तनहुँ जलविद्युत आयोजनाद्वारा ऋषिङको दीपक माविको नयाँ भवन निर्माण गरिदै

दमौली । तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ । आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने दुईतले भवनको बुधबार शिलान्यास गरिएको छ ।
ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, वडा नं. १ का वडाध्यक्ष कुशबहादुर आले र विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए ।
नयाँ भवनमा शौचालय सुविधासहित छ वटा कक्षाकोठा रहनेछन् । भवन निर्माणका लागि आयोजनाले व्यास नगरपालिका–२, दमौलीस्थित बेलु निर्माण सेवासँग गत असार २६ गते ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु. १ करोड २० लाख ६८ हजार ७२३ रहेको छ । निर्माण कार्य २०८४ पुस २५ गतेभित्र सम्पन्न गर्ने गरी अवधि तोकिएको छ ।
आयोजनाका अनुसार नयाँ विद्यालय भवन नेपाल सरकारका विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिनेछ । भवन सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरणलाई ध्यानमा राखेर निर्माण हुने जनाइएको छ ।
भवन निर्माण सम्पन्न भएपछि विद्यालयका विद्यार्थीले थप व्यवस्थित र सुरक्षित शैक्षिक पूर्वाधार प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसबाट विद्यालयको भौतिक अवस्था सुधार हुनुका साथै आयोजना प्रभावित क्षेत्रका बालबालिकाको सिकाइ वातावरणमा समेत सुधार आउने आयोजनाले जनाएको छ ।
तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका समुदायमा सामाजिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य क्षेत्रमा सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आयोजनाको आर्थिक सहयोगमा यसअघि व्यास नगरपालिका–५, बेनीपाटनस्थित श्री पराशर माध्यमिक विद्यालय तथा भिमाद नगरपालिका–५, ऋषिङपाटनस्थित श्री दीपक माध्यमिक विद्यालयका भवनसमेत निर्माण भइसकेका छन् ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा हालसम्म ९८ वटा योजना सम्पन्न भइसकेका छन् । थप ९ वटा योजना निर्माण तथा कार्यान्वयनको क्रममा रहेका छन् ।
आयोजनाले यस्ता कार्यक्रमले आयोजना प्रभावित तथा आसपासका समुदायमा आवश्यक सामाजिक पूर्वाधार निर्माणसँगै दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा सहयोग पुग्ने जनाएको छ ।










