विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गर्न व्यासको निर्देशन
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाको कार्यापालिका बैठकले २०७८ जेठ मसान्त भित्र सामुदायीक तथा संस्थागत विद्यालयहरुको व्यवस्थापन समिति नयाँ गठन गर्न निर्देशन दिएको छ । व्यवस्थापन समितिको ३ वर्षे कार्यकाल समाप्त हुने भएकाले सो अबधि भित्र नयाँ व्यवस्थापन समिति गठन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिएको हो । बैठकले आ-आफ्ना वडा भित्रका विद्यालय व्यवस्थापन समिति गठन कार्यको अनुगमन गर्ने कार्यको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षहरुलाई तोक्ने निर्णय समेत गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले यही चैत्र ३० गते नगरपालिकाको २९औं स्थापना दिवस भव्य रुपमा मनाउन नगर प्रमुख न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति र नगरपालिकाले गरेको उल्लेखनीय कार्यहरुको प्रकाशन तयार गर्न नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा सबै शाखा प्रमुख रहने गरी प्रकाशन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले व्यास नगरपालिका भित्र युवाहरुको सहभागितामा युवाका लागि शहर भन्ने अवधारणा बमोजिम नगरपालिकाका महत्पूर्ण स्थानहरुको डिजिटल नक्सांकन तयार गर्ने कार्य अघि बढाउने निर्णय गरेको छ । व्यास नगरपालिका भित्र प्राकृतिक श्रोतबाट प्राप्त हुने आयलाई खर्च व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गर्न सैदान्तिक सहमति गरी कार्यविधि पेश गर्न विधायन समितिलाई जिम्मा दिने बैठकले निर्णय गरेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी गराएका छन् ।
यस्तै, व्यास नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको समायोजन प्रकृया अघि बढाउन १५ दिन भित्र ३ सदस्यीय अध्ययन एवं प्रस्ताव समिति शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा गठन गर्ने भएको छ ।
भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण एवं दर्ता सम्बन्धमा कार्यविधि अनुरुप नगरपालिकामा शहरी, अर्ध शहरी र ग्रामिण क्षेत्र तोक्ने निर्णय बैठकले गरेको छ । व्यास नगरपालिका भित्रका विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा माध्यमिक तथा आधारभुत विद्यालयहरु मध्ये १/१ विद्यालय छनोट गर्ने निर्णय गरिएको बताइएको छ ।










