इन्धनको मूल्य उच्च दरले बढेर आयो, एलपी ग्यास प्रतिसिलिन्डर २२४०.३४ पैसा पुग्यो

अशोक घिमिरे

इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट रु एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट रु एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट रु १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ ।

काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।

सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker