पत्रकार पौडेल माथि दुर्व्यवहार
भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पत्रकार महासंघ तनहुँका सदस्य, अन्नपूर्ण मिडिया नेटवर्कका सम्वाददाता एवं दमौली न्यूज डट कमका सम्पादक पवन पौडेल माथि दुर्व्यवहार भएको छ । व्यास-५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका एक सैनिक अधिकारीले बुधबार बिहान दमौली बजारमा तस्विर लिएको भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
उक्त दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ तनहुँले प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार पौडेलमाथि राष्ट्रको सम्पत्ति मानिने नेपाली सेनाको टोली सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिच्ने क्रममा क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुर्व्यवहार गरेको घटनाले महासंघलाई अत्यन्त दुःखी बनाएको जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै, विज्ञप्तिमा पत्रकार पौडेलमाथिको उक्त घटनाले निर्वाध ढंगले समाचार संकलन गर्ने कार्यमा अवरोध सृजना गर्ने मात्रै नभई संविधान प्रदत्त मौलिक हक सहित प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्न खोजेको महासंघको ठहर छ भनिएको छ ।
महासंघ तनहुँ शाखा नेपालको संविधानको प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्तत्रतालाई उच्च सम्मान गर्न नेपाली सेनासँग जोडदार माग गर्दै पत्रकार पौडेलमाथि दुर्व्यवहार गर्ने सैनिक माथि आवश्यक कार्वाही गर्न नेपाली सेनासँग माग गरेको छ । यस्तै, प्रेस युनियन तनहुँ लगायत विभिन्न सञ्चारसंग सम्बन्धित संघ संगठनहरुले विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा गर्दै दोषिमाथि कारवाहीको माग गरेका छन् ।










