पर्यटन, पुरातात्विक महत्व र पेट्रोलियम खानी
के.बि. मसाल

सुर्खेतको बसपार्कमा कुनै नयाँ अनुहारका मानिसहरु दैलेख जाने बसमा चढन खोज्दा देख्ने मानिसको कौतुलता हुन्छ यो मानिस पक्कै पनि पेट्रोलियम खानी अन्वेषण भैरहेको ठाउ भैरवी गाउँपालिकाको जलजलेमा जाने होला । कतिले त नयाँ अनुहारका मानिसहरुलाई सोधी हाल्छन तपाई जलजलेमा जाने हो? हुन पनि हो आजभोली नयाँ पर्यटकहरु दैलेख पुग्नासाथ धेरैको सोच हुन्छ पेट्रोलियम खानी अन्वेषण भै रहेको ठाउ जलजलेमा पुग्ने ।
पर्यटकहरु जहिले पनि घुमफिर गर्नका लागि नयाँ ठाउको खोजीमा हुन्छन । पर्यटन भनेकै नयाँ ठाउको अध्यन अवलोकन गर्ने हो । दैलेखमा पर्यटनका लागि पेट्रोलियम खानी नयाँ ठाउ हुन्छ । पर्यटनमा केवल मनोरञ्जनको उद्देश्य मात्र हुदैन । राष्ट्रिय उद्योग कलकारखाना र खानीको पनि पर्यटकहरुले अध्यन अवलोकन गर्न खोज्दछन। दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण अवलोकन गर्न रारा जाने पर्यटकहरु समेत फर्कने क्रममा यतिवेला दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र र अन्वेषण स्थल पुग्ने गरेका छन । दैलेखमा पर्यटनका लागि धेरै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा भए पनि धेरै पर्यटकहरुको ध्यान पेट्रोलियम खानी अन्वेषण भै रहेको स्थल जलजलेले तान्दछ। दैनिक सयौको सख्यामा पर्यटकहरु जलजलेमा पुग्ने गरेका छन । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ८० प्रतिशत सकिएको छ । ड्रिलिङको काम तीन हजार एक सय मिटर जमिन मुनि पुगेको छ । चार हजार पाँच सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पु¥याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने कार्य भैरहेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा आजभोली दैलेखको जलजलेमा पेट्रोलियम खानीको अन्वेषणको काम भइरहेको छ । पर्यटकहरु जलजले पुगेपछि पेट्रोलियम पदार्थ कस्तो ठाउमा हुन्छ? पेट्रोलियम पदार्थ के हो ? बन्नको लागि भूगर्भमा के–के हुनु पर्दछ? भन्ने कुरा पेट्रोलियम खानीको अन्वेषणमा लागेका प्राविधिकहरु संग जान्न खोज्दछन । पेट्रोलियम शब्द ग्रिक भाषाबाट आएको हो । जसको अर्थ पेट्रो भनेको चट्टान र ओलियम भनेको तेल भन्ने हुन्छ। अर्थात चट्टान भित्रबाट निकालिएको तेललाई पेट्रोलियम भनिन्छ । समुद्र, ताल वा सिमसारमा रहेका सूक्ष्म जीव तथा लेउका अवशेषहरु लाखौं वर्ष जमिनमुनि रहन्छ। यसरी रहेको पदार्थहरु अत्यधिक ताप र चापका कारण विस्तारै पेट्रोलियम पदार्थमा परिवर्तन हुन्छ । तेल बन्नका लागि १०० देखि १५० डि.से. र ग्यास बन्नका लागि १५० देखि २२० डि.से.तापकक्रम आवश्यक हुन्छ । जलजलेको पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला अर्थात मिथेन ग्यास अहिले उत्खनन र अन्वेषण हुदा धार्मिक आस्थाको केन्द्र शिरस्थान, नाभिस्थान र पादुकाको भूभाग पेट्रोल र ग्यासको स्रोतका हुन सक्ने अध्ययनले देखाएको छ । अन्तिम ड्रिलिङबाट के कति परिमाणमा ग्यास र पेट्रोल छ भनेर अन्वेषणले देखाउँला, तर अहिले सम्मको अध्ययनअनुसार ग्यास र पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लागिसकेको छ ।
चिनियाँ कम्पनी चाइना न्यासनल पेट्रोलियम कर्पोरेसन सीएनपीसीको सिबु ड्रिलिङ एन्ड इन्जिनियरिङ कम्पनीले अन्वेषणका लागि जलजलेमा ड्रिलिङको काम गरि रहेको छ । चीनको न्याशनल चाइना पेट्रोलियम कर्पोरेशन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन गर्ने सबैभन्दा ठूलो संस्था पनि हो। पेट्रोलियम खानीको अन्वेषणका लागि श्रीस्थान, नाबिस्थान, पादुका र कोटिलाका समेत चार स्थानका जियोलोजिकल चट्टानहरु र ग्यासको नमुनाको परीक्षण भैरहेको छ । जलजलेमा पेट्रोलियम खानीको अन्वेषणका लागि ड्रिलिङ भैरहेको नजिकै त पर्यटकहरुलाई जान दिइन्न । तर पनि पर्यटकहरु नजिकैबाट फोटो खिच्ने, भिडिओ बनाउने र सेल्फि भने लिने गर्दछन। पर्यटकहरु पेट्रोलियम खानीको अन्वेषण गरेको स्थलमा पुग्दा खुशि हुन्छन। कतिपय पर्यटकहरु भारतले ०४५ सालमा घोषितरुपमा गरेको नाकाबन्दी र पछि पनि बेलाबखत अघोषित नाकाबन्दी गर्दा पेट्रोलियम पदार्थ अभाव भएको सस्मरण गर्दछन ।
जलजलेमा पेट्रोलियम खानी ड्रिलिङको काम भएको हेर्दै खानीको बारेमा जानकारी भएका पर्यटकहरु एक आपसमा कुरा गर्दै भन्दछन–अहिले पेट्रोलियम पदार्थ छ भनेर अनुमान गरिएको जलजले जस्तै भूगोलमा भारत र पाकिस्तानमा पनि डिजेल र पेट्रोलका खानी छन। पाकिस्तानमा दैलेखको जस्तै चुरे पर्वत श्रृखलामा पर्ने पाटवर बसिन क्षेत्रमा तेलको उत्खनन भैरहेको छ । भारतले पनि चुरे श्रृखलाभन्दा मुनिको विभिन्न क्षेत्रबाट तेल निकालिरहेको छ । अहिले पनि दैलेखको श्रीस्थानमा जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ। अर्को तर्फ पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ खोलामा तैरिएर बगेको छ । जलजलेमा पेट्रोलियम पदार्थ हुनका लागि आवश्यक चट्टानहरु ड्रिलिङको काम गर्दा भेटिएको छ । अब ४ हजार मिटर जमिनको सतह मुनि ड्रिल गरेपछि मात्र व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ वा मिल्दैन भन्ने यकिन हुनेछ । तर आजभोली पर्यटकहरु मात्र नभएर पेट्रोलियम खानीको खोजी अर्थात अन्वेषणले सबै खुशि देखिन्छन । हुन त पेट्रोलियम पदार्थको खोजी नेपालमा सन् १९७९ मा पनि खोजीका लागि धेरै काम भएको थियो । त्यो बेलामा पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनका लागि नेपालमा नेदरल्याण्ड, चीन, क्यानडालगायत देशबाट पनि विज्ञको टोली आएका थिए ।
दैलेख पुग्ने पर्यटकहरुले आफ्नो रुचि अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका स्थलहरु अध्यन अवलोकन गर्न सक्दछन्। नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा रहेको छ। दैलेख ३२ जातजातिको उदगमस्थल पनि हो। दैलेखको इतिहासमा सिंजा सभ्यता जोडिएको छ । बाइसे–चौबिसे राज्यका बेला निर्माण गरिएका देवल र कीर्तिखम्बहरु दैलेखमा रहेका छन । पाथरनाउली र कोतगढी दैलेखमै पर्दछ । पर्यटनका लागि दैलेख ऐतिहासिक, पुरातात्विक सम्पदा र प्राकृतिक सौन्दर्यका हिसाबले धनी छ। दैलेख जादा पर्यटकहरुले पञ्चकोशी तीर्थ, महाबु लेक, भूर्तिका पञ्चदेवल, दुल्लु क्षेत्र, गुराँसे, द्वारी झरना, कुइँया ताल, बेलाशपुर मन्दिर, बडा भैरब र दैलेख बजार पुग्न सके राम्रो हुन्छ । दैलेख इतिहास र धर्म संस्कृतिको त्रिवेणी हो भन्दा पनि हुन्छ । भौगोलिक रुपमा विकट भएपनि दैलेख धार्मिक र सांस्कृति सम्पदाको खानी पनि हो । नेपालमा सबैभन्दा बढी कलात्मक देवल पनि दैलेखमै रहेको छ । पर्यटनको क्षेत्रमा दैलेखलाई देवलहरुको जिल्लाका रुपमा पनि चिनिन्छ। इतिहासमा रुचि राख्ने पर्यटकहरुले दैलेखमा प्राचीन समयमा युद्ध जितिसकेपछि स्थापित स्तम्भ र वीरखम्बाहरु पनि अध्यन अवलोकन गर्न सक्दछन । जहाँ पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ,दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भहरु आजभोली पर्यटकहरुको लागि अध्यन अवलोकन गर्ने स्थल बनेक छ । दैलेखको छामगाड खोला र लोहोरे खोलाको सगमस्थल चुप्रा पर्यटनका लागि आकर्षक भौगोलिक स्थल मानिन्छ ।
दैलेख पुगेपछि दुल्लु पुगेन भने पर्यटकहको घुमफिर अधुरो जस्तो हुन्छ। दुल्लु क्षेत्र राणा प्रधानमन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउ भनेर पनि चिनिन्छ । दैलेखमा तीर्थाटन पर्यटनको लागि शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोशी पुग्नै पर्दछ । तीर्थाटन पर्यटकहरुका लागि पञ्चकोशीको महत्व छुट्टै छ । तीर्थाटनका पर्यटकहरुलाई पञ्चकोशीको तीर्थाटनले पितृ उद्धार, मनोकांक्षा पुरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ। दैलेखमा श्रीस्वस्थानी व्रतकथासंग जोडिएका पाँचवटा पवित्र तीर्थस्थल पञ्चकोशीमा पर्दछ। महादेवले मृत सतिदेवीलाई बोकेर हिँडदा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, धुलो पतन भएको ठाउँ धुलेश्वरमहादेव अर्थात हावा नलागे पनि धुलो चाँहि उडीरहने । धुलेश्वरमहादेव र तल्लो डुंगेश्वर प्राचिन प्रशिद्ध मन्दिर हुन। पादुका पतन भएको ठाउँ पादुका र कट्टी पतन भएको ठाउँ कोटिलालाई पञ्चकोशी भनिन्छ। शिरस्थान र नाभिस्थानमा अखण्ड ज्वाला निस्की रहन्छ। त्यहि ज्वालालाई ज्वालामाईका रुपमा पुग्ने गरिन्छ । पञ्चकोशी तीर्थस्थलमध्ये अहिले शीरस्थान र नाभिस्थानमा अखण्ड रुपमा ज्वाला बलिरहेको छ । शिरस्थान मन्दिर शिरस्थान खोलाको नजिकै पर्दछ ।
जुम्लाको चन्दननाथ र बाजुराको बडीमालिकाको मन्दिरमा रहेको अखण्ड दीप निभेमा शीरस्थानको ज्वालाको आगो लगेर अखण्डदीप जलाउने परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । शिरस्थानको दायाँतर्फ शिरस्थान र नाभिस्थान खोलाको दोभान नजिकै काली ज्वाला रहेको छ । केहिबर्ष अगाडी सम्म खोलाको पानीमा समेत ज्वाला बल्ने गर्दथियो । तर अहिले मन्दिर निर्माण गरिएका कारण मन्दिर भित्रमात्र ज्वाला बल्ने गर्दछ । नाभिस्थान मन्दिर खोला नजिकै छ । शिरस्थान जस्तै यहाँ पनि दुईवटा ज्वाला छन् । जसलाई ब्रहमज्वाला र ईन्द्रज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा भैरव मन्दिर, शिव मन्दिर, मन्साथ मन्दिर र समीको रुख छ। एक सय वर्षभन्दा पनि पुरानो समीको रुख पर्यटनका लागि आकर्षण मानिन्छ । पादुका क्षेत्रमा केही दशकअघिसम्म अनवरत रुपमा ज्वाला बल्ने गर्दथियो । पादुका खोलामा बाढी आएर बगाएपछि ज्वाला बलेको छैन । पादुका क्षेत्रमा मन्दिर छैन भने मूर्तिहरु खुल्ला रुपमा छन् । मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनाराण, गणेश, मच्छेन्द्रनाथ, शिव लिंग लगायतका मूर्तिहरु रहेका छन् । जेठ महिनाको पहिलो मंगलबार र दशैंमा भैरव मन्दिरमा बलिसहित पूजा गर्ने र श्रावण पूर्णिमामा शिवजीलाई खीर चढाउने प्रचलन छ। दशैंको घटस्थापनादेखि दशमीसम्म अखण्ड धुनी बाल्ने माघ पूर्णिमाका दिनमा लिंगो फेर्ने तथा शिवरात्रिको दिनमा बिशेष पूजाआजा गर्ने प्रचलन छ । पादुकामा रहेको अशोकचल्ल कालिका सउना कार्की र कक्र्यानीको देवल दैलेखमा भएका अभिलेखहरु मध्य सबैभन्दा पुरानो अभिलेख मानिन्छ ।
कालिकोट र दैलेखको सिमानामा पर्ने महावु दैलेखको सबै भन्दा अग्लो स्थान हो । समुन्द्री सतहदेखि करिव ४ हजार १६८ मिटरको उचाईमा महावु पर्दछ। महावुमा ढुङगाबाट उत्पति भएको शिवलिङ्ग रहेको छ । प्रत्येक वर्ष साउन महिनामा तीर्थाटनको लागि पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । हिउँदको समयमा महावुमा हिउँ पर्ने भएकाले हिउमा खेल्न पर्यटकहरु पुग्ने गर्दछन । महावु प्राकृतिक भ्यु–टावर मान्दा पनि हुन्छ । यहाबाट दैलेखका विभिन्न गाउँ बस्ती र कालिकोटका केही भागहरुको अवलोकन पनि गर्न सकिन्छ । महावु धामको चारैतिर अग्लाअग्ला लेकहरु विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवजीको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान निकै सुन्दर देखिन्छ। महावु सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र तीर्थाटन पर्यटनहरुको आर्कषण गन्तब्य हो। दैलेख पुग्ने पर्यटक महावुमा पुग्नै पर्ने हुन्छ । दैलेख भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय मानिन्छ ।
विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थाटन स्थल र नागवेली आकारमा बग्ने नदीहरु, प्राकृतिक मनोरम दृश्यहरुले सिगार दिएको दैलेख पर्यटन लागि उपयुक्त जिल्ला मानिन्छ । दैलेखमा एउटै पहाडमा सल्लो र सालका बोट पाइन्छ । स्याउ देखि लिएर आँपसम्म फल्ने दैलेख जिल्लाको हावापानी राम्रो मानिन्छ । अर्को तयर्m नेपालमा रहेका आर्यहरुको उदगम क्षेत्र जुम्लाको सिजा हो । तर आर्यहरुको थरगोत्रलाई हेर्दा अधिकाशं थर भएका आर्यजातीहरुको उदगम क्षेत्र दैलेख भएको पाइन्छ । जस अनुसार दैलेखको दुल्लूबाट दुलाल, बासीबाट बस्याल, बडबाट बराल र बडाल, लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, लामीछानीबाट, लामिछाने लयाटीबाट लुईटेल, भुर्तीबाट भुर्तेल, दवडाबाट दवाडी,पराजुलबाट पराजुली, दहबाट दाहाल, कटटीबाट कटटेल, रिजुबाट रिजाल, हुमेगाउबाट हुमागाई, लम्सुबाट लम्साल थरको उदगम भएको मानिन्छ । आफ्नो पुर्खाको उदगमस्थलको अध्यन अवलोकनका लागि पनि आजभोली धेरै पर्यटकहरु दैलेख पुग्ने गरेका छन ।
दैलेखमा पर्यटनको पुर्वाधारमा सडक विकासले धेरै गाउँ ठाउमा सडक मार्ग निर्माण भएको छ । मध्यपहाडी लोकमार्गले ७२ किलोमिटर सडकले दैलेखको बिच हुदै कर्णाली नदीमा पुगेको छ । मध्यपहाडी लोकमार्ग निर्माण सगै ठाउ ठाउमा ग्रामीण बजार बिस्तार भएको छ। पूर्वमा जाजरकोटसंग सिमा भएको कट्टी जगनाथ अर्थात घेराउमोड देखि पश्चिममा सिमा भएको अछामको राकम कर्णाली सम्म बेष्टडा, लोहरे, दैलेख बजार, भिरखेत, दुल्लु, पादुका, जम्वुकाध, साततला, सिघौडी, राटामाटा बजार र राकम कर्णालीमा पुराना बजार बिस्तार र नयाँ ठाउमा बजार खुल्ने क्रम बढदै छ । अहिले रुकुमको चौरजहारीबाट मोटरसाईकल अथवा जिपबाट समेत दैलैख जिल्लामा घुमफिर गर्न सकिन्छ भने इच्छुक पर्यटकहरुले राकम कर्णालीबाट अछाम जिल्ला समेत प्रवेश गर्न सकिन्छ । पर्यटकहरुले मध्यपहाडी लोक मार्गमा दर्जनौ मठ, मन्दिर र देवलहरुको अवलोकन र अध्यन गर्न समेत सक्दछन । पर्यटकहरुलाई खान बस्न कुनै असुविधा हुदैन। ग्रामीण बजारमा रहेका होटलमा आग्र्रानीक खाद्य बस्तुहरु खान पाईन्छ ।
दैलेखको घुमफिरले पंचदेवलका असंख्य देवलहरु, दुल्लु, रावतकोटका देवलहरु, दैलेख बजार, डांडी माडद्री, दुल्लु र सयौं शिला स्तम्भले जीवित इतिहासको अध्यन गराउछ । दुल्लु राज्य रहँदा सम्म जसपाउ थापा काजीका रुपमा रहेका थिए । खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु आएका बेला काजी थापाले विसं १८७६ मा पौवा निर्माण गरेका थिए । दुल्लु र दैलेखका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका वस्तुहरु संरक्षणका लागि पौवाघरमा साँस्कृतिक संग्रहालय निर्माण गरिएको छ । संग्रहालयमा नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख र मूर्तअमूर्त सम्पदा, विभिन्न पुराना गरगहना, ऐतिहासिक र सांस्कृतिक कुरा झल्कने सामानहरु राखिएको छ । सग्राहलयमा ढुंगाको कचौरा, कटुसको पात बनाइइएको नीलो मसीबाट लेखिएको सामग्री, तत्कालीन राजाले प्रयोग गर्ने तरबार, पुराना बाजा र गहना राखिएको छ ।
दैलेखको पूरानो बजारमा ऐतिहासिक युद्ध कालको रुपमा चिनिने दैलेख गढी रहेको छ । यो गढी बहादुर शाहको पालामा नेपाल एकिकरणको अभियानमा वि.सं.१८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए । गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्ला हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् । द्वन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी अहिले नेपाल प्रहरीको सुरक्षामा रहेको छ ।
कसरी जाने ?
सुर्खेत सदरमुकाम देखि वसको यात्राबाट दुई घण्टामा दैलखेको रानिमत्ता गुराँसे लेखमा पुगिन्छ । गुराँसे लेखबाट चारैतिर देखिने लेकहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । गुराँसे बजारमा खानवस्नको लािग राम्रो ब्यवस्था छ । त्यहाँबाट दुई घण्टाको वसको यात्रा पछि दैलेखको सदरमुकाम दैलेख बजार पुगिन्छ। दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पर्दछ भने कोहलपुरबाट १५० किलोमिटर र सुर्खेतबाट ६५ किलोमिटर पर्दछ ।