सम्पादकीय : स्वच्छ पानीमा सहज पहुँच – भिमादको अनुकरणीय पहल

पानी जीवनको आधार हो । स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको आधारभूत अधिकार पनि हो । तर, नेपालका धेरै ठाउँमा अझै पनि यात्रु, सर्वसाधारण र बजार क्षेत्रमा आवतजावत गर्ने मानिसले सहज रूपमा शुद्ध पिउने पानी पाउने अवस्था बनेको छैन । कतिपयले बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता छ भने कतिपयले असुरक्षित पानी प्रयोग गर्नुपर्ने अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा तनहुँको भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले भिमाद बजारका तीन स्थानमा निःशुल्क ‘वाटर एटीएम’ सञ्चालनमा ल्याउनु स्वागतयोग्य र अनुकरणीय कदम हो । भिमाद बजारको कुमार चोक, बसपार्क चोक र क्याम्पस रोडमा जडान गरिएका अत्याधुनिक आरओ वाटर प्युरिफिकेसन मेसिनबाट अब जो–कोहीले निःशुल्क शुद्ध पिउने पानी लिन सक्नेछन् । करिब साढे आठ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको यो सेवा केवल एउटा प्रविधिमैत्री परियोजना मात्र होइन, नागरिकको स्वास्थ्य, सुविधा र मानवीय सेवासँग जोडिएको उदाहरण पनि हो ।

 

एक समय थियो, नेपालका गाउँ–सहरमा पाटी, पौवा, चौतारा र धारामा यात्रुका लागि निःशुल्क पानीको व्यवस्था गरिन्थ्यो । बाटो हिँड्ने मानिसलाई पानी खुवाउनु पुण्यको काम मानिन्थ्यो । समाजमा सहयोग, सद्भाव र सेवाको संस्कृति बलियो थियो । समयसँगै जीवनशैली परिवर्तन भयो । ती परम्परा हराउँदै गए। अहिले बजारमा बोतलको पानी किनेर पिउनुपर्ने अवस्था सामान्य बनेको छ । यस्तै परिवेशमा भिमादमा सुरु भएको वाटर एटीएमले पुरानो सेवाभावलाई आधुनिक प्रविधिसँग जोड्ने काम गरेको छ । आज सार्वजनिक स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक स्वच्छ पिउने पानी हो । दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड, जन्डिसलगायत विभिन्न रोग फैलिने जोखिम रहन्छ । अझ गर्मी मौसममा पानीको आवश्यकता बढ्ने भएकाले सुरक्षित पानीको पहुँच झन् महत्वपूर्ण हुन्छ । त्यसैले बजार क्षेत्र, बसपार्क, विद्यालय, अस्पताल, सरकारी कार्यालय र भीडभाड हुने स्थानमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था हुनु नागरिकमैत्री सेवाको महत्वपूर्ण सूचक हो ।

 

भिमादको यो प्रयासले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ । विकास केवल ठूला भवन, सडक वा पुल निर्माणमा मात्र सीमित हुँदैन । नागरिकको दैनिक जीवनलाई सहज बनाउने साना तर प्रभावकारी योजनाले पनि विकासको अनुभूति दिलाउँछन् । यात्रु र सर्वसाधारणलाई सुरक्षित पानी उपलब्ध गराउनु कुनै ठूलो आयोजना नभए पनि यसको प्रत्यक्ष प्रभाव हजारौं नागरिकको स्वास्थ्य र सुविधासँग जोडिएको हुन्छ । यद्यपि, यस्ता सेवा सुरु गर्नु मात्र पर्याप्त हुँदैन। यसको दिगोपनालाई उत्तिकै महत्व दिनुपर्छ । पानीको गुणस्तर नियमित परीक्षण, फिल्टर समयमै परिवर्तन, मेसिनको मर्मतसम्भार तथा सरसफाइमा कुनै सम्झौता हुनु हुँदैन। यदि नियमित व्यवस्थापनमा कमजोरी आयो भने यही सेवा स्वास्थ्यका लागि जोखिमसमेत बन्न सक्छ । त्यसैले सञ्चालन गर्ने संस्थाले गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई व्यवहारमा पनि निरन्तरता दिनुपर्छ । यस्तै, नागरिकको जिम्मेवारी पनि कम छैन । सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति हो भन्ने भावना विकास हुनुपर्छ । वाटर एटीएमलाई तोडफोड गर्ने, अनावश्यक रूपमा पानी खेर फाल्ने वा घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा पानी लैजाने प्रवृत्तिले सेवाको उद्देश्यलाई कमजोर बनाउँछ । आवश्यकता अनुसार मात्र पानी प्रयोग गर्ने, सरसफाइ कायम राख्ने र मेसिनको संरक्षण गर्ने दायित्व प्रत्येक नागरिकको हो ।

यस अभियानबाट अर्को सकारात्मक सन्देश पनि प्राप्त हुन्छ । स्थानीय तह, खानेपानी उपभोक्ता समिति र समुदायबीचको सहकार्यबाट नागरिकका लागि प्रभावकारी सेवा दिन सकिन्छ भन्ने उदाहरण भिमादले प्रस्तुत गरेको छ । यदि यस्ता अभ्यास सफल भए भने अन्य नगरपालिका तथा गाउँपालिकाले पनि आफ्ना बजार, पर्यटकीय क्षेत्र, बसपार्क, स्वास्थ्य संस्था र सार्वजनिक स्थलमा यस्तै सेवा विस्तार गर्न सक्छन् । यसले बोतलको पानीमा हुने अनावश्यक खर्च घटाउनुका साथै एकपटक प्रयोग हुने प्लास्टिकजन्य फोहोर पनि कम गर्न मद्दत पु¥याउनेछ ।

 

नेपालले सुरक्षित खानेपानी र सरसफाइलाई दिगो विकास लक्ष्यसँग जोडेको छ । ती लक्ष्य हासिल गर्न सरकारका मात्र होइन, समुदाय र स्थानीय संस्थाका यस्ता साना तर प्रभावकारी प्रयासको पनि ठूलो भूमिका हुन्छ। भिमादको वाटर एटीएम सेवा त्यही दिशामा अघि बढेको एउटा सकारात्मक अभ्यास हो । अन्ततः, नागरिकको जीवनस्तर सुधार्ने काम सधैं ठूलो बजेट वा विशाल आयोजनाबाट मात्र सम्भव हुँदैन । सही सोच, सेवाभाव र दिगो व्यवस्थापनका साथ सञ्चालन गरिएका साना योजनाले पनि समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन् । भिमादमा सुरु भएको निःशुल्क शुद्ध पिउने पानी सेवा त्यसैको उदाहरण हो । अब आवश्यक कुरा यसको प्रभावकारी सञ्चालन, संरक्षण र निरन्तरता हो । यस्तो सेवाले भिमादलाई मात्र होइन, देशभरका स्थानीय तहलाई पनि नागरिकमैत्री र जनस्वास्थ्य केन्द्रित विकासका लागि प्रेरणा दिने विश्वास गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker