
वास्तु दिवसका अवसरमा आज नेपाल ज्योतिष परिषद्ले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलगायतले वास्तुविद्याको प्रवर्दनमा काम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker