पोखरा-मुग्लिन सडक खण्ड : पूर्वी खण्डको म्याद सकियो, पश्चिम खण्डको चार महिन बाँकी

पूर्विखण्डमा ५६ प्रतिशत र पश्चिम खण्डमा २० प्रतिशत मात्रै काम

गण्डकी प्रदेशको लाइनफ लाइनका रुपमा रहेको पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा खण्ड अहिले विस्तार कार्य भइरहेको छ । राजमार्गको पोखरा-मुग्लिन खण्ड अन्तर्गत पोखरा-आँबुखैरेनी (८० किमी) सडक अहिले बिस्तार भइरहेको छ । दुइखण्ड -पूर्वीखण्ड आँबुखैरेनी-जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने-पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार कार्य भइरहेको छ ।

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभत्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो । तर, अहिलेको राजमार्गको पूर्वीखण्ड झण्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ । पूर्वीखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो ।

पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डको २०२४ अप्रिल १४ मा म्याद सकिएको छ । ‘ठेकेदारले पाएको तीन वर्षे म्याद सकिएको छ । अब छ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ’, पाण्डेले भने, ‘छ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ ।’

कोरोना भाइरस संक्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए । पहिलो पटकका लागि समय थप गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए । उनले भने, ‘अब थपिएको समयमा काम सक्नुपर्ने हुन्छ । त्यो दबाबमा निर्माणको जिम्मा पाएको कम्पनी रहेको छ ।’

उनका अनुसार अहिलेसम्म जिम्मा पाएको सडकमध्ये १८ किलोमिटर चारलेन (दुइ तर्फी) र ९ किलोमिटर दुइ लेन (एकतर्फी) सडक कालोपत्रे भइसकेको छ । एकतर्फी तर दुइ लेनको सडकमा पनि दोहोरो सवारी चल्ने उनले बताए ।

‘अहिलेसम्मको अवस्थामा पूर्वी खण्डमा २७ किलोमिटरमा कालोपत्रे भएर सडक संचालनमा रहेको छ’, इन्जिनियर पाण्डेले भने, ‘दुइ तर्फ कालोपत्रे भएको ठाउँमा त आफ्नो लेन अनुसार सवारी गुड्छन् । एकतर्फी तर दुइ लेन सडकमा पनि दोहोरो गाडी गुड्न सक्छन् ।’

उनका अनुसार सबैभन्दा बढी तनहुँ सदरमुकाम दमौली आसपासको क्षेत्रमा सडक कालोपत्रे हुन बाँकी छ । त्यसपछि डुम्रे क्षेत्रमा बाँकी रहेको छ । उनले भने, ‘जनतालाई यात्रामा सहज हुने गरी कालोपत्रेको खण्ड बढाउने प्रयास छ । बाँकी नाला, ढल, लगायतको व्यवस्थापन पनि भइरहेको छ ।’

‘ठेकेदारले पाएको तीन वर्षो म्याद सकिएको छ । अब ६ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ’, पाण्डेले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ ।’ कोरोना भाइरस संक्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए ।

यस्तै, पश्चिमखण्ड (जामुने-पोखरा ३९ किलोमिटर) का इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेलका अनुसार एकतर्फी (दुइ लेन)को करिब ९ किलोमिटर खण्ड मात्र कालोपत्रे भएको छ । दुइ लेन फराकिलो भएकोले एकतर्फी सडक भएपनि दोहोरो सवारी गुडाउन सकिने उनले बताए । उनले भने, ‘अहिलेसम्म एकतर्फी ९ किलोमिटरमा कालोपत्रे भएको छ । कालोपत्रेको दूरी बढाउने प्रयत्न भइरहेको छ ।’

उनका अनुसार २०२४ अगष्टसम्म ठेकेदारको नियमित समय बाँकी छ । त्यो भनेको अझै चार महिना समय बाँकी छ । तर, चार महिनामा बाँकी रहेको ८० प्रतिशत काम नसकिने भएपछि ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ ।

‘अहिले बाँकी रहेको नियमित चार महिना र म्याद थपिने १६ गरी २० महिना बाँकी हुनेछ । त्यही अनुसार ठेकेदार कम्पनीले निवेदन दिइसकेको छ,’ उनले भने, ‘१६ महिना म्याद थपिएको अवस्थामा ठेकेदारसँग २० महिना समय बाँकी रहनेछ ।’ काम सकिन समय लाग्ने भएपछि अहिले कास्कीको लेखनाथ खण्ड समेत नभत्काएको उनले बताए ।

राजमार्ग बिस्तार थाल्नुअघि आँबुखैरेनी-पोखरा सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झण्डै दोब्बर लाग्ने गरेको छ । तर पूर्वी खण्डको अधिकांश काम सकिएकोले यात्रा केही सहज भएको पनि सर्वसाधारणले बताउने गरेका छन् । राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ । प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकि यो खण्डमा विद्युत् पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ ।

एसियाली विकास बैंक -एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा-आँबुखैरेनीसम्मको दुइ लेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ । आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी-जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ । यो रकम सडक बिस्तारका लागि मात्र हो ।

त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ । सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ । बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ । त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ । दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएका छन् । डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ ।

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराइ जोड्ने पृथ्वी राजमार्ग मुख्य हो । यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन । पछिल्ला समय राजमार्ग झण्डै जीर्ण भएको थियो । राजमार्गका ठाउँ ठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो ।

आयोजनाका अनुसार आँबुखैरेनी-जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन् । यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुनेछ । ती पुल पनि सडकको आकार जत्तिकै फराकिला हुनेछन् ।

पश्चिम खण्डमा पनि चारवटा ठुला र आठ वटा अरु साना पुल पर्नेछन् । विजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन्। अरु साना पुल छन् । पोखरा-आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुइ वटा पुल छन्। पोखरामा सेती नदीमाथि र दमौलीमा मादीनदी माथिको पुल ठुला आकारका पुल हुन् । यी पुल भने यो आयोजनाभित्र पर्दैनन् । त्यसैले सडक बिस्तारसँगै ती पुलका लागि अतिरिक्त रकम खर्च हुँदैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker