व्यासको ३८औं नगरसभा : शून्य बेरुजुमा झार्न नगरपालिका प्रयत्नशील छ – नगरप्रमुख न्यौपाने
भञ्ज्याङ न्यूज

व्यास नगरपालिकाले विहीबारबाट सुरु गरेको ३८औं नगरसभामा सभाध्यक्ष एवं नगरप्रमुख वैकुण्ठ न्यौपानले शून्य बेरुजुमा झार्न नगरपालिका प्रयत्नशील रहेको बताएका छन् ।
नगरसभामा आ.व. २०७९/०८० को नीति, कार्यक्रमको संक्षिप्त प्रगति समिक्षा प्रस्तुत गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिका भित्र अत्याधिक बेरुजु रहेको भन्ने चर्चा रहेको हुँदा उक्र बेरुजु कुनैपनि जनप्रतिनिधिसंग व्यक्तिगत रुपमा नरहेको, अधिकांश बेरुजु विद्यालयको भौतिक संरचना, शिक्षक तलब भत्तासंग जोडिएको विषयलाई मनन गर्न भनेका छन् ।
नगरसभामा प्रमुख न्यौपानले सबै वडाहरुमा आफ्नै कार्यालय भवन निर्माण गर्ने अभियानमा हाल वडा नं. १३ र १४ को निर्माण प्रक्रिया चलिरहेको, वडा नं. ६ र ८ को जग्गा व्यवस्थापन गरी निर्माण प्रक्रिया अघि बढाइ यसै वर्ष प्रारम्भ गर्ने र वडा नं. ३ को भवन आगामि वर्ष निर्माण गर्नेगरी समपूरक योजनामा संघीय सरकार समक्ष प्रस्ताव गरिएको जानकारी गराएका थिए ।
सबै वडामा कार्यालयमा कालोपत्रे सडक पुर्याउने अभियान अन्तर्गत बाँकी रहेको वडा नं. ८, १०, १२, १३ र १४ लाई पूर्णता दिने कार्यक्रम अगाडि बढाइएको नगरसभामा नगरप्रमुख न्यौपानेले जानकारी गराएका थिए ।
नगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको भूमि ऐन र कार्यविधिको परिधि भित्र रही वडा नं. ५, ६, ८ बाहेकका सबै वडाहरुमा निस्सा वितरण कार्य सम्पन्न भएको सभामा जानकारी गराइएको थियो । कुल ६ हजार ८९८ दरखास्तमा ६ हजार २९६ को निस्सा तयार भएको र ५ हजार १५१ निस्सा वितरण गरिएको छ ।
यस्तै नगरसभामा नगरप्रमुख न्यौपानेले ग्रामीण वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट ४ हजार २४५ जना सेवाग्राहीले सेवा प्राप्त गरेको जानकारी गराउँदै हामी सबैको क्षमता, परस्पर सद्घावले मात्र अपेक्षित कार्यक्रमहरु अघि बढाउन सकिने छ र यसका लागि हामी जनप्रतिनिधि एवं कमृचारहिरुको बिच सद्भावपूर्ण सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।
व्यास नगरपालिकाको ३८औं नगरसभामा उपप्रप्रमुख इन्दिरा दरैले आर्थिक वर्ष२०७९/०८० का लागि १ अरब ७१ करोड ४७ लाख ५४ हजार रुपैयाँ संशोधित अनुमानित आय व्यय प्रस्तुत गरेकी छन् । चालु आर्थिक बर्षा लागि ३७औ नगरसभाबाट १ अरब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँ आय अनुमान गरिएकोमा २०७९ पौष २१ गतेसम्म ७९ करोड ३३ लाख ९३ हजर ५४२ रुपैयाँ यथार्थ आय हुन आएको उनले नगरसभामा जानकारी गराएकी छन् ।
आन्तरिक स्रोतबाट २२ करोड ६० लाख अनुमान गरिएकोमा २०७९ पौष २१ गतेसम्म ६ करोड ४२ लाख ९६ हजार ५८० रुपैयाँ यथार्थ आम्दानी हुन आएको बताइएको छ । बाहृय तथा अन्य आयमा १ अरब ४२ करोड ९४ लाख ५१ हजार रुपैयाँ अनुमान गरिएकोमा ६३ करोड ९० लाख ९६ हजार ९६२ रुपैयाँ यथार्थ हुन आएको नगरसभामा जानकारी गराइएको थियो ।

साउनदेखि हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फसाविकको कूल आन्तरिक आय २२ करोड ६० लाख रुपैयाँलाई यथावत राखी संशोधित आय अनुमान कायम गरिएको छ । बाहृय तथा अन्य आयतर्फथप हुन आएको ५ करोड ९३ लाख ३ हजार र सोही रकम बरावरको यस अघि बिनियोजन गरिएको विभिन्न आय शीर्षकबाट घटबढ गरी कूल बाहृय तथा अन्य आय १ अरब ४८ करोड ८७ लाख ५४ हजार रुपैयाँ कायम गरी आन्तरिक बाहृय र अन्य आय समेत गरी कुल १ अरब ७१ करोड ४७ लाख ५४ हजार रुपैयाँको संशोधित आय अनुमान कायम गरिएको उपप्रमुख दरैले सभामा जानकारी गराइन् ।
त्यसैगरी चालु आर्थिक वर्षा लागि ३७औं नगरसभाबाट खर्चतर्फकुल १ अरब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । सो मध्ये चालु खर्चतर्फ८७ करोड ४४ लाख ६६ हजार अनुमान गरिएकोमा २०७९ पौष २१ गतेसम्म ३५ करोड ६७ लाख ८८ हजार ६८७ रुपैंया यथार्थ खर्च हुन आएको बताइएको छ ।
पूँजीगत खर्चतर्फ७८ करोड ९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएकोमा २०७९ पौष २१ गतेसम्म ११ करोड ९३ लाख ४१ हजार ७८ रुपैयाँ खर्च हुन आएको बताइएको छ । २०७९ पौष २१ गतेसम्म चालु खर्च र पूँजीगत खर्च समेत गरी कुल जम्मा ४७ करोड ६१ लाख २९ हजार ७६५ रुपैयाँ यथार्थ खर्च हुन आएको देखाइएको छ ।
श्रावणदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई मध्यनजर गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकहरुमा साविकको व्यय अनुमानमा २ करोड १३ लाख ७६ हजार रुपैयाँ थप गर्ने गरी कुल चालु खर्च ८९ करोड ५८ लाख ४२ हजार रुपैयाँको संशोधित अनुमान कायम गरिएको छ ।
त्यसैगरी पूँजीगत खर्चतर्फ विभिन्न कार्यक्रमहरुमा खर्च हुने गरी साविकको व्यय अनुमानमा ३ करोड ७९ लाख २७ हजार रुपैयाँ थप गर्ने कुल पूँजीगत ८१ करोड ८९ लाख १२ हजार रुपैयाँको संशोधित अनुमान कायम गरिएको छ । यसरी चालु र पूँजीगत शीर्षकको खर्च समेत गरी कुल १ अरब ७१ करोड ४७ लाख ५४ हजार रुपैयाँको संशोधित कार्यक्रम तथा बजेट प्रस्तावित गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।










