भानुका शिक्षकहरुलाई पहिलो समूहको एआई तालिम, विद्यालय शिक्षा रुपान्तरणमा प्रविधिको प्रयोगमा जोड

भानु : तनहुँको भानु नगरपालिकामा विद्यालय तहका शिक्षकहरूका लागि कृतिम बौद्धिकता (Artificial Intelligence–AI) सम्बन्धी तीनदिने तालिम शनिबारबाट सञ्चालन गरिएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीले तालिमको शुभारम्भ गर्दै समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेको बताए । ‘अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ’, उनले भने, ‘एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्न सके विद्यालय शिक्षा व्यवहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछ ।’
उक्त कार्यक्रमको उद्घाटन सत्रमा नगरउपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल लगायतले शिक्षकहरूलाई स्वागत गर्दै तालिमको उद्देश्य, औचित्य र अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए । तालिममा प्रशिक्षकका रूपमा सानोठिमी क्याम्पस, भक्तपुरका उपप्राध्यापक विश्वराज जोशी रहेका छन् ।
विद्यालयको शिक्षण–सिकाइ क्रियाकलापमा आधुनिक सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै कक्षाकोठा शिक्षणलाई प्रविधिमैत्री, आकर्षक, व्यवहारिक र दिगो बनाउने उद्देश्यसहित भानु नगरपालिकामा पहिलोपटक एआई तालिम सञ्चालन गरिएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।
उनले भने, ‘आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षण शैली मात्र पर्याप्त नहुने अवस्था रहेकाले यस प्रकारको तालिमलाई पनि प्राथमिकता साथ अगाडि बढाइएको छ ।’
कार्यक्रममा बोल्दै वक्ताहरूले एआई प्रविधि विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीकेन्द्रित सिकाइ, सिर्जनशीलता विकास र वैयक्तिक क्षमताअनुसार शिक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए । एआईको प्रयोगबाट विद्यार्थीहरूले जटिल विषयवस्तु सजिलै बुझ्ने, अनुसन्धानमुखी सोच विकास गर्ने, समस्या समाधान सीप बढाउने तथा भविष्यको रोजगारी बजारका लागि आवश्यक सीप हासिल गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
तालिमका क्रममा इन्टरनेट पहुँच, इच्छाशक्ति र उपयुक्त उपकरण भएमा एआई प्रविधिबाट पाठयोजना तयार गर्ने, शिक्षण सामग्री विकास, मूल्याङ्कन प्रणाली सरल बनाउने, विद्यार्थीको प्रगति विश्लेषण गर्ने तथा कक्षाकोठालाई अन्तरक्रियात्मक बनाउन सकिने कुरा सहभागीहरूले अनुभूति गरेका छन्। यसले शिक्षकको पेशागत विकास मात्र नभई विद्यार्थीलाई नयाँ आविष्कार, नवप्रवर्तन र विश्वस्तरीय ज्ञानसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित एआई सम्बन्धी तालिम कार्यक्रम समावेश गरेको हो। तालिम तीन चरणमा सञ्चालन हुनेछ। प्रत्येक समूहमा ३० जनाका दरले कुल ९० जना शिक्षकलाई प्रशिक्षित गर्ने लक्ष्य राखिएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।
पहिलो र दोस्रो चरणको तालिम भानु नगरपालिकाको सभाहल, फुस्रेटारमा सञ्चालन हुनेछ भने तेस्रो चरणको तालिम चोक माध्यमिक विद्यालय, भानु–१० रामपुरटारमा आयोजना गरिने भएको छ ।
शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउने नगरपालिकाको यो पहललाई सहभागी शिक्षकहरूले समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिएका छन् ।










