पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम

बन्दीपुर : ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । “व्यावसायिक सफलताको एक आधारः बाख्रामा नश्ल सुधार” भन्ने नारासहित आइतबार बन्दीपुरको टुँडिखेलमा आयोजित कार्यक्रममा जिल्लाभरका किसान, जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, तनहुँद्वारा आयोजित कार्यक्रमले बाख्रापालनलाई आयआर्जन, रोजगारी र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा अघि सारेको छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष यमप्रसाद आचार्यले सहजिकरण गरेको कार्यक्रममा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु आचार्यले कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय सरकारले बाख्रापालनलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै नश्ल सुधार, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनमा सहकार्य विस्तार गरिने बताए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले युवा र महिलालाई लक्षित व्यावसायिक बाख्रापालनले गाउँमै रोजगारी र समृद्धिको ढोका खोल्ने उल्लेख गरे ।

कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा अध्यक्षहरू शिवकुमार श्रेष्ठ र तिलकबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो । उनीहरूले उत्पादनदेखि बजारीकरणसम्म स्थानीय तहको भूमिका निर्णायक हुने बताए ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारीले किसानमुखी नीति र संस्थागत सहकार्य अपरिहार्य रहेको बताए भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रबिन्सन अधिकारीले रोग नियन्त्रण, खोप कार्यक्रम र प्राविधिक सेवाको पहुँच विस्तारमा जोड दिए ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यको अध्यक्षतामा भएको प्राविधिक सत्रमा अनुसन्धान र किसानबीचको दूरी घटाउँदै व्यवहारिक परिणाममा केन्द्रित हुनुपर्ने विषय उठान गरिएको थियो ।

कार्यक्रमका अवसरमा पशुसेवा शाखाको सिफारिसका आधारमा जिल्लाका विभिन्न पालिकाबाट छनोट गरिएका २० जना उत्कृष्ट बाख्रापालक कृषकलाई सम्मान गरिएको छ । सम्मानित कृषकहरूमा बन्दीपुर गाउँपालिका–६ की रिता चित्रकार, बन्दीपुर–१ की भागीरथी अधिकारी, भानु नगरपालिका–१० का धनबहादुर गुरुङ, भानु–४ की आसामाया कुमाल, ऋषिङ गाउँपालिका–२ का नारायण राना, ऋषिङ–५ का माधव गौतम, म्याग्दे–५ का सामेल गुरुङ, म्याग्दे–६ का दानबहादुर आले, घिरिङ–२ की सिता थापा, घिरिङ–३ का किशान श्रेष्ठ, आँबुखैरेनी–१ का पूर्णबहादुर मगर, आँबुखैरेनी–४ का बुद्धिबहादुर गुरुङ, व्यास नगरपालिका–१० का बाबुराम पौडेल, व्यास–१४ का सन्तोष आले, शुक्लागण्डकी नगरपालिकाका अभिषेक थापा मगर र पाण्डव लामिछाने, भिमाद–९ का शिवकुमार आले र याममाया क्षेत्री तथा देवघाट गाउँपालिका–३ का मोहनकुमार श्रेष्ठ र गौरिमान आले रहेका छन् ।

आयोजकका अनुसार दुर्गम क्षेत्रमा निरन्तर मेहनत गरेका कृषक, महिला तथा आदिवासी जनजाति समुदायका कृषक, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गरेका युवा तथा पकेट प्रणालीमार्फत सामूहिक उत्पादन बढाएका कृषकलाई सम्मान गरिएको हो। कार्यक्रमले बाख्रापालनलाई दिगो, व्यावसायिक र सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण विकासको बलियो आधार बन्न सक्ने सन्देश दिएको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker