शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पोखरेल
भञ्ज्याङ समाचारदाता/भानु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका-११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको बुधबार २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने बताए । ‘शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षक लगायतको चासो र चिन्तन आवश्यक छ’, उनले भने, ‘विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’
गण्डकीलाई पूर्ण साक्षर घोषणा गरिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ लगायतले शिक्षालाई प्राथमिकता राखिएको बताए । सो अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कृत गरेका थिए ।










