देवघाट गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/देवघाट

महिला संजाल देवघाटकी अध्यक्ष सावित्री न्यौपानेले देवघाट गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेकी छन् । सञ्जालका अध्यक्ष न्यौपानेले तीज पर्वमा हुने फजुल खर्चलाई कटौती गरी १५ हजार रुपैयाँ गाउँपालिकाको राहत कोषमा सहयोग गरेकी हुन । उनले उक्त सहयोग रकमको चेक गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गरेकी छन् ।
चेक बुझ्दै अध्यक्ष थापाले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि हामी सबै एकजुट भएर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए । उनले नेपाली दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसर पारी सो रकम सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।
रकम हस्तान्तरण गर्दै सञ्जालकी अध्यक्ष न्यौपानेले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुगोस् भन्ने हेतुले हरितालिका तिजको अवसर पारी आफुले खर्च कटौती गरी सहयोग गरेको बताउँदै उक्त रकम महिला दिदीबहिनीहरुको लागि आवातजावत गर्न लाग्ने एम्बुलेन्स भाडा खर्चमा खर्चिन अनुरोध गरिन ।










