बालबालिकामा अनलाइन गेमको कुलत, ६५ हजार रुपैयाँ हारेपछि आत्महत्या

इन्टरनेट मानिसको आधारभूत आवश्यकता मात्र बनेको छैन समस्याको कारक पनि बनिरहेको छ । एकातर्फ अनलाइन गेम निर्माता कम्पनीहरुले अर्बौँ डलर आम्दानी गरिरहेका छन् भने अर्कोतर्फ यस्ता अनलाइन गेमको लतमा बालबालिका तथा किशोर किशोरहरु नराम्रोसँग फस्दै गएका छन् ।

कहिलेकाहीँ अनलाइन गेमको लत यति चर्को हुन्छ कि बालबालिकाहरुले समय र पैसा मात्र होइन ज्यानै समेत गुमाउँदछन् । भारतको मध्यप्रदेशमा हालै एउटा यस्तै दुखद घटना भएको छ ।

मध्यप्रदेशस्थित छरतपुरमा एक १३ वर्षीय बालकले अनलाइन गेममा ४० हजार भारु हारेपछि आत्महत्या गरेका छन् । अनलाइनमा फ्री फायर गेम खेल्ने बानी थियो ती बालकको । तर शुक्रबार आफु अफिस गएको बेला आफ्नो बैंक खाताबाट अचानक रकम कट्टी भएको मेसेस ती बालककी आमाले प्राप्त गरिन् ।

छोराले पैसा तिरेर अनलाइन गेम खेलेको र आफ्नो बैंक खाताबाट एकैपटकमा १५ सय भारु कट्टी भएको थाहा पाएपछि रिसले आगो बनेकी ती महिलाले फोन गरेर घरमा रहेको छोरालाई झपारिन् । त्यसरी आमाको गाली खाएका ती बालकले अन्ततः आत्महत्या गरे ।

बालकले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि छाडेका छन् । जसमा उनले आमासँग माफी मागेका छन् । आफुले अनलाइन गेमको चक्करमा ४० हजार भारु बर्बाद गरिदिएको र आफुले डिप्रेसनका कारण आत्महत्या गरेको उनले लेखेका छन् ।

वास्तवमा आमाले गाली गर्ने दिनमा मात्रै उनले अनलाइन गेममा १५ सय भारु खर्च गरेका थिए । अन्य दिनहरुमा समेत उनले लगातार पैसा तिरेर अनलाइन गेम खेल्दा उनले ४० हजार भारु अर्थात् झण्डै ६५ हजार नेपाली रुपैयाँ बराबरको रकम खर्च गरिसकेका रहेछन् ।

गत शुक्रबार उक्त घटना भएको हो । छोरालाई फोनमा गाली गरेकी आमा अफिसबाट घर आइनपुग्दै ती बालकले आत्महत्या गरेका थिए । उनलाई अस्पताल पूराउनु अगाडि नै मृत्यु भैसकेको थियो ।

स्मरण रहोस् गत जनवरीमा पनि मध्यप्रदेशमै मोबाइल गेम खेलिरहेको बेला आफ्नो बुवाले मोबाइल खोसिदिएको झोँकमा एक बालकले आत्महत्या गरेका थिए ।

नीति निर्माणका लागि उच्च अदालतको आदेश

यसै हप्ता दिल्ली उच्च अदालनले बालबालिकाहरुलाई अनलाइन गेमको लतबाट बचाउनका लागि एक राष्ट्रिय नीति बनाउन भारतको केन्द्र सरकारलाई आदेश दिएको छ ।

अनलाइन गेमका कारण बालबालिकाहरुमा मनोवैज्ञानिक समस्याहरु पैदा भैरहेको र त्यस्ता बालबालिकाहरुको आनीबानीबाट बुवाआमाहरु चिन्तित बन्दै गएको भन्ने निवेदनमाथि सुनुवाई गर्दै अदालतले सरकारलाई यस्तो आदेश दिएको हो ।

अनलाइन गेमको लतका कारण बच्चाहरुमा डिप्रेसन बढेको, चोरी जस्ता अपराधमा संलग्न भएको र आत्महत्या समेत गर्ने गरेको अदालतमा दायर निवेदनमा उल्लेख छ ।

कोरोना महामारीमा बढ्यो मोबाइलको प्रयोग

महामारीको यो समयमा विद्यालयहरुमा भौतिक पठनपाठन बन्द भएर अनलाइनमार्फत् पढाई भइरहेको हुँदा बालबालिकाहरुले पढाईका लागि पनि निकै धेरै मोबाइल फोनको प्रयोग गरिरहेका छन् र लामो समयसम्म आफ्नो हातमा मोबाइल फोन हुने हुनाले उनीहरुमा अनलाइन गेमको लत बस्दै गएको छ ।

आमा बुवा दुवै कामका लागि दिनभर घर बाहिर हुने बालबालिकाहरुमा यस्तो समस्या धेरै देखिएको विज्ञहरु बताउँछन् । गुगलका अनुसार अनलाइन गेम फ्रि फायर सन् २०१९ मा सबैभन्दा धेरै डाउनलोड भएको अनलाइन गेम हो ।

यद्यपि यो गेमलाई मोबाइलमा नि: शुल्क पनि खेल्न सकिन्छ । तर गेमका लागि कुनै पात्र छनोट गर्न चाहेमा त्यसका लागि शुल्क तिर्नुपर्दछ । त्यसरी पात्र छनोट गर्दा गेममा आफ्नो सीप पनि बढ्दछ र गेममा थप मज्जा आउँदछ ।

क्यारेक्टरका अलावा फ्री फायर गेममा अन्य धेरै फिचरहरु पनि शुल्क तिरेर किन्न सकिन्छ । कतिपय यस्ता फिचरहरु पनि छन् जसले गेममा सीप बढाउँदैनन् तर दोश्रो प्रतिस्पर्धीको तुलनामा लोकप्रिय बनाइदिन्छन् किनकी त्यस्ता फिचरहरुसाथ गेम खेल्दा आफु बढि रकम खर्च गर्न समक्ष रहेको कुरा थाहा पाउँछन् । त्यसैले यस्तै लोकप्रियता तथा देखासिकीका कारण बालबालिकाहरु अनलाइन गेमको लतमा फस्दछन् अनि अनलाइन गेमका लागि पैसा खर्च गर्ने गर्दछन् ।

बालबालिकाहरुलाई अनलाइन गेमको कुलतमा फस्न नदिनका लागि यस सम्बन्धमा कडा नीति अख्तियार गरी बालबालिकाहरुको बाल्यपनलाई जोगाइदिनुपर्ने सरोकारवालाहरुको मत छ ।

बीबीसीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker