बन्दीपुर अस्पतालले गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउँदै

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले असोज र कात्तिक महिनामा विभिन्न विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल परिसरबाट विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पनि सञ्चालन गर्न लागिएको हो ।
अस्पताल व्यवस्थापन समितिको निर्णय तथा वार्षिक स्वीकृत कार्यक्रमअनुसार असोज र कात्तिक महिनाका तोकिएका शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अस्पताल परिसरमै विभिन्न विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष सेवा उपलब्ध गराइने मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले जानकारी दिए ।
उनका अनुसार असोज १७ गते हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवासँगै सुगर, प्रेसर, दम, मुटु, मिर्गौलालगायत दीर्घरोग भएका बिरामीलाई लक्षित गरी इन्टर्नल मेडिसिन विशेषज्ञ सेवा सञ्चालन हुनेछ ।
यस्तै, असोज २४ गते स्त्री तथा प्रसूति रोग र बालरोग विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । कात्तिक १४ गते रेडियोलोजिस्टद्वारा भिडियो एक्स–रे सेवा तथा नाक, कान र घाँटी रोग विशेषज्ञ सेवा सञ्चालन हुनेछ भने कात्तिक २१ गते छाला तथा यौन रोग र मानसिक रोग विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
अस्पतालले आगामी मंसिरदेखि मासिक रूपमा हरेक हप्ता दुई प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने योजना समेत बनाएको छ ।
गाउँगाउँमै स्वास्थ्य परीक्षण
यस्तै, अस्पतालले विशेषज्ञ तथा चिकित्सकीय परामर्शलाई गाउँस्तरसम्म पु¥याउने उद्देश्यले असोज महिनामै पालिकाका विभिन्न वडामा रहेका आधारभूत स्वास्थ्य संस्थामार्फत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।
निर्धारित तालिकाअनुसार वडा नं. ३ को सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा असोज १३ गते मंगलबार, वडा नं. २ को कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा असोज १४ गते बुधबार र वडा नं. ५ को कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्रमा असोज १६ गते शुक्रबार स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
त्यसैगरी, वडा नं. ६ को साराङघाट सहरी स्वास्थ्य सेवा केन्द्रमा असोज २० गते मंगलबार र सोही वडाको धरमपानी स्वास्थ्य चौकीमा असोज २१ गते बुधबार चिकित्सकीय परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।
अस्पतालले विशेषज्ञ सेवा तथा चिकित्सकीय परामर्शलाई अस्पतालको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीसम्म पु¥याउने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ ।
कार्यक्रम सञ्चालनका क्रममा प्राप्त हुने रचनात्मक तथा सकारात्मक सुझावका आधारमा अस्पतालका सेवाहरूलाई थप सेवाग्राहीमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रयास जारी रहने मेडिकल सुपरिटेन्डेन्ट डा. गिरीले बताए ।










