व्यासको गजुरे स्वास्थ्य चौकीको उद्घाटन : आधारभूत स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने

दमौली : तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीको भवन उद्घाटन तथा सेवा विस्तार गरिएको छ । स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव क्रमशः हट्ने भएको छ । बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको स्वास्थ्य चौकीले विशेषगरी व्यास–७, ९ र १० का हजारौँ नागरिकलाई गाउँनजिकै उपचार र स्वास्थ्य परामर्श उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
यसअघि सामान्य स्वास्थ्य परीक्षण, औषधि उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य सेवा वा अन्य आधारभूत उपचारका लागि स्थानीयवासीले टाढाका स्वास्थ्य संस्था वा सदरमुकामसम्म पुग्नुपर्ने अवस्था थियो । नयाँ स्वास्थ्य चौकी सञ्चालनसँगै समय, खर्च र यात्राको झन्झट घट्ने विश्वास गरिएको छ ।
स्वास्थ्य चौकी उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले त्यसलाई सहज र सर्वसुलभ बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य संस्थाको स्थापना मात्र नभई गुणस्तरीय सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले स्वास्थ्य सेवा गाउँसम्म पुग्नु नै समावेशी विकासको आधार भएको धारणा राखे । उनका अनुसार पूर्वाधार निर्माणसँगै दक्ष जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी व्यवस्थापन भएमा मात्रै नागरिकले वास्तविक लाभ लिन सक्छन् ।
गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु सकारात्मक कदम भएको बताइन् । वडा नम्बर ९ का अध्यक्ष तथा व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले गजुरे क्षेत्रमा स्वास्थ्य संस्था स्थापना स्थानीयवासीको लामो समयदेखिको माग रहेको उल्लेख गर्दै अब त्यसलाई गुणस्तरीय सेवाको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
स्थानीय सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि स्वास्थ्य चौकी सञ्चालनलाई स्वागत गर्दै भवन निर्माणसँगै औषधि, उपकरण र स्वास्थ्यकर्मीको नियमित उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारले आकस्मिक उपचारदेखि नियमित स्वास्थ्य सेवासम्म नागरिकको भरोसा बढाउनेछ ।
गजुरे स्वास्थ्य चौकी सञ्चालनलाई व्यास नगरपालिकाको विकेन्द्रीकृत स्वास्थ्य सेवा विस्तार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय तहकै नजिक आधारभूत उपचार उपलब्ध हुन थालेपछि ग्रामीण समुदायको स्वास्थ्य सेवामा पहुँच अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।










