क्लव र आमा समूहको सक्रियतामा एम्बुलेन्स सेवा सञ्चालनमा
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको डुम्रेमा स्थानीय युवा क्लव र आमा समुहको सक्रियतामा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । भानु नगरपालिका-१ को साजबोटेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहको सक्रियतामा आइतबारबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युवा क्लब र आमा समूहले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाको महायज्ञाका सबैभन्दा धेरै १ लाख ५५ हजार नगद सहयोग गर्ने दानबीर इश्वर कुमार श्रेष्ठले शुभारम्भ गरेका छन् । समाजको भलाईका लागि आँफू सदैव तत्पर रहेको भन्दै डुम्रेबजारको क्षेत्रमा धेरै घटना दुर्घटना हुने हुँदा बिरामीलाई तत्काल ठूला अस्पतालसम्म पुर्याउन सहज हुने उनले विश्वास व्यक्त गरे ।
सिजन क्लबका संरक्षक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले जीवन रहेसम्म अरुका भलाईका लागि सेवा गर्नुपर्ने भन्दै सुविधा सम्पन्न एम्बुलेन्सको महत्व रहेको र सवै मिलेर सञ्चालनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भानु-१ का वडाअध्यक्ष प्रेम बहादुर लामा, तनहुँ उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, लक्ष्मी हस्पीटल प्रालिका सञ्चालक तथा युवा समाजसेवी केशव अधिकारी, लगायतले यस क्षेत्रमा अत्यान्तै खाँचो भैरहेको एम्बुलेन्स आउँदा अत्यान्तै खुशी लागेको भन्दै सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
युवा क्लब र आमा समूहले २ वर्ष अघि एम्बुलेन्स खरिद गर्ने उद्देश्यले श्रीमद् भागवत महापुराण समेत लगाएका थिए । उक्त महायज्ञमा १८ लाख ७० हजार २३५ रुपैंया संकलन भएको थियो। हाल १५ लाखमा एम्बुलेन्स खरिद गरिएकोमा ६ लाख ५० हजार रुपैयाँ बैंक कर्जा लिई सञ्चालन गरिएको क्लबका संस्थापक अध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।
यस्तै, तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद कृष्णकुमार श्रेष्ठ किसानले महायज्ञामा एम्बुलेन्स खरिद गर्न कबोल गरेका रकम ५१ हजार पाँच रुपैंयाको चेक आइतबार प्रदान गरिएको थियो । डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठ मार्फत सिजन क्लबका अध्यक्ष कृष्ण बहादुर पौडेललाई उक्त चेक हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति आमा समुहकी अध्यक्ष ज्ञानु श्रेष्ठले स्वागत र क्लबका सचिब राजन न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।










