जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
सनद अधिकारी/रासस

नारायणगढ (चितवन) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताउनुभयो । “इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।”
नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसद्मा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”
पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ मुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पार्नुभयो । उहाँले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो । उहाँले आफूले विगत १०–११ वर्षदेखि सुरु गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पार्नुभयो । उहाँले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गर्नुभयो ।
रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उहाँले भन्नुभयो, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।” रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उहाँको भनाइ थियो ।
आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भन्नुभयो, “कतिपयले मलाई सोध्छनु के ललिपप पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको ? म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप ? तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।”
राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो । उहाँले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो । यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उहाँले भन्नुभयो ।
छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताउनुभयो । इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरकफरक दृष्टान्त रहेको उल्लेख गर्दै उहाँले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उहाँले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभएको छ । उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रास्वपाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गर्नुभयो ।
पुनले भन्नुभयो, “भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ । यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोऊन् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ ।” उहाँले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दाबी गर्नुभयो । “हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,” उहाँले भन्नुभयो, “सुशासनको एजेन्डामा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन ।”
सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र सहिदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उहाँले वर्तमान राजनीतिक प्रणालीप्रति रास्वपाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताउनुभयो । पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जान लागेको रास्वपाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न, आरोप र आशङ्काहरूलाई मेट्दै वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्ने विश्वाससमेत नेता पुनले व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दाबी गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले भनन्ुभयो, “इतिहासले तपाईंहरूलाई एउटा यस्तो विशिष्ट अवसर दिएको छ, जुन कुनै पार्टी वा व्यक्तिको जीवनमा बारम्बार आउँदैन । यदि यो अवसर चुक्यो भने, यसले तपाईंको पार्टीलाई मात्र होइन, सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ ।”
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनहरू केबल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्गनिर्देश गर्ने कडी भएको उल्लेख गर्नुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणको दिशामा अघि बढ्नु आजको मुख्य आवश्यकता हो”, अध्यक्ष यादवले भन्नुभयो । उहाँले जनअपेक्षाअनुरूप काम गर्न राजनीतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड दिँदै रास्वपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताउनुभयो । उहाँले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गर्नुभयो ।
संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यस ऐतिहासिक समारोहमा सम्झिएकामा आभार प्रकट गर्दै उहाँले भन्नुभयो, “जुन सपना तपाईंहरूले देख्नुभएको छ, त्यही चाहना मैले पनि देखेको हुनाले म यहाँ कुनै प्रतिस्पर्धीका रूपमा होइन, तपाईंहरूको सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन उपस्थित भएको हुँ ।”
रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । महाधिवेशनमा रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो ।
एसियाली राजनीतिक दलहरूको सङ्गठन, भारतको भारतीय जनता पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारुढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताउनुभयो ।
कार्यक्रममा भरतपुर–२७ का थारु समुदायको डम्फु नाच प्रदर्शन गरिएको थियो भने केन्द्रीय सांस्कृतिक विभागले स्वागत गीत तथा नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेको थियो । महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ ।










