मौसम परिवर्तनका कारण तनहुँका अस्पतालहरुमा बिरामी बढे

दमौली : मौसम परिवर्तन भएसँगै तनहुँको दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढ्दै गएका छन्। जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।
सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर तनहुँका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको संख्यामा वृद्धि भएको हो ।
प्रदेश अस्पताल दमौलीका अनुसार फागुनदेखि नै मौसमजन्य रुघाखोकी, भाइरल ज्वरो र घाँटी दुख्नेलगायतका समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन बरालका अनुसार अस्पतालमा अहिले दैनिक ४५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये दैनिक १५० भन्दा बढी भाइरल रोगजन्य बिरामी रहेको डा. बरालले बताए ।
‘‘मौसम परिवर्तन हुने बेलामा मौसमजन्य बिरामीको संख्या बढ्छ।’’ उनले भने, ‘‘यो क्रम अझै केही समयमा बढ्छ ।’’ बेलैमा सजगता नअपनाउने हो भने मौसमजन्य प्रकोपले ज्यानै जान सक्ने उनले बताए ।
यस्तै, तनहुँकै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पनि रुघाखोकी, भाइरल ज्वरो तथा टाउको दुख्ने जस्ता संक्रमणजन्य बिरामी बढेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले महिला तथा बालबालिकामा अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको बताए ।
उनले मौसममा आउने परिवर्तनका कारण केही समय यस्ता बिरामीको संख्या बढ्ने उल्लेख गरे । उनका अनुसार जाडो सकिएर गर्मी लाग्दै गएकाले भाइरल ज्वरो, रुघाखोकीलगायतका बिरामीको संख्यामा वृद्धि भएको हो । ‘‘अहिले अस्पतालमा २५० भन्दाबढी दैनिक ओपिडीका बिरामी पुगेको छ ।’’ डा. श्रेष्ठले भने, ‘‘जसमा ज्वरो र रुघाखोकीका डेढ सय जति दैनिक हुन्छन ।’’
यस्तै दमौलीकै निजी अस्पतालहरुमा पनि बिरामीको संख्या दैनिक बढ्दै गएको मिर्लुङ पोलिक्लिनिक दमौलीका रामचन्द्र अधिकारीले बताए । अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्ने लगायतका सुझाव–सल्लाह दिने गरिएको छ ।










