गुरु पूर्णिमा दिवसका अवसरमा व्यास जन्मभूमिमा तीनदिने विशेष कार्यक्रम

दमौली : व्यास अवतरण तथा गुरु पूर्णिमा दिवसको अवसरमा तनहुँको व्यास जन्मभूमिमा तीन दिनसम्म विविध धार्मिक, सांस्कृतिक तथा बौद्धिक कार्यक्रम आयोजना गरिने भएको छ ।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत साउन ११ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रम सार्वजनिक गर्दै महर्षि वेदव्यासको योगदान, संस्कृत भाषा, सनातन संस्कृति तथा व्यास जन्मभूमिको ऐतिहासिक महत्व नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले व्यास अवतरण तथा गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, दर्शन, सभ्यता र संस्कृतिको संरक्षणसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार साउन ११ गते व्यास गुफास्थित सभाहलमा संस्कृत भाषाका लेख तथा रचनाहरू वाचन गरिनुका साथै महर्षि वेदव्यासको जीवन, कृतित्व र योगदानबारे प्रवचन कार्यक्रम सञ्चालन हुनेछ। यस्ता कार्यक्रमले संस्कृत भाषा र वैदिक परम्पराप्रति युवापुस्ताको आकर्षण बढाउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत साउन १२ गते व्यास नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार रुपैयाँ, द्वितीयलाई ५ हजार रुपैयाँ, तृतीयलाई ३ हजार रुपैयाँ तथा सान्त्वना हुनेलाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीलाई व्यास जन्मभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे अध्ययन र अनुसन्धान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
साउन १३ गते बिहान ७ बजेदेखि अनसन चौतारीबाट बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिने कार्यक्रम छ । व्यास नगरपालिका परिसरमा रहेको महर्षि व्यासको पूर्णकदको शालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरिनेछ। त्यसपछि बजार परिक्रमा गर्दै व्यास गुफास्थित सभाहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान्हरूबाट विशेष प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा व्यास अध्येता एवं संरक्षक काशीनाथ न्यौपानेले व्यास जन्मभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वअनुसार यसको संरक्षण र विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे। व्यास जन्मभूमिको ऐतिहासिक पहिचान संरक्षण गर्दै यसको महत्व विश्वसामु उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उन बताए ।
कोषका महासचिव विष्णुभक्त सिग्देलले सहजिकरण गरेका कार्यक्रममा कोषका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।










