भानुको चाडपर्व लक्षित बजार अनुगमन तीब्र
डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्र पारेको छ । नगरपालिकाले बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिने क्रममा बिहिबार वडा नं. १३ को चन्द्राबती, वडा नं. ६ को टुहुरे पसल र पटके पसल क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरेको हो ।
नगरपालिकाले ग्रामीण क्षेत्रको बजार पनि अनुगमन शुरु गरेकाले स्थानीय व्यबसायी र उपभोक्तालाई पनि सचेत गराइएकाले अनुगमनले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि निरन्तरता दिनुपर्ने स्थानीय ब्यापारी कुबेर ढकालले बताए । नेपालीहरुको महान चाड दशैं, तिहार लगायतका चाडपवर्मा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य वस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका ब्यवसाय, सरसफाईको अवस्था लगायतका विषयमा अनुगमन गरिएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले बताइन् ।
चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । नगरपालिका अन्तर्गतका मुख्य बजारहरु भन्सार, सेपाको बँगैंचा, तुरतुरे, बाइसजंगार, लगायतका बजार क्षेत्रमा पनि अनुगमन गरिने उनले बताए ।
अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, औषधि पसल लगायतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यवस्तु, ब्यवसाय दर्ता नगरि सञ्चालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि, सडक छेउमा सामान राखेको लगायतका कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
यस्तै, व्यवसाय दर्ता नगर्नेका लागि तत्काल व्यवसाय दर्ता गरी संचालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ । यस्तै, अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुलाई जफत गरी नियन्त्रणमा लिई डिस्पोज गर्ने तयारी भैरहेको र लापरवाही गर्ने व्यवसायीहरुलाई कारवाही गरिने वरिष्ठ अधिकृत पाण्डेले बताए ।










