संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/स्याङ्जा

पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ । तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ ।
तीज गीतका नाममा छाडा गीत, रत्यौलीलगायतका संस्कृति भन्दा बाहिरको विषय हावी भएको भन्दै तीज पर्व र तीज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तीज गीत प्रतियोगिता आयोजना गरिएको नगरउपप्रमुख भगवती अर्यालले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुनेले तीजको वास्तविक मर्ममा रहेर प्रस्तुति दिनुपर्ने नियम बनाइएको बताउनुभयो ।
“करिब १५ वर्ष पहिले मादल, खैजरी, मजुरालगायतका स्थानीय बाजामा नारीका समस्या, बेदना र समाधान समेटिएका तीजका गीत भनिने हुन्थ्यो, गीतमा लय पनि फरक हुन्थ्यो”, उपप्रमुख अर्यालले भन्नुभयो, “अहिलेका तीजका गीत रत्यौली जस्ता छन्, नारीका समस्या, बेदना र समाधान भेटिँदैनन्, जसले गर्दा तीजको वास्तविक मर्म हराउँदै जान थालेको छ ।” उहाँले तीजमा लगाउने पोशाक र तीजको दर खाने प्रवृत्तिमा पनि विकृति आएको बताउनुभयो ।
“तीजमा सामान्य पोशाकमा रमाउने दिन हराएका छन्, महँगा कपडा र गहना लगाउनैपर्ने जस्तो देखिएको छ, होटल, पार्टीप्यालेसमै दर खानर्ुपर्छ भन्ने नजिर पनि बस्न खोजे जस्तो छ”, अर्यालले भन्नुभयो, “यी दुवै खराब संस्कृतिका विरुद्ध पनि हामीले तीज गीत प्रतियोगितामार्फत अभियान चलाएका छौँ ।
हाल भिरकोटका नौवटै वडामा क्रमशः मौलिक तीज गीत प्रतियोगिता सञ्चालन भइरहेको छ । नगरपालिकाले तीज गीतको मौलिकता संरक्षण गर्न वडा तहदेखि नै मौलिकता समेटिएका शब्दमा मूल्याङ्कन गरेर प्रतिस्पर्धा गराएको हो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुको समस्या गीतका माध्यमबाट जान्ने अवसर मिलेको बताउनुभयो । “गीतका माध्यमबाट पोखिएका समस्या टिपेर समाधान गर्नेतर्फ नगरपालिका लाग्न सहज हुने देखिएको छ”, उहाँले भन्नुभयो, “मौलिक प्रतियोगितामा उत्साहजनक सहभागिता देखिएको छ, आशा छ नगरपालिकाको अभियान सार्थक बन्नेछ ।”
कार्यपालिका सदस्य विन्दु खड्काले भदौ २० गतेदेखि सुरु भएको प्रतियोगिता असोज १ गते हरितालिका तीजका दिन नगरपालिकाको सिटीहल बयरघारीमा समापन हुने जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रतियोगिता सम्पन्न भएको छ भने शुक्रबार वडा नं ८ मा प्रतिस्पर्धा हुनेछ । वडामा विजेता भएका समूहबीच सिटी हलमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गराइने छ ।
खड्काले वडामा पहिलो हुने समूहलाई रु १५ हजार, दोस्रो हुने समूहलाई रु १० हजार, तेस्रो हुने समूहलाई रु पाँच हजार र सान्त्वनास्वरुप रु दुइ हजार पुरस्कार दिइने बताउनुभयो । वडामा पहिलो भएका आमासमूहले फाइनल प्रतिस्पर्धामा अनिवार्य सहभागिता जनाउनर्ुपर्ने नियम छ । उहाँले फाइनल प्रतियोगितामा पहिलो हुने समूहलाई रु २५ हजार, दोस्रो हुने समूहलाई रु १५ हजार, तेस्रो हुने समूहलाई रु १० हजार र सान्त्वनास्वरुप रु पाँच हजार नगदसहित प्रमाणपत्र दिइने जानकारी दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker