खेलकुद विकास समिति तनहुँका पदाधिकारीको पदस्थापन

खेलकुद विकास समिति तनहुँका नवनियुक्त पदाधिकारीको पदस्थापना गरिएको छ । समितिले विहीबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिल पाण्डे, उपाध्यक्ष खाँण ठकुरी, सचिव तुल्सीराम पाण्डे तथा समितिमा मनोति भएका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन गरिएको हो । बिगत दुइ वर्षदेखि पदाधिकारी बिहिन रहेको खेलकुद विकास समितिमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले समितिमा पदाधिकारी एवं सदस्य नियुक्त गरेको थियो ।
समितिमा मनोनित भएका पदाधिकारी एवं सदस्यहरुलाई संघीय सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले नवनियुक्त पदाधिकारी एवं सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तण गरी पदस्थापना गराएका थिए ।
पदस्थापना कार्यक्रममा संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लामा खेलकुदका पूर्वाधार निर्माण गर्न संघीय सरकारको तर्फाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै मनोनित पदाधिकारीको कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै, कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख शान्तिरमण वाग्लेले स्थानीय पालिकाहरु अन्य काममा व्यस्त रहनुपर्दा खेल क्षेत्रमा ओझेलमा परेको बताए। खेलकुदको विकासका लागि जिल्लास्तरीय कोष बनाउन प्रस्ताव गरिएपनि स्थानीय तहले उक्त कोषमा रकम उपलब्ध नगराइएको बताए ।
कार्यक्रममा समितिका नवनिर्वाचित अध्यक्ष पाण्डेले खेल क्षेत्रको विकासका लागि तीन तहको सरकारसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन्। खेल क्षेत्रमा प्रशिक्षकको अभावका कारण खेल क्षेत्रको विकास हुन नसकेको बताउँदा यस तर्फआफू लागि पर्ने बताएका छन् ।
खेलकुदलाई विशुद्ध मनोरञ्जनको साधनाका रुपमा लिएको कारण यसलाई जीविकोपार्जनसंग जोड्न नसकिएको बताउँदै खेलकुदलाई जीविकोपार्जनसंग जोडेर लैजान सकिए खेलाडीलाई हौसला मिल्ने र खेल क्षेत्रको विकास हुने अध्यक्ष पाण्डेले बताए ।
पर्याप्त बजेट अभाव, पूर्वाधार अभावका कारण खेलकुदलाई अगाडि बढाउन गाह्रो भएको बताउँदै पाण्डेले खेलकुद पूर्वाधार व्यवस्थापन गर्नु चुनौति रहेको बताए। ‘दमौली लगायतका स्थानीय पालिकाहरुमा रङ्गशाला लगायत खेलकुद मैदान नहुँदा जिल्लास्तरीय र राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको अध्यक्ष पाण्डेले बताए।
कार्यक्रममा खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुषाल, क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठ लगायतले खेलकुदका अधुरा काम अगाडि बढाउन नवनियुक्त पदाधिकारीलाई शुभकामना व्यक्त गरे ।










