‘बन्दीपुर भ्रमण वर्ष २०२५’ : पर्यटकको औसत बसाइ ३ दिन पुर्‍याउने लक्ष्य

काठमाडौं । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।

पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व छ ।

‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटन क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमन संख्या वार्षिक २ लाख पुर्‍याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने ।

सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटक संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ ।

‘भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौं,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक ८ लाख पर्यटक बन्दीपुर ल्याउने लक्ष्य छ ।’

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पु¥याइने छ । साथै, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पुर्‍याइने छ ।

हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे (घरबास) साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ ।

यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सिर्जना, होटल तथा रेस्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट प्रवर्द्धन गरिने छ भने विद्यमान पर्यटन केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ,’ उनले भने ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षण सहित याम अनुसार प्याकेज तयार गरिने छ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटन सर्किट प्रवर्द्धन हुने अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए ।

भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाको लक्ष्य छ ।

भ्रमण वर्ष सफल पार्न कूल ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धता समेत राखिएको छ । साथै, नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker