आँवुखैरेनीले सेवा प्रवाह र विकास निर्माणलाई थप प्रभावकारी बनाउने

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको उपलब्धि, सेवा प्रवाहको अवस्था र विकास निर्माणको समग्र प्रगतिबारे समीक्षा गर्दै अन्तिम त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजि कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी, आँबुखैरेनी अस्पतालका प्रतिनिधि तथा पालिका मातहतका विभिन्न कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा आ–आफ्नो शाखा र वडा कार्यालय मार्फत सम्पादन भएका सेवा प्रवाह, विकास निर्माण तथा योजना–कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा भौतिक तथा वित्तीय प्रगति, नागरिकलाई प्रदान गरिएका सेवा, सञ्चालन भएका कार्यक्रम तथा कार्यसम्पादनका उपलब्धिहरू समेटिएका थिए ।
कार्यक्रममा योजना कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या तथा चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो । साथै आगामी दिनमा सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने तथा विकास निर्माणका योजनाको गुणस्तर, समयमै सम्पन्नता र पारदर्शिता सुनिश्चित गर्ने विषयमा सहभागीहरूबीच छलफल भएको गाउँपालिकाले जनाएको छ ।
समीक्षाका क्रममा आगामी आर्थिक वर्षमा योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउने, शाखाहरूबीच समन्वय बढाउने र नागरिकको अपेक्षा अनुसार सेवा प्रवाहलाई सुधार गर्दै लैजाने विषयमा समेत सुझाव संकलन गरिएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पन्न भएका योजना र कार्यक्रमहरूको शाखागत तथा वडागत विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जनाएको छ । साथै विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नागरिक, सरोकारवाला निकाय तथा सबै पक्षबाट प्राप्त हुने रचनात्मक सुझाव र सल्लाहलाई उच्च प्राथमिकताका साथ ग्रहण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले समीक्षा कार्यक्रमले विगतका कार्यको वस्तुगत मूल्याङ्कन गर्दै आगामी दिनका लागि सुधारका आधार तय गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।










