तनहुँको बन्दिपुर र भानुका कार्यपालिका सदस्यहरुको संयुक्त बैठकः फोहोर व्यवस्थापनका विषयमा छलफल
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

बढ्दो सहरीकरणसंगै बजार क्षेत्रमा उत्पादन हुने व्यवस्थापन जटिल बन्दै गएको छ । तनहुँको बन्दिपुर गाउँपालिका र भानु नगरपालिका क्षेत्र पनि बढ्दो बजारीकरणसंगै फोहोर मैला उत्पादन दैनिक बढ्दै गएको र व्यवस्थापनमा चुनौती थपिदै गएको छ ।
यी दुबै पालिकाको बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनका लागि कार्यपालिका सदस्यहरुको बुधबार बन्दिपुरमा संयुक्त बैठक गरी छलफल गरिएको छ । बन्दिपुर गाउँपालिकाले आयोजना गरेको पहिलो चरणको बैठकले दुइ पालिका फोहोर मैला व्यवस्थापनका लागि संयुक्त रुपमा अगाडि बढ्ने निष्कर्षा पुगेका छन् ।
अर्को बैठक भानु नगरपालिकामा बस्ने गरी टुंगिएको बैठकले भानु नगरपालिकाको वडा नं. १ स्थित मर्स्याङ्दी र अँधेरीखोलाको किनारमा व्यवस्थित फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि आवश्यक पहल र परामर्श गर्ने विषयमा छलफल भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
‘बन्दिपुर र भानुको शहरी क्षेत्र संगै रहेका र बस्ति बाक्लिदै जाँद यहाँ फोहोर मैला व्यवस्थापनको विषय जटिल बन्दै गएको छ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले १ करोड ७५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको र भानुले फोहोर मैला व्यवस्थापनका लागि जग्गा खरिद गरी सकेको हुँदा संयुक्त रुपमा अगाडि बढौं भनि हामीले प्रस्ताव गरेका छौं ।’
‘दुबै तहका कार्यपालिका सदस्यहरुको पहिलो बैठकको छलफलले सकरात्मक सन्देश दिएको छ’, अध्यक्ष थापाले भने, ‘फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन, ल्याण्डफिल्ड निर्माण, स्थानीय बासिन्दाको विरोध, वातावरणीय हिसावले यो कार्य जटिल बन्दै गएको छ । दुबै पालिका एउटै सहरी क्षेत्रमा पर्ने हुँदा फोहोर व्यवस्थापनको समस्या पनि दुबै पालिकालाई भएको हुँदा संयुक्त रुपमा समास्या समाधान गर्न खोजिएको हो ।’
यस्तै, भानु नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि वडा नं. १ मा करिब ८० रोपनी क्षेत्रफल जमिन संरक्षण गरिराखेको वडा नं. १ का वडाध्यक्ष प्रेम लामाले बताए । उनले भने, ‘वडा नं. १ को मर्स्याङ्दी र अँध्येरी खोला किनार क्षेत्रमा प्रति रोपनी ६ लाख रुपैयाँका दरले ३९ रोपनी क्षेत्रफलको जग्गा खरिद गरिएको छ भने करिब ४१ रोपनी क्षेत्रफल जग्गा ऐलानी रहेको छ ।’
‘बन्दिपुर र भानुको सहरी क्षेत्र एउटै रहेको र यहाँको फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ’, वडाध्यक्ष लामाले भने, ‘हाम्रो वडामा फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गरिएको छ, यहाँ फोहोर व्यवस्थापन कार्य अगाडि बढाउनु पूर्व वडाबासीहरुसंग छलफल गरी आउने निष्कर्ष अनुसार अगाडि बढ्छौं ।’
भानु नगरपालिकाले उक्त स्थानमा ल्याण्डफिल्ड साइटको व्यस्थित रुप सरसफाई स्रोत व्यवस्थापन केन्द्रका रुपमा विकास गर्ने योजना बनाएको वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताए । उनका अनुसार नगरपालिकाले कुहिने फोहोर घरघरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोरलाई मात्र स्रोत व्यस्थापन केन्द्रमा ल्याउने योजना बनाएको छ ।
‘दुइ पालिका बीच संयुक्त रुपमा फोहोर व्यवस्थापन कार्य गर्दा साँझेदारीको विकास हुन्छ’, उनले भने, ‘फोहो व्यवस्थापनमा केही समस्या आएमा समाधानका लागि सहज हुने, आवश्यक पूर्वाधार निर्माण तथा अन्य कार्यकालागि माग गर्न पहुँच स्थापित हुने लगायतका फाइदा समेत हुने भएकाले सबै पक्षमा सहमति गरी अगाडि बढ्न सक्नुपर्छ ।’
भानु नगरपालिकामा पनि फोहोर व्यवस्थापनका पाटो जटिल बन्दै गएको हुँदा कुहिने फोहोर घरघरमै व्यवस्थापन गर्ने, नकुहिने फोहोर मात्र व्यवस्थापन केन्द्रमा केही दिन राखेर बिक्रीका लागि अन्य संस्थाहरुसंग समन्वय गरी रिसाइकल गर्ने तथा पुनःप्रयोग गर्ने गरी सरसफाई स्रोत व्यवस्थापन केन्द्रका रुपमा विकास गरी फोहोरबाटै आम्दानी लिने नगरपालिकाको लक्ष्य रहेको पाण्डेले बताए ।










