मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माविको शिक्षक अभिभावक संघ गठन
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयले शिक्षक अभिभावक संघ गठन गरेको छ । विद्यालयले विष्णुसिंह गुरुङको अध्यक्षतामा ९ सदस्य शिक्षक अभिभावक संघ गठन गरेको हो ।

वडा अध्यक्ष रामबहादुर बानियाँको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले शिक्षक अभिभावकको संघको सदस्यमा खेमबहादुर गुरुङ, शान्ता मौरती, शमसेर गुरुङ, अनिता गुरुङ, विमला गुरुङ, मन बहादुर गुरुङ, मन्जु धमेल, विमला कुवाँरलाई चयन गरिएको प्रधानाध्यापक शैलेन्द्र कुमार शाहले बताए ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङको सभापतित्वमा आयोजित बैठकले विद्यालयको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।

विद्यालयको बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल बहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि सबै एक हुनुपर्ने आवश्यकता औल्याए ।
‘ग्रामीण क्षेत्रका बालबालिकलाई सहज रुपमा शिक्षा आर्जन गर्ने वातावरण बनाउने जिम्मेवारी हाम्रै हो’, प्रवक्ता गुरुङले भने, ‘समयको मागलाई बुझेर प्राविधिक र सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालय प्रशासनका साथै अभिभावक समेत सचेत बन्नुपर्दछ ।’

विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताउँदै प्रवक्ता गुरुङले शिक्षक, अभिभावक तथा व्यवस्थापन समिति कुनै पनि विवाद र असन्तुष्टिमा नअल्झिकिन बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फध्यान दिन समेत आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा अभिभावकहरु संगम सुमिर पियाँ, हरि खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको विद्यालयका शिक्षक कृष्ण बिकले जानकारी गराए ।










