नेकपा शुक्लागण्डकी नगर कमिटीको खबरदारी

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा संकट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबपार ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो ।
कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइराला मार्फत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुली मार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक संघर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पुर्याएको ज्ञापनपत्रमा उल्लेख छ । कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ ।
कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पंक्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट गर्नुभयो । कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गनि नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशंका बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताए ।










