सडक विस्तारसंगै मर्मतमा जोड : एक वर्षमा ट्रयाक, ग्राभेल, कालोपत्र र ढलान, ११६ किलोमिटर सडक मर्मत

दमौली : सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार विस्तार तथा मर्मतसम्भारलाई प्राथमिकता दिँदै विभिन्न आयोजना तथा कार्यक्रम सम्पन्न गरेको छ । नयाँ सडकको ट्रयाक खोल्नेदेखि ग्राभेल, कालोपत्र, ढलान तथा विद्यमान सडकको नियमित मर्मतसम्मका काम कार्यालयले एक वर्षको अवधिमा अघि बढाएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३.२ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न क्षेत्रमा ट्रयाक निर्माण भएपछि स्थानीयस्तरको आवागमनमा सहजता आएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख ई. राजिव श्रेष्ठले बताए ।

त्यस्तै, ७.३० किलोमिटर सडक ग्राभेल गरिएको छ । व्यास नगरपालिका र घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा ग्राभेलको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । सडकको पहुँच विस्तारसँगै वर्षायाममा समेत स्थानीय आवागमनलाई सहज बनाउन यसले सहयोग पुगेको श्रेष्ठको भनाइ छ ।

गत आवमा कार्यालयले २.६० किलोमिटर सडक कालोपत्र गरेको छ भने ३.१६ किलोमिटर सडक ढलान गरिएको छ । व्यास, आँबुखैरेनी र घिरिङ गाउँपालिका अन्तर्गतका विभिन्न सडकमा कालोपत्र तथा ढलानको काम गरिएको हो ।

नयाँ सडक निर्माण र स्तरोन्नतिसँगै विद्यमान सडकलाई सञ्चालनयोग्य राख्न कार्यालयले नियमित तथा पटके मर्मतलाई समेत प्राथमिकता दिएको छ । कार्यालयको कार्यक्षेत्रमा रहेका ११६.५० किलोमिटर सडकमध्ये ८०.५० किलोमिटर राष्ट्रिय राजमार्ग र ३६ किलोमिटर सहायक राजमार्गमा नियमित तथा पटके मर्मत गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

मर्मतअन्तर्गत सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, बिग्रिएका संरचना सुधार गर्ने तथा सडकलाई सुरक्षित र सञ्चालनयोग्य अवस्थामा राख्ने काम गरिएको छ । विशेषगरी वर्षायाममा सडकमा देखिने समस्या तत्काल समाधान गरी यातायात सञ्चालनमा सहजीकरण गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी लामो समयदेखि कार्यान्वयनमा समस्या देखिएका पाँच वटा रुग्ण ठेक्का तोडिएको कार्यालयले जनाएको छ । निर्धारित समयमा काम अघि बढाउन नसकेका तथा विभिन्न कारणले लामो समयदेखि अलपत्र बनेका ठेक्काको व्यवस्थापनलाई प्राथमिकता दिइएको श्रेष्ठले बताए ।

रुग्ण ठेक्का व्यवस्थापनमार्फत लामो समयदेखि काम अघि बढ्न नसकेका सडक आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडि बढाउने वातावरण बनेको कार्यालयको अपेक्षा छ । ठेक्का सम्झौता भएर पनि समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका कारण सडक आयोजना लामो समय अलपत्र पर्ने समस्या समाधानका लागि कार्यालयले ठेक्का व्यवस्थापनलाई प्राथमिकता दिएको हो ।

सडक निर्माण तथा मर्मतका कार्यक्रमले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न कार्यक्रमअन्तर्गत २७७ जना निर्माणकर्मीले आंशिक रोजगारी पाएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत ८० जना, वैकल्पिक सहायक राजमार्ग कार्यक्रमअन्तर्गत ७५ जना, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत ६५ जना, सडक बोर्ड मर्मतअन्तर्गत ३२ जना र सडक बोर्ड मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत ३५ जना निर्माणकर्मीले रोजगारी पाएको कार्यालयले जनाएको छ ।

सडक डिभिजनले नयाँ पूर्वाधार निर्माणसँगै पुराना सडकको संरक्षण र नियमित मर्मतलाई पनि उत्तिकै महत्व दिएको जनाएको छ। सडक विस्तार भए पनि नियमित मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा समस्या आउन सक्ने भएकाले सडकको अवस्था हेरेर तत्काल मर्मत गर्ने व्यवस्था गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

सडक पूर्वाधारको विस्तार, स्तरोन्नति र नियमित मर्मतले जिल्लाका विभिन्न स्थानीय तहबीचको आवागमनसँगै राष्ट्रिय तथा सहायक राजमार्गमा यातायात सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker