तनहुँमा वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप

यही वैशाख ७ र ८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने भएको छ। कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएकालाई स्वास्थ्य कार्यालय तनहुँले दोस्रो मात्राको खोप लगाउने तयारी गरेको हो । पहिलो मात्राको खोप अभियान गत माघ १४ देखि २४ गते र फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो ।
त्यसक्रममा अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण तथा संस्थानका कार्यरत कर्मचारी र पत्रकारलाई खोप लगाइएको थियो।
स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले दोस्रो मात्राको खोप लगाउनका लागि यसअघि प्रदान गरिएको खोपकार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने बताए । स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य संस्था समेत निर्धारण गरेको छ ।
त्यस अनुसार व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदीबन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्य चौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्यचौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिनेछ ।
घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी र साभुङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिका स्थित भिरकोट स्वास्थ्यचौकी र कोटदरबार स्वास्थ्यचौकी, देवघाट गाउँपालिका स्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिका स्थित आँबुखैरेनी स्वास्थ्यचौकी, कृष्णमन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिका स्थित थर्पु स्वास्थ्यचौकी र जामुने स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन गरिनेछ ।










