तनहुँमा निर्वाचनको सबै तयारी पूरा : दुई प्रतिनिधिसभा सदस्यका लागि २७ जना उम्मेदवार चुनावी मैदानमा
१ लाख ३० हजार ९०६ महिला र १ लाख २३ हजार ४९१ पुरुष गरी २ लाख ५४ हजार ३९७ मतदाता

तनहुँ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु¥याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।
तनहुँमा विहीबार हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतका कार्यालय तनहुँले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दाे प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद उपाध्यायले बताए ।
‘मतदानदेखि मतपेटीका ढुवानी, व्यवस्थापन र गणनासम्मको सम्पूर्ण व्यवस्थापन गरिएको छ’, मुख्य निर्वाचन अधिकृत उपाध्ययाले भने, ‘एउटै रुटबाट धेरै ल्याउने भन्दा पनि हरेक बुथबाट मिलाएर यथाशीघ्र राती १२ बजेसम्म दुईवटै निर्वाचन क्षेत्रमा संकलन गर्ने र बुझ्नका लागि पनि धेरैभन्दा धेरै टिम खटाएर मात पेटीका बुझ्ने र स्टोर गर्ने सबै व्यवस्थापन मिलाइएको छ ।’
निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको र सुरक्षाको हिसाबले पनि हामी तमतयार अवस्थामा छौँ’, उनले भने, ‘मतदाताहरूलाई पनि ढुक्क भएर निर्भय तरिकाले मतदान गरेर आफ्नो जनप्रतिनिधिहरूलाई चयन गर्न हामी आव्हान गर्छौ ।’
यस्तै, मतगणनाका लागि दुई ठाउँमा तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत उपाध्यायले भने, ‘मतगणना गर्ने क्रममा कुनै विघ्नबाधा नआए, जनप्रतिनिधिहरूले धेरै विवाद नगरे र सहज तरिकाले अगाडि बढाउन सहयोग गरिएमा प्रत्यक्षतर्फको मतगणना गरेको दुई दिनभित्र दुवै निर्वाचन क्षेत्रको नतिजा घोषणा गर्न सक्छौं । समानुपातिक सहितको नतिजा ४ दिनसम्म सम्पन्न गर्ने तयारीमा छौ ।’
यस्तै, मतगणना स्थलको सुरक्ष व्यवस्थालाई पनि कडा पारिएको छ । मतगणनास्थलमा सशस्त्र र जनप्रतिनिधिहरू पनि रहने व्यवस्था गरिएको छ । त्यसको बाहिरी घेराबाट आर्मीहरूले पनि सुरक्षा दिने व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्र नं. २ को मतगणनास्थल शुक्लगण्डकी नगरपालिकाको कार्यालयमा मतगणनाका आवश्यक तयारी गरिएको छ ।
जिल्लाका सबै निर्वाचन केन्द्रमा आवश्यक सामाग्रिसहित निर्वाचन अधिकृत सहितको टोली पुगेर आवश्यक तयारीमा पुरा गरिसकेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा कायम गरिएको १४४ वटा मतदान केन्द्र मध्य ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्य रहेको सूचिमा राखिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए । क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी मैदानमा छन भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलका ११ उम्मेदवारले मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उनले जानकारी दिए ।
यस्तै, निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।
मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शंका गरिरहनु पर्दैन ।’ कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशंकामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे ।
यस निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।










