कमजोरी सच्याउँदै कांग्रेस सुदृढ बनाऔं : भण्डारी

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समिति वडा नं ६ ले दीपावली, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले कांग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताएका हुन् । कांग्रेस नेता कार्यकर्ताबीच भावनात्मक एकता नहुँदा गत निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको जनाउँदै पूर्वमन्त्री भण्डारीले भने, ‘मेरा तर्फबाट केही गल्ती भए स्वीकार गर्न म तयार छु, सबैले आ-आफ्नो कमजोरी स्वीकार गरौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।’ पूर्वमन्त्री भण्डारीले नेतृत्वमा रहेका नेताको निर्णयका कारण पनि पार्टीले हार व्यहोर्नुपरेको टिप्पणी गरे ।

पार्टीमा केही समस्या रहेकाले समस्याको समाधान नगरेसम्म पार्टी नबन्ने भण्डारीको जिकिर थियो । ‘कतिपय ठाउँमा एकलौटी तरिकाले टिकट बाँडियो, केन्द्रीय तहमा रहेका हामीहरुसँग पनि सल्लाह भएन’, उनले भने, ‘कित्ताकाट नगरी एक भएर अगाडि बढौँ, आगामी चुनाव जितिन्छ ।’

पार्टीको १४औँ महाधिवेशनमा तनहुँका रहेका पुराना र युवापुस्ता दुवैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले पनि केही नेताले कोठामा बसेर कित्ताकाट गर्ने काम गरिरहेका छन्, तेरो र मेरो मान्छे भनेर विभाजन गर्ने काम भइरहेको छ, त्यस्ता काम बन्द गरौँ ।’ उनले आम निर्वाचनमा कांग्रेसलाई जिताउन बरु आफू उम्मेदवार नबन्ने घोषणा गरे। आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ध्रुव वाग्लेले कांग्रेसभित्रको वातावरण दूषित हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । कांग्रेसभित्र नीतिभन्दा नेता हाबी हुने प्रवृत्ति मौलाएको जनाउँदै उनले भने, ‘पार्टीमा नीति ठूलो हो, विचार ठूलो हो नेता होइन, सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेतृत्व आवश्यक छ ।’

नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले निर्वाचनको परिणामलाई बिर्सदै सद्भावको यात्रा बढाउन सके कांग्रेस एक ढिक्का हुनसक्ने बताए । न्यौपानेले विगतको कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए । कांग्रेस तनहुँ क्षेत्र नं २ का उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले कांग्रेसभित्रका मतान्तर बिर्सिएर अगाडि नबढे आगामी स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पराजय हुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker