संरक्षणको पर्खाइमा रामायण भवन

- सानेबहादुर नेपाली (तनहुँ)
आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन् । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् । यिनै राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अहिले संरक्षणको पर्खाइमा छ । संरक्षण कसले गर्ने भन्ने विषयमा विवाद भएपछि भानुभक्तको जन्मस्थल तनहुँको भानु नगरपालिका-४ स्थित शिखरकटेरीमा बनेको रामायण भवन अलपत्र परेको हो । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्न नेपाल सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । भानुभक्त र जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ०५२ मा गठन गरिएको जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो ।
आदिकविको स्मृतिमा रामायण भवन निर्माण भए पनि यसको संरक्षणका लागि आधिकारिक कुनै पनि निकाय नहुँदा मियो बिनाको दाइँ जस्तो बन्दै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयको पर्यटन विभाग मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब तीन करोडको लागतमा २०५२ सालमा उक्त समिति गठन गरिएको थियो । नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेपछि अलपत्र बन्दै गएको भानु नगरपालिका-४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो । उहाँले रामायण भवन निर्माण सम्पन्नपछि संरक्षणका लागि कार्यपालिका बैठकमा पटक-पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । यसअघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ । भवन निर्माण पूरा भए पनि रामायण भएका श्लोक, रामायण सम्बन्धी तस्बिर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढंगले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको छ ।
भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणाधीन संरचनाको संरक्षण र संवर्द्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको भानु नगरपालिकाले जनाएको छ । अहिले राजनीतिक नियुक्ति नगरिएको र भएका कर्मचारीले समेत राजीनामा दिएर जान थालेपछि समस्या झन बढ्दै गएको छ ।विघटित समिति पनि पुनःगठन हुन नसक्नेलगायतका कार्यले आदिकविका नाममा निर्माणाधीन संरचना संरक्षणको अलवामा अलपत्र बन्दै गएका छन् । भानु नगरपालिकाले जन्मस्थल विकास समितिको रेखदेख गर्ने जिम्मेवारी लिँदै आए पनि आधिकारिक निकाय भने नभएको बताइएको छ । आफ्नो पालिकाभित्रको साहित्यिकस्थल भएकाले चासो देखाए जस्तो गरे पनि यसको संरक्षणबाट नगरपालिका पन्छिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिनेस्थल जस्तै बन्दै गएको समितिका खरिदार शिवभक्त रानाभाटले जानकारी दिनुभयो ।वनकोबीच भागमा निर्मित रामायण भवनमा एक्लै कोही व्यक्ति जान नसक्ने बताउँदै उहाँले आज सरसफाइ गरेर चाबी लगायो भोलिपल्ट जाँदा चाबी खोलेको र जथाभावी फोहर गरेको मात्रै देख्न सकिने उहाँले बताउनुभयो । भवनमा भानुभक्तका निर्माणधीन संरचना समेत तोडफोड हुने गरेकाले समयमा ध्यान दिन नसकिए अरु क्षति व्यहोर्नुपर्ने देखिएको स्थानीयवासीको भनाइ छ ।
संघले प्रदेशलाई, प्रदेशले नगरपालिकालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम भइरहेकाले भवन अलपत्र बन्दै गएको भानु नगरपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन विभागलेसमेत समितिसँग कुनै पनि समन्वय नगरी कार्य गरेका कारण पनि भवन संरक्षणमा समस्या देखिएको रानाभाटले बताउनुभयो । भानु जन्मस्थल विकास समितिले जन्मस्थल क्षेत्रमा निर्मित र निर्माणाधीन संरचनाको संरक्षण र सम्बर्द्धन गर्दै आएकोमा हाल समितिबिहीन भएकाले संरक्षण गर्न कठिनाई भएको भानुनगरपालिकाका प्रमुख उदयराज गौलीको भनाइ छ । संरक्षण तथा पर्यटक गाईड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यकपर्ने र पालिकाले सिधँै कर्मचारी भर्ना गर्न नमिल्ने बताउँदै उहाँले सङ्घको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिबिहीन बन्न पुगेको जानकारी दिनुभयो ।
भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा तनहुँको चुदी रम्घामा भएको हो । मोतीराम भट्टले लेख्नुभएको लेखमा विसं १९०७ सालको वैशाख महिनामा तराइमा जागिरे भएर गए र १९०९मा जागिर खोसिएको र हरहिसाब बुझाउन नसकेपछि पाँच महिना थुनिएको देख्न सकिन्छ । नजरबन्दमा परेका अवसरमा रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दरकाण्डको उहाँले रचना गर्नुभएको थियो । नजरबन्दपछि उहाँले युद्धकाण्ड र उत्तरकाण्ड लेख्नुभएको थियो । मोतीराम भट्टले भानुभक्तको रामायणलाई सङ्कलन गरी छपाउने र प्रचारप्रसार गर्नुभएको हो ।
एक् दिन् नारद सत्य लोक पुगिगया लोक्को गरौं हित भनि
ब्रम्हृा ताहि थिया पर्या चरणमा खुशी गराया पनि ।
क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्हृाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ।।
भानुभक्तका यस्ता युगजयी रचनाले अहिले पनि नेपाली साहित्याकाशमा राम्रो स्थान पाएका छन्। जन्मस्थल विकास समितिमा कार्यरत कर्मचारीले एघार वर्षदेखि पूरा तलब नपाएको गुनासो गरेका छन् । वर्षा जम्मा पाँच छ महिनाको तलब बुझ्ने गरेको समितिमा कार्यरत खरिदार शिवभक्त रानाभाटले बताउनुभयो । पूँजीगत खर्च रु दश लाख पठाउँदा उक्त रकमले विकास निर्माणका काम र चालू खर्च पाँच लाख पठाउँदा कर्मचारीले तलब, प्रशासनिक खर्च र भानुजयन्ती लगायत कार्यक्रम गर्नुपर्ने भएकाले पूरा तलब खान पनि गाह्रो हुने गरेको कर्मचारी बताउँछन् । पहिला उक्त समितिमा पाँच जना कर्मचारी रहेपनि अहिले तीन जना मात्रै छन् । समितिको कार्यकारी निर्देशक शङ्कर रानाभाटले २०७५ र नासु रामकुमार श्रेष्ठले विसं २०७४ मा राजीनामा दिएपछि अहिले खरिदारको नेतृत्वमा दुइ जना कार्यालय सहयोगी छन् ।
विसं २०७६ मा एक वर्ष भानु नगरपालिकामार्फ तलब खाए पनि विसं २०७७ को साउनदेखि तलब खाना नपाएको खरिदार रानाभाटले जानकारी दिनुभयो । दशैं तिहार मात्रै नभइ बिरामी भएर थलिँदासमेत तलब नपाएको कर्मचारीको दुःखेसो छ । चुँदी रम्घामा निर्मित भानु पार्कसमेत अलपत्र छ । करिब रु ४० लाखको लागतमा निर्मित उक्त पार्कका संरचना अलपत्र हुन थालेका छन्। करिब सोह्र रोपनी क्षेत्रफलमा निर्मित पार्कमा रहेका बालबालिकाका पिङलगायतका सामग्री हराउन थालेका छन् । जिल्लामा तीनवटै तहका जनप्रतिनिधिलाई समितिको अवस्थाका बारेमा पटकपटक जानकारी गराए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको रानाभाटले बताउनुभयो । रासस










