तनहुँका धार्मिकस्थलमा भक्तजनको भिडभाड : थानीमाई मन्दिरमा १९३ फूलको डोली चढाइयो
भञ्ज्याङ समाचारदाता/भानु
कोरोना कहरको चपेटामा परेका तनहुँका धार्मिक स्थलहरुमा भक्तजनको भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमण दर कम हुँदै गएपछि तनहुँका धार्मिकस्थलहरुमा अहिले पूजापाठ र्सवसाधारणका लागि खुल्ला गरिएको छ । मठमन्दिर तथा शक्तिपिठहरुमा पुजापाठ खुल्ला गरिएसंगै भक्तजनहरुको आवगमन बढेको हो । विशेष गरी कात्तिक महिनामा धार्मिक स्थलहरुमा भक्तजनहरु पुग्ने गर्दछन् । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिरमा कात्तिक महिनाको चौथो हप्ताको मंगलबार मात्रै ठुलो संख्यामा भक्तजनहरु पुगेका छन् । आफ्नो भाकल, प्रार्थना पुरा भएपछि फूलको डोली लिएर थानीमाई मन्दिरमा भक्तजनहरु पुग्ने गर्दछन् । चौथो हप्ताको मंगलबार मात्रै ९२ वटा फूलका डोली चढाइएको छ भने सोमबार राती २०५ जनाले मनोकांक्ष पुरा होस् भनी बत्ति बालेका छन् ।
कात्तिक महिनाको पहिलो मंगलबार १८, दोस्रो मंगलबार ५५ र तेश्रो मंगलबार २८ गरी हालसम्म १९३ फूलका डोली मन्दिरमा चढाइएको छ भने हजारौं भक्तजनले मन्दिरको दर्शन गरेका छन् । मंगलबार मात्रै ८ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मानिसलाई अप्ठ्यारो पर्दार् चोखो भएर पुजाअर्चन गरेर भगवनलाई सम्भिmयौ भने सबै दुःख व्यथा हट्ने विश्वसका साथ मन्दिरमा दर्शनका लागि आएको भानु-१३ मिर्लुङका पूर्ण बहादुर थापा बताउँछनु । उनले भने, ‘थानीमाई देवीसंग मागेको सबै कुरा पुरा हुन्छ । शुद्ध मनले प्रार्थना गरे भगवनले चाहेको सबै पुरा गरिदिनु हुन्छ ।’
आस्था र विश्वासले भरिपूर्ण थानीमाई मन्दिरको धेरै महिमा सुनेर दर्शनको लागि धेरै भक्तजनहरु पुग्ने गर्छन् । अस्थाको धरोहर धार्मिक पर्यटनको आकर्षक गन्तव्यको रुपमा रहेको थानीमाई मन्दिरको विकास प्रवर्द्धन र व्यवस्थापन पक्ष राम्रो हुन नसकेको व्यास नगरपालिका-१ गल्भुबेसीका र्टार्जन गुरुङ बताउँछन् । ‘राष्ट्रिय स्तरमै प्रचारप्रसार गरी हिन्दु र बौद्ध धर्मालम्बिहरुको धार्मिक गन्तव्यको रुपमा विकास गर्न आवश्यक छ’, उनले भने ‘पारदर्शी हिसावमा यहाँको आयआर्जनको श्रोतलाई व्यवस्थित रुपमा परिचालन गर्न सकियो भने राष्ट्रिय स्तरमा मात्र होइन विश्वभरका तमाम हिन्दु तथा बौद्ध धर्माम्बीहरुलाई पनि आकर्षित गर्न सकिन्छ । यसका लागि भानु नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

विशेष गरी कात्तिक, मंसिर र माघ महिनाको प्रत्येक हप्ताको मंगलबार दर्शनार्थीको भिड लाग्ने यस मन्दिरमा आफुले चिताएको र कामना गरेको भाकल पुरा भएपछि बाजागाजा सहित फूलको डोली चढाउन भक्तजनहरु मन्दिर पुग्दछन् । थानीमाईले बली नलिने हुनले देवीलाई फूलको तोरन र फूल अक्षताले मात्र पुज्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापामगर बताउँछन् ।
अद्भुत शक्तिकी देवीको उत्पत्ति पनि रहस्यमय रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मगर बताउँछन् । उनले भने, ‘उत्पत्तिका विषयमा यथार्थ जानकारी पाउन नसकिए पनि विभिन्न जनश्रुति पाइन्छ । करिव १८३० वर्ष पहिला चिनको भोटबाट भिक्षु रुप धारण गरेकी भोटेनी आमा छोरी तनहुँको वसन्तपुर आइपुगिछन् । यस ठाउँमा आइपुगेपछि ठूलो आँधीबेहरी र असिनापानी परेछ र ती दुइ आमा छोरी त्यही रुखको छेउमा अलप परेछन् । त्यसको केही समय पछि नजिकैको गाउँका जमानसिंह पाटा मगरलाई सपनामा ‘म थानीमाई हुँ मलाई मंगलबारका दिन नुहाई चोखोनितो गरी कोरी पूजा गर्नु, म यस ठाउँको रक्षा गर्छु’ भनेपछि यस ठाउँमा पूजा अर्चना गर्ने कार्य सुरु भएको बताइन्छ ।’
सपनमा उक्त कुरा बताएपछि मगरले सोही अनुसार पूजाआजा गरेछन् । पछि छरछिमेकहरुले पनि श्रावण महिना, स्रोहश्राद्ध, औंसी, एकादशीको तिथी बाहेक पत्येक महिनाको पहिलो मंगलबार बाजागाजा सहित कोरी पूजागरी थानीमाई देवीको आराधना गर्न थालेको पाइन्छ । यसरी देवीको पूजा गर्दा गाउँमा महामारीको रोग आउँदा पनि हटेछ, कुनै व्यक्ति प्रदेश गई नफर्किएको अवस्थामा आफन्तजनले चाँडै आउनु भनि भाकल गर्दा घर फर्किएछन्, कसैको छोराछोरी नहुँदा गरेको भाकलबाट सन्तान लाभ भएको स्थानीयहरु बताउँछन् ।
मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, नवलपरासी, पाल्पा, काठमाडौं, नेपालगञ्ज लगायतका स्थानबाट भक्तजनहरुले फूलको डोली लिएर आउने गरेको अध्यक्ष मगरले बताए । ‘धार्मिक आस्था र विश्वासका कारण मंगलबार बिहानै फूलको डोली चढाउन पञ्चेबाजासहित मन्दिर आउने प्रचलन छ’, मगरले भने, ‘मंगलबार बिहानैदेखि पञ्चेबाजाले वरपरका डाँडै थर्काउने गरी भक्तजनहरुले मन्दिरमा फूलको डोली चढाउन आउने गरेपनि यहाँ पुग्न सडक राम्रो नहुँदा निकै कष्ट र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको उनले बताए । करिव ५५ लाखका लागतमा सम्पन्न भएको उक्त मन्दिरको पुनः निर्माणका लागि २२ लाख संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको र ३३ लाख रुपैयाँ मन्दिरको भेटी संकलनबाट निर्माण गरेको समितिले जनाएको छ ।
थानीमाई मन्दिर पुग्न डुम्रे-बेसीशहर मार्गको अर्चलधारा र बाइसजाँघरबाट तथा डुम्रे-चन्द्रावती सडक खण्डबाट पनि मन्दिर जाने कच्चि सडक जोडिएको छ । प्राकृतिक सौन्दर्यताका साथै आस्था र विश्वासले भरिपूर्ण थानीमाई देवीको मन्दिरमा आफ्नो मनोकांक्षा पुरा होस् तथा पुरा भएकोमा फूलको डोली र दर्शन गर्न जाने भक्तजनहरुको ओहिरो लाग्छ । तर कच्ची तथा साँघुरा सडक, जोखिमपूर्ण र ठाडै उकालो चढेर मन्दिर पुगेका भक्तजनहरुले पिउने पानीको र जोखिमपूर्ण यात्राको समेत समस्या झेल्नु परेको छ । मन्दिरमा पुग्न सडक र पानीको व्यवस्थापनका साथै यस मन्दिरबाट हुने आम्दानीलाई पारदर्शी बनाउन भानु नगरपालिकाका साथै अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।










