जोखिम झन बढेको भन्दै तनहुँमा १५ दिन निषेधाज्ञा लम्बाइयो (के गर्न पाइन्छ/पाइदैन विज्ञप्तिसहित)
भञ्ज्याङ न्यूज

दोस्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै उच्च दरमा फैलन थालेपछि तनहुँमा गत वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमै फैलिएको हुँदा संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै थप १५ दिन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले पुनः १५ दिन निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालय तनहुँलाई सिफारिस गरेको थियो । केन्द्रले आयोजना गरेको सर्वपक्ष बैठकबाट भएको सिफारिसलाई कार्यान्वयन गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी गराए ।
निषेधाज्ञामा के गर्न पाइन्छ/पाइदैन
जिल्लामा कोरोना भाइरस संक्रमण जोखिम झनझन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना उच्च रहेको भन्दै जिल्लाबासीलाई सुरक्षित रुपमा घरमै बस्न बैठकले आग्रह गरेको छ ।
यस्तै, बैठकले जिल्लामा एउटा पनि शववाहन नभएको हुँदा व्यवसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्व वहन गर्न तनहुँको सेरास्थित सुर्य नेपाल लिमिटेडलाई एक थान शववाहन उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सो शववाहन जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहि सञ्चालन हुने गरी दमौली अस्पताललाई उपलब्ध गराउन बैठकले अनुरोध गरेको छ ।
केन्द्रको बैठकले सम्बन्धित निकायमा दर्ता भई स्थानीय तहबाट अनुमति लिई सञ्चालनमा रहेका निजी क्षेत्रका अस्पतालहरुले आइसोलेशन सेन्टर सञ्चालन गर्न चाहेमा अस्पताल तथा स्वास्थ्य संस्थाले “कोभिड-१९ संक्रमितहरुको आइसोलेशन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७” अनुसारको मापदण्ड पुरा गरी अनुमति लिन आएमा स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले गरेका निर्णयहरु
अनुमति माग्न आएका संस्थाहरुको अनुगमन गरी सिफारिस गर्नका लागि जी.पी कोइराला श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. राम कुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याल, जिल्ला आयुर्वेद तनहुँका प्रमुख डा. रामप्रमोद मण्डल र सदस्य सचिवमा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी छन ।
यस्तै, बैठकले प्रत्येक स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको तत्काल व्यवस्था मिलाउनेतर्फकाम अगाडी बढाउन आग्रह गरेको छ । सार्वजनिक विकास निर्माणका कार्य र सेवाहरुमा पर्याप्त स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा नभएको अनुगमन गर्दा देखिएमा तत्काल बन्द गर्ने एवं जिम्मेवार व्यक्तिलाई कानुन अनुसार कारवाही गर्न स्थानीय तह लगायतबाट सम्बन्धित निकायमा सिफारिस गर्न भनिएको छ ।

बैठकले आईसोलेशन सेन्टरमा राखिने संक्रमितहरुलाई बिहान बेलुकाको खाना र खाजा समेतको खर्चको लागि बढीमा प्रतिदिन ५०० रुपैया खर्च गर्न पाउने खर्चको मापदण्ड स्वीकृत गरेको छ ।










