डुम्रेको मनास्लुले जित्यो एनप्याब्सनको दशौं खेलकुद महोत्सवको उपाधि
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे स्थित मनास्लु बोर्डिङ स्कूलले एनप्याब्सन तनहुँको दशौं खेलकुद महोत्सवको उपाधि जितेको छ । शुक्रबारदेखि भई आइतबार सम्पन्न खेलकुद महोत्सवमा कूल १४ पदक जित्दै मनास्लुले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
खेलकुद महोत्सवमा मनास्लुले सात स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको छ । उपाधिसँगै मनास्लुले रनिङशिल्ड ट्रफी समेत प्राप्त गरेको छ ।
प्रतियोगितामा ग्रिनस्टार बोर्डिङ स्कूल द्वितीय भएको छ । ग्रिनस्टारले छ स्वर्ण, पाँच रजत र दुइ कास्य पदक जितेको छ । त्यस्तै पाँच पदक जित्दै लालीगुराँस बोर्डिङ स्कूल तृतीय भएको छ । लालीगुराँसले दुइ स्वर्ण, दुइ रजत र एक कास्य पदक जितेको छ ।
ब्राइट भिलेजले चार, न्यु मनकामनाले चार, दमौली सेकेण्डरी बोर्डिङले तीन, दोभानले दुइ, सतिश बोर्डिङले दुइ, फिस्टेलले चार, तनहुँ ज्ञानगङ्गाले चार, जयबुद्धले दुइ, व्यास मनकामनाले तीन, न्यु मनसुनले एक, तनहुँ तारापुञ्जले एक, मोर्डन चिल्ड्रेनले एक, आदर्श विद्यागृहले एक, न्यु भिजनले एक र पराशरले एक पदक जितेको खेलकुद महोत्सवका संयोजक एवं एनप्याब्सन तनहुँका सहसचिव विश्वास केसीले बताए।
एनप्याब्सनका केन्द्रीय सदस्य सन्त तामाङ, जिल्ला अध्यक्ष रामकृष्ण विक लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा दुइ पटक लगातार रनिङशिल्ड जितेको ग्रिनस्टारलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । आठौ र नवौं खेलकुद महोत्सवको उपाधि व्यास नगरपालिका-५ स्थित ग्रिनस्टार बोर्डिङ स्कूलले जितेको थियो।
२२ विधामा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । खेलकुद महोत्सवमा एथलेटिक्सतर्फ एक सय मिटर, दुइ सय मिटर, चार सय मिटर, आठ सय मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट र भलिबल खेलमा प्रतिस्पर्धा गराइएको थियो। वि.सं. २०७७ र २०७८ मा कोरोना कहरका कारण एनप्याब्सनले खेलकुद महोत्सव सञ्चालन गर्न सकेको थिएन ।