मुग्लिन–पोखरा सडक निर्माण अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने लक्ष्य, तीन मुख्य अवरोध हटे

तनहुँ : लामो समयदेखि विभिन्न अवरोधका कारण प्रभावित हुँदै आएको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँचमार्गका लागि जग्गा प्राप्ति र दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणसम्बन्धी समस्या समाधान भएपछि जामुने–पोखरा खण्डको निर्माणले गति लिएको हो ।
पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरी निर्माणमा देखिएका मुख्य अवरोध हटाएपछि आयोजनाको काम अघि बढेको मन्त्रालयका इन्जिनियर सुनिल लाम्सालले जानकारी गराएका छन् ।
उनका अनुसार पश्चिम खण्डमा निर्माण प्रभावित हुनुका तीन मुख्य कारणमध्ये विद्युत् पोल स्थानान्तरणको काम सम्पन्न भएको छ । मादी पुलको पहुँच सडक निर्माणका लागि आवश्यक जग्गासम्बन्धी विवाद समाधान गरिएको छ । त्यस्तै, दमौली सडक डिभिजन कार्यालयको नयाँ भवन निर्माणका लागि सहमति जुटाएर टेन्डर प्रक्रियामार्फत काम अघि बढाइएको छ ।
यी समस्या समाधान भएसँगै पर्यटकीय सहर पोखरा तथा गण्डकी प्रदेशको प्रमुख प्रवेशद्वार जोड्ने मुग्लिन–पोखरा सडक आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।
आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुने सडक निर्माण सम्पन्न भइसकेको छ । जामुनेदेखि पोखरासम्मको ३८ दशमलव ४१ किलोमिटर पश्चिम खण्ड आगामी नोभेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको लाम्सालले बताए ।
पश्चिम खण्डमा पुललगायत प्रमुख संरचनाको निर्माण अधिकांश सम्पन्न भइसकेको छ । चार लेनको मुख्य सडक निर्माणको काम पनि पूरा भएको छ । कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।
फुटपाथ तथा बाँकी करिब छ किलोमिटर सर्भिस लेनको निर्माण भने पूरा हुन बाँकी छ । विद्युत् पोल स्थानान्तरणको समस्या समाधान भएसँगै यी कामलाई तीव्रता दिई नोभेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
मादी आर्क ब्रिज तयार
आयोजनाअन्तर्गतको ३१० मिटर लामो मादी आर्क ब्रिजको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ । अहिले पुलको फिनिसिङ तथा पहुँच सडक निर्माणको काम भइरहेको छ ।
त्यस्तै, १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी काम आगामी अप्रिलसम्म पूरा गर्ने निर्माण तालिका रहेको लाम्सालले जानकारी दिए । आयोजनाले सडक निर्माणसँगै सडक सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ । जोखिमयुक्त पहिरोको दिगो रोकथामका लागि थप अध्ययन गरी ठेक्का प्रक्रियामा लैजाने काम अन्तिम चरणमा पुगेको छ ।
मुग्लिन–आँबुखैरेनी सडकमा पनि नयाँ योजना
यस्तै, मुग्लिनदेखि आँबुखैरेनीसम्मको करिब आठ किलोमिटर सडकखण्डमध्ये करिब चार किलोमिटर सडक मस्र्याङ्दी नदीपारिबाट निर्माण गर्ने योजना अघि बढाइएको छ । यसका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको लाम्सालले बताए ।
मुग्लिन–पोखरा सडक आयोजना सम्पन्न भएपछि राजधानी काठमाडौंलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरासँग जोड्ने सडकको यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । निर्माणका क्रममा रहेका बाँकी संरचना, सर्भिस लेन, फुटपाथ तथा सडक सुरक्षासम्बन्धी काम समयमै सम्पन्न गर्नु आयोजनाको मुख्य चुनौती रहेको छ ।










