“….. अनि कोरोनाले अवश्य हार्नेछ”
सन्तोष अधिकारी

देश भरका अस्पतालमा एम्बुलेन्सको लस्कार । बेड अभावका कारण एम्बुलेन्स भित्रै विरामीको उपचार गर्नु पर्ने विवशता । अस्पतालका आईसियु र सिमित भेन्टीलेटर कोरोना संक्रमितले भरिभराऊ । हो फेव्रुअरी महिनाको सुरुवाती तीर युरोपियान देश पोर्तुगालको अवस्था यस्तै थियो। संगै अन्य छिमेकी मुलुक पनि नयाँ भेरियान्टको दोस्रो लहरको कोरोना कहर संग जुधि रहेका थिए। जता हेरयो उतै देखिएको त्रास र त्राहिमाम करिब ३ महिनामा पार लगाउँदै पोर्तुगाल फेरी एकपटक सामान्य जनजीवन तर्फफर्कि रहेको छ । ती दिनमा दैनिक १५ देखि १६ हजारसम्म नयाँ संक्रमित थपिने र सयौको संख्यामा मृत्यु भईरहेको थियो । तर पोर्तुगालले सिमित स्रोत र साधानको बीचमा पनि छोटो अबधीमा महामारीलाई आफनो काबुमा राख्न कसरी सार्थक भयो ? हो अहिले दोस्रो लहरको कोरोना कहरबाट थिलो थिलो भई राखेको नेपालका निम्ति पोर्तुगालको त्यो संघर्ष र अनुभव अनुकरणीय बन्न सक्छ ।
कसरी पार लाग्यो तत्काललाई महामारी
पहिलो लहरको संक्रमणमा पोर्तुगालले खाशै क्षती बेहोर्नु परेको थिएन । नेपालले जस्तै कोरोनाका सामान्य असर दखिन थाले संगै यो देशले पनि लकडाउन गरेको थियो। केही महिनाको बन्दाबन्दीले नै महामारीमा गतिलो सफलता हात पारेको थियो। अनि अन्य युरोपियान देशले भन्दा एक कदम अघि बढेर छिटै नै लकडाउन हटाउदै पर्यटकीय गतिबिधी पनि सुचारु गरि सकेको थियो । बिडम्बना दोश्रो लहर भने पोर्तुगालका निम्ती संकट नै सावित भएर उभियो। महामारीको यो संकटलाई यो देशले तत्काललाई भने पार लगाएको छ। यो पार लगाउन यहांको सरकारले निर्बाह गरेको भुमिका र संघर्ष कम प्रशंशनिय छैन । अनि नागरीकले देखाएको धैर्यता, इमान्दारीता र कर्तब्यपरायणता उत्तीकै तारिफ योग्य छ। जुन नेपाल र नेपालीले अहिलेको संकटमा अनुसरण गर्न आवश्यक छ। विगतको संकटबाट पाठ सिक्दै पोर्तुगालले दोश्रो लहर प्रवेश गर्ने बित्तिकै कडा लकडाउन गरी हालेन। नागरीकको जनजीवन र स्वतन्त्रतालाई ख्याल गर्दै क्रमिक रुपमा लकडाउनलाई कसिलो बनाउदै लग्यो । जनवरीबाट नै सुरु गरेको लकडाउनको अभ्यासलाई नतिजा हेरेर विस्तारै कर्डाई गर्दै लगेको थियो ।
नेपालमा जस्तो हतार र हतासमा यहाँ कडा बन्दाबन्दी गरिएको थिएन । लकडाउन जती प्रभावकारी देखियो उत्तीकै रुपमा कडाइ गरिदै लगियो। मान्छेहरुको जमघट र भिडभाड हुने समय र पर्वलाई केन्द्रित गरेर ठाउँ र समय अनुसार लकडाउनको मोडालिटी फेरबदल गरी राखियो।
जबकी महामारी नियन्त्रणमा लकडाउन प्रभावकारी पनि बनोस अनि लकडाउनको नाममा नागरिकको मौलिक स्वतन्त्रता पनि हनन नहोस । यी दुबै कुरामा यहाँको राज्य र जनता सजग र सचेत देखिन्थे । राज्यले गरेको आब्हानलाई जनताले सक्दो परिपालाना गरेका थिए भने राज्य जनताको स्वतन्त्रताको सम्मान र आफनो उत्तरदायित्व पुरा गर्न उत्तिकै लागि परेको थियो ।
सायद यसैको परिणाम हुन सक्छ सिमित श्रोत र साधानको बाबजुद पनि महामारीको जटिल अवस्थालाई विस्तारै पार लगाउन सफल भयो । हाम्रोमा जस्तो भेन्टिलेटर, अक्सिजन र आईसियुको अभाव भयो भनेर जनताले मानसिक तनाव बेहोर्नु परेको थिएन । यस पछाडीका मुलभुत केही कारणहरु छन । पहिलो जनता इमान्दार भएर राज्यको आब्हानलाई आफनो कर्तब्य सम्झेर पालाना गरे। दाश्रो युरोपियान युनियान अर्न्तर्गतका अरु समृद्ध देश लक्जेर्म्बर्ग, जर्मनी लगायतबाट सहयोग प्राप्त गर्यो । अन्य छिमेकी देश सहयोगका निम्ति फराकिलो मनका साथ उभिए । जसका कारण मानसिक र प्राविधीक रुपमा पोर्तुगालको आत्मविश्वास दरिलो बन्न सक्यो ।
अर्को महत्वपूर्ण कारण हो, चर्को महामारीका बीचमा नै पोर्तुगालले कोरोना बिरुद्धको भ्याक्सिन लगाउने अभियान अघि बढाएको थियो । जसले गर्दा कोरोना संक्रमणको जोखिममा रहेका समुहमा आत्मबल र विश्वास बढन सक्यो । भनिन्छ आत्मबलले पचास प्रतिशत रोग आफै निको पार्दछ । आप्रावासी का निम्ति खुला हृदय भएको देशको रुपमा चिनिन्छ पोर्तुगाल । महामारीको यो संकटमा आप्रावासी र स्वादेशी भनेर यो देशले कनै विभेद गरेन । हरेक सेवा सुविधा, राहात र अनुदानमा समान निती अख्तियार गर्यो । महामारीका कारण बन्द गरिएका होटल, रेष्टुरेण्ट, उद्योगधन्दा कलकारखानामा काम गर्ने हरेक मजदुरलाई उसले सामान्य अवस्थामा पाउदै आएको तलब सुविधा दिएर घरमै बस्न आब्हान गर्यो । यसो गर्दा काम गर्ने आम कामदारले सुविधा पनि पाए र राज्यको आब्हानलाई अक्षरशः पालाना पनि गरे । अर्थात राज्यले सबै कुराको ग्यारेण्टी गरेकाले उनीहरुलाई लकडाउनकै कारण आर्थिक समस्यासंग जुध्नु पर्ने भएन । बिशेष गरेर राज्यले पनि काम गरिखाने बर्गको हितमा बढी चासो देखाएको थियो । जुन समुहलाई लकडाउनले गर्दा जीवन सुचारु गर्न अप्ठयारो नपारोस । जब राज्यले नागरीकको सबै आवश्यकता पुरा गर्ने प्रतिबद्धता जाहेर गरयो तब नागरीक पनि राज्यको आब्हानलाई अक्षरशः पालाना गर्दै गए । हो राज्य र जनता बीचको एकाकार, इमान्दारीता र सहकार्यको परिणाम स्वरुप दोश्रो लहरको कठिन महामारी परास्त गर्न पोर्तुगाल तत्काललाई र्सार्थक बन्यो ।
नेपालले के गर्न सक्छ ?
हामीले माने पनि नमाने पनि हाललाई लकडाउन नै कोरोना नियन्त्रणको एक मात्र विश्वासिलो आधार हो । तर लकडाउनको पक्षमा पैरवी गरिराख्दा भोक ठुलो कि रोग ठुलो भन्ने चुनौती पनि हाम्रो सामु ठडिएको छ । यो जटिल र विषम परिस्थितीमा सुझबुझ पूर्ण ढंगबाट राज्यका हरेक निकाय चल्न सक्नुपर्छ । हाम्रो श्रोत, साधान र स्तरलाई हेरेर हामीले के गर्न सक्छौ यो महत्वपूर्ण कुरा हो । लकडाउनलाई नै उपयोगी उपाय मानेर नेपालले पनि कडा प्रकृतीको बन्दाबन्दी गरि सकेको छ । अब यसबाट केही समयका लागि पछाडी फर्कि हाल्ने अवस्था देखिदैन । तर यहि स्तरको लकडाउन लम्ब्याई राख्न पनि त्यती सहज छैन । संक्रमण र मृत्युको दर हेर्दा कर्डाई गर्नु बाहेक अर्को विकल्प पनि छैन ।
अब राज्यले युरोपियान मुलुकहरुले जस्तै काम गरिखाने वर्गको समस्यालाई पहिलो प्रथामिकतामा राख्न जरुरी छ । नाम मात्रको कम्युनिष्ट होईन कि बास्तविक रुपमै समाजवादी चरित्र देखाउन आवश्यक छ । जुन सिमित श्रोत साधानको विचमा पनि पोर्तुगाल लागायतका धेरै युरोपियान देशले गर्न सके । हो पोर्तुगालबाट थोरै भएपनि नेपालले यो अवस्थामा सिक्न जरुरी छ । कम्तिमा पनि दैनिक या मासिक ज्याल मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको नागरीकको समुहको पारदर्शी अभिलेख तयार गरी उनीहरुको गांसबासको ब्यवस्था राज्यले गरोस। त्यती भए त्यो समुह कामको खोजीमा या राजीरोटीको जोहो गर्न बाहिर निस्कने छैन । सानासाना काम र ब्यवसाय गर्दै आएका ती नागरीकहरु गांसबासको ग्यारेण्टी भएपछि प्रसाशनको आखा छलेर काम मा जान बाध्य हुने छैनन । नत्र त्यो समुह रोग भन्दा पहिला आउने भोकको सामना गर्न प्रसाशनको आँखा छलेर पनि बाहिर निस्कन बिबश हुनेछ।
हो यो महामारीको बेलामा राज्यले गरीखाने बर्गको गाँसबासको ग्यारेण्टी गर्नैपर्छ । त्यसो नगर्दा कोरोना नियन्त्रणका लागि गरिएको यो लकडाउन असफल सावित हुनेछ । काम गरिखाने वर्ग लुकिछिपी काममा नजाउन भनेर नै पोर्तुगलले दोश्रो लहरको लकडाउनमा सबै कामदारलाई शतप्रतिशत तलब भुक्तानी गरेको थियो ।
नेपालले यहि स्तरको सुविधा प्रवाह गर्न अवश्य सम्भव छैन । तर मजदुरको गांसबासको ग्यारेण्टी नगरे बन्दाबन्दीको प्रभावकारीता माथी प्रश्न उठने नै छ । अनि यसलाई थप लम्ब्याउन पनि सम्भव हुने छैन। तर्सथ मजदुरी गरी खाने वर्गको समस्या राज्यको प्रथामिकतामा पर्नैपर्छ । मजदुरी गर्ने वर्ग भन्नाले शारीरीक परिश्रम गर्ने समुहलाई मात्र बुझने भुल पनि गर्नु हुदैन । यसमा सबै क्षेत्र, तह र वर्ग समेटिन जरुरी छ ।
अब प्रश्न उठन सक्छ के राज्यले यति गर्ने बित्तिकै महामारी कावुमा आउला त- अवश्य आउदैन । नियन्त्रणका लागि आम जनताले हरेक क्षेत्रबाट राज्यलाई सहयोग गर्न जरुरी छ । राज्यले अख्तियार गरेका बिज्ञान सम्मत नितीलाई परिपालान गर्न आवश्यक छ । लकडाउन नै उत्तम उपाय देखिरहेको यो अवस्थामा राज्यको आब्हानलाई नजरान्दाज गरिनु हुदैन । अन्य सम्पन्न देशको तुलनामा नेपालले पनि त्यही स्तरको सेवा प्रवाह गर्नुपर्छ भनेर अफवाह फैलाउने र भडकाउने काम जनस्तरबाट पनि यो अवस्थामा हुनु हुदैन । हरेक राज्यले आफनो स्तर र औकातको अनुपातमा मात्रै सेवा प्रवाह गर्न सक्छ भन्ने तितो यथार्थतालाई भुल्नु हुदैन । आज समाजबादको अभ्यास गरिराखेका धनी गरिब युरोपियन मुलुकले अंगिकार गरेको बाटो पनि यहि नै हो । युरोपियान देशहरुमा पनि यो संकटमा फरक फरक देशले प्रबाह गर्ने सेवा र सुविधाको स्तर पनि भिन्न भिन्न नै छ । जो देशको स्तर र औकातमा निर्भर छ ।
पोर्तुगलमा प्रत्येक दुइ हप्तामा लकडाउन अबधी नविकरण गरिदै आइएको थियो । नविकरण गर्नु पुर्व देशका सत्ताधारी र विपक्ष दल एकमतका साथ सदनमा प्रस्तुत हुन्थे। जसले गर्दा आम जनतामा महामारीसंग जुध्न सबै एकैठाउँमा रहको सन्देश प्रवाह हुँदै आएको थियो । अनि जनता राजनीतिक आग्रह पुर्वाग्रहमा बिभाजित भएर सरकारको आलोचना र विरोधमा लागेनन् । बरु एक ढिक्का भएर राज्यको बाध्यता र विवशतालाई बुझेर संकटसंग जुध्न हिम्मत जुटाए ।
हो आज नेपालमा पनि सरकारले केही गरेन भनेर तथानाम गालीगलौज गरी राखेर संकट मोचन हुँदैन । सरकारलाई सजग गराउदै आग्रह पुर्बाग्रह नराखी एकाकार हुनुको विकल्प छैन । हरेक राज्यले आफनो स्तर र क्षमता अनुसार मात्रै सेवा प्रबाह गर्न सक्छ भन्ने यथार्थतालाई नकार्नु हुँदैन । विरोध नै सबै कुराको समाधान कदापी हुँदैहोईन । जुन युरोपियानहरुबाट पनि सिकौ ।
महासंकटको यो बेलामा राज्यशक्तिको दुरुपयोग गर्न खोज्ने हरुलाई पनि सरकारले नियन्त्रण गर्न जरुरी छ । कार्बाहीको दायारामा ल्याएर सबक सिकाउन आवश्यक छ। नकि माफिया र ठगहरुले जानाजान ठगिरहेको सरकारले टुलुटुलु हेरेर नबसोस । अनि सम्पन्न र छिमेकी देशहरुबाट प्राप्त गर्ने सहयोग माग्न ढिला नगरौं । यो संकट पार लगाउन हाम्रो जस्तो देशले अन्य देशको सहयोग नलिई सम्भव नै छैन । अझ यो त नागरीकको ज्यान बचाउने सवालसंग सम्बन्धित छ । बरु यसका निम्ति हतार गरौ । आब्हान पनि गरौ । पर्ख र हेरको अवस्थामा नरुमालिऔं ।
अन्त्यमा पहुंच, पावार र पैसाको आधारमा होइन विरामीलाई आवश्यकताको आधारमा भेन्टिलेटर, आईसियु जस्ता सेवाको प्रवाहमा ध्यान केन्द्रित गरौं । पहुच र पैसाकै कारण कसैले सामान्य अवस्थामा पनि भेन्टिलेटर पाउने र कसैले पैसा नभएकै कारण गम्भिर अवस्थामा पनि आवश्यक उपचार नपाउने बिभेदपूर्ण अवस्थाको अन्त्य गरौं । जुन बिभेद समाजबादको अभ्यास गरी राखेका अन्य देशमा देखिंदैन । यो संकटमा रोगसंग जोगाउदै भोक मेटाउने ग्यारेण्टी राज्यले गर्नैपर्छ । अनि सरकारलाई गाली गरेर भन्दा पनि सहयोग गरेर महामारीलाई परास्त गर्ने साहास र संस्कार आम नागरीकमा पनि विकास हुनैपर्छ । तबमात्र महासंकटको रुपमा उभिएको कोरोनालाई पोर्तुगलले जस्तै अवश्य परास्त गरिने छ । लेखक हाल युरोपमा छन् ।










