घुमाउनेको पुल : काम अगाडि नबढेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु

तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको कामको गति नबढेपछि सडक डिभिजन कार्यालय दमौलीले ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । बुद्धसिंह मार्गअन्तर्गत पर्ने उक्त घुमाउनेमा निर्माण भइरहेको पुलको काम सन्तोषजनक नभएपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया थालेको हो ।

कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका नाममा सूचना जारी गरी कार्यालयका तर्फबाट पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदासमेत निर्माणको प्रगति अत्यन्तै न्यून देखिएको, पेस गरिएका कामको तालिका, माइलस्टोन र कामको क्रमागत प्राथमिकताअनुसार निर्माण सम्पन्न गर्ने/गराउने सम्बन्धमा कुनै प्रयास नगरेको र तदारुकतासमेत नदेखाएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य किन हुनुनपर्ने भन्दै स्पष्टीकरण माग गरेको छ ।

सडक डिभिजनले सूचना प्रकाशित भएको मिति (२०८० पुस १९ गते) देखि १५ दिनभित्र सम्झौताको मर्म र कानुनी परिधिभित्र रहेर स्पष्ट प्रमाण र आधारहरुसहित उचित जवाफ पेस गरी निर्माण द्रुत गतिमा सञ्चालन गर्न भनेको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले उक्त कम्पनीले घुमाउनेको पुल निर्माण सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि सूचना प्रकाशित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुलका बारेमा राष्ट्रिय स्तरमा समेत आवाज उठ्दै आइरहेको छ । निर्माण कम्पनीलाई बोलाएर समयमै काम सम्पन्न गर्न पटक–पटक लिखित र मौखिक आग्रह गरेका छौँ । तर कामको प्रगति सन्तोषजनक छैन ।”

आर्क डिजाइनको उक्त पुल निर्माणका लागि तत्कालै आर्कको काम सुरु गरिहाल्नुपर्ने अन्यथा बर्खायाम सुरु भएपछि फेरि छ महिना काम गर्न नसकिने भएपछि आर्कसम्बन्धी काम गर्ने प्राविधिकलाई तत्कालै झिकाएर काम गर्नुपर्ने ज्ञवालीको भनाइ थियो । पन्ध्र दिनभित्रमा काम गर्ने प्रतिबद्धता र काम गर्ने स्पष्ट लक्षण नदेखाएमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले पहिलो पटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र प्रगति भएको छ ।

त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको थियो । अहिलेसम्म त्रिशूलीको वारिपारिका फाउन्डेसनको काम मात्रै सकिएको छ ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । पुलको चितवनका तर्फको पिलर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको‘ग्यारेन्टी’ माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्‍याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker